मंगलवार, कार्तिक २६, २०७६
    कला-सौन्दर्य

    इन्डियन फिल्म एकेडेमी अवार्ड आइफा, नेपालमा यसरी गरिदैछ खर्चको लेखाजोखा

    सोमबार, १६ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १६ असार ।

    नेपाल पर्यटन बोर्डले सरकारी तथा निजी संस्थाको खर्चमा इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड–२०१९(आइफा) गर्ने योजना बनाएको छ । तर, खर्च गर्न भनिएका निकायलाई भने यस सम्बन्धमा कुनै जानकारी छैन ।  बोर्डका कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीका अनुसार आइफामा सहभागी कलाकारका लागि नेपालले क्यास (रकम) र काइन्ड (वस्तु) गरी दुई तवरले सहयोग गर्नेछ । क्यासअन्तर्गत नेपालले ४ मिलियन डलर(४४करोड रुपैयाँ) खर्च गर्ने छ । काइण्ड सपोर्ट अन्तरगत भने होटल व्यवस्थापन, जहाज आतेजाते खर्च र स्थानीय यातायात खर्च भनिएको छ ।

    क्यास अन्तरगतको ४४ करोड रुपैयाँ काठमाडौं महानगरपालिका र पर्यटन बोर्ड आफैले गर्ने छ । त्यस बाहेक नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर आफ कमर्श, नेपाल चलचित्र विकास बोर्ड लगायतका संस्थाले पनि क्यास अन्तरगत सहयोग गर्नेछन् । होटल, जहाज र स्थानीय यातायातको खर्च भने क्रमशः होटल एसोसियसन नेपाल(हान),नेपाल बायु सेवा निगम र नाडा अटो मोवायलस् डिलर्सले गर्ने छ । 

    अवार्ड आयोजनाको खर्च व्यवस्थान बारे बोर्डका सिइओ जोशीले भने,‘आइफा अवार्ड गर्न सरकारले निर्णय गरिसकेको छ । करिब तीन महिनाको गृह कार्यपछि यो निर्र्णय हुन सकेको  हो । यस प्रत्यक्ष खर्च नेपाल सरकरको ढुकुटीबाट हुने होइन । जस्तो अतिथि बस्ने बस्नका लागि होटल एसोशियनले गर्छ । त्यस बाहेक जहाजको व्यवस्थान नेपाल एयरलाइन्सले गर्छ । काठमाडौंमा यातायात र गाडीको व्यस्था नाडाले गर्छ । यस बापत नेपाल सरकारले उनीहरूलाई खर्च दिनु पर्दैछ । यसा अझ स्पष्ट गरौं । नेपालले  ५ सयसम्म कालाकारको मात्रै व्यवस्थापन गर्ने छ । बाँकीको व्यवस्थापन आईफाले नै गर्ने छ ।’

    पाँच देखि छ सयको हाराहारीमा कलाकार आउने 
    बोर्डका अनुसार नेपाल होस्ट राष्ट्र भएकाले कार्यक्रमको नाम ‘नेपाल आईफा’ रहनेछ । आईफा आगमी अगस्टको अन्तिम साता हुनेछ । कार्यक्रम स्थल नेपाली सेनाको मुख्यालय आगडीको फुटवल मैदान छनोट गरिएको छ । कार्यक्रममा कलाकार र उनीहरूका सहयोगीसहित १५ सय भन्दा धेरै भारतबाट मात्रै सहभागि हुनेछन् । त्यस मध्ये ५ सय देखि ६ सयको संख्यामा भने कलाकार मात्रै हुनेछन् । जसमा ६० देखि ८० जना कलाकार भिआईपी तहका हुनेछन् । कार्यक्रममा सहभागि हुने मध्ये ८० प्रतिशत भारतको मुम्वईबाट आउनेछन् । बाँकी २० प्रतिशत कलाकार भने दिल्ली र बैंगलोरबाट आउनेछन् । कार्यक्रमको स्टेज निर्माणका लागि दुवइबाट बिशेष खालको डोम ल्याइनेछ । एसी सहितको डोममा पाँच हजार जना अटाउनेछन् । कार्यक्रममको कुल खर्च १६ मिलियन डलर(एक अर्व ७६ करोड रुपैयाँ) हुने भनिएको छ । कार्यक्रम तीन दिन सम्म चल्ने भनिएको समाचार नयाँ पत्रिकामा छ । 

    कस्को खर्च कति ? 
    बोर्डका अनुसार आइफामा सहभागि हुन कलाकारसहित एक हजार भन्दा धेरै भारतबाट मात्रै सहभागि हुनेछन् । त्यस मध्ये कलाकारको व्यवस्थापन भने नेपालले नै गर्नु पर्ने छ । उनीहरूका लागि बस्ने व्यवस्था होटल एसोसियसन नेपाल(हान)ले गर्ने भनिएको छ । कलाकारको स्तर मुल्यांकन गरि हानले नै होटलको व्यवस्थापन गर्ने छ । कलाकार  कम्तीमा ३ दिन होटलमा रहनेछन् । यस अवधिसम्म हुनेहरूले होटलको १४ सय कोठा प्रयोग गर्ने छन् । प्रत्येक कोठाको मुल्य सरदरमा ६ सय डलर पर्ने भनिएको छ । यस आधारमा होटल खर्च मात्रै ८ करोड ४० लाख रुपैयाँ खर्च हुनेछ । 

    त्यस्तै कार्यक्रममा सहभागि कलाकारलाई जहाज मार्फत काठमाडौसम्म ल्याउने जिम्मा नेपाल एयरलाइन्सलाई दिने योजना छ । वोर्डका अनुसार ८० प्रतिशत कलाकार भारतको मुम्वईबाट आउने भएका छन् । बाँकी २० प्रतिशत कालकार भने भारतकै बैंगलोर र दिल्लीबाट आउनेछन् । प्रस्ताव अनुसार ६ सय कलाकारको आतेजाते जहाज भाडा नेपाल एयर लाइन्सले नै व्यहोर्नछ । कार्यक्रममा सहभागि कलाकार बिजनेश क्लासमा नै आउनेछन् । भारतको तीन वटै सहरमा बिजनेश क्यासको एक तर्फी भाडा सरदर ३५ हजार रुपैयाँ छ । यस आधारमा नेपाल एयर लाइन्सको ४ करोड २० लाख रुपैयाँ खर्च हुनेछ । 

    काठमाडौंमा उत्रि सकेपछि उनीहरूलाई होटलसम्म लैजान र ल्याउन सुविधा सम्पन्न गाडीको आवश्यकता पर्ने हुन्छ । यसको सम्पुर्ण व्यवस्था गर्ने जिम्ममा  नाडा अटो मोवायलस् डिलर्सलाई दिने भनिएको छ । यसका लागि उसले उपत्यका भित्र रहेका सो रुमका गाडी प्रयोग गर्ने छ । यस प्रयोजनमा कम्पतीमा ४ सय वटा गाडी प्रयोग हुनेछन् । प्रत्येक गाडीको भाडा प्रति दिन कम्तीमा ३० हजार रुपैयाँ लाग्नेछ । यस आधारमा नाडाको ३ करोड ६० लाख रुपैयाँ खर्च हुने छ । मुख्य आयोजक वोर्ड र सहअयोजक काठमाडौं महानगरपालिकाले गर्ने भनिएको ४४ करोड रुपैयाँ भने मञ्च निर्माणमा प्रयोग हुनेछ । मञ्च निर्माणका लागि दुवइबाट अत्याधुनिक र सुविधा सम्पन्न डोम ल्याउने भनिएको छ । 


    कार्यक्रममा सहभागि कलाकारको खाना  तथा खाजाको प्रवन्धका लागि वोर्डले सोचेको छैन । सहयोगीका रुपमा रहेका नेपाल चलचित्र विकास बोर्ड, नेपाल उद्योग बाणिज्य महासंघ, चेम्वर आफ कमर्श, नेपाल उद्योग परिसंघ लगायतका संघसंस्थाबाट यसमा लाग्ने खर्च जुटाउन सकिने बोर्डका भनाई छ । 
     

    नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराईले आईफा अवार्ड आयोजनाको खर्च बारे टुंगि नसेको बताए । उनले भने,‘खर्च सम्वन्धमा आईफा प्रतिनिधि र हामीबीच छलफल भइरहेको छ । ४४ करोड रुपैयाँसम्म होस्ट मुलुकले व्यहोर्ने गरि उनीहरूको प्रस्ताव आएको छ । यही खर्च महानगरपालिका र पार्यटन बोर्डले गर्ने भनिएको हो । महानगर र बोर्डको रकम नेपाल सरकारको ढुकुटी होइन ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast