शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

    आईतवार, १५ आषाढ २०७६, आहाखबर

    धनगढी, १५ असार

    प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरु अनुपस्थित भएपछि आज बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगन भएको छ । 

    बैठक प्रारम्भ हुनासाथ सभामुख अर्जुनबहादुर थापाले प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरु बैठकमा उपस्थिति नभएकाले बैठक स्थगन गर्दै अर्को बैठक असार १७ गते दिउँसो ३ बजे बस्ने जानकारी गराउनुभयो । 

    प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट विधि पद्धति मिचेर अपारदर्शी ढङ्गले ल्याइएको र कार्यकर्तामुखी भएको भन्दै प्रतिपक्ष नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीले विरोध गर्दैै आएका छन् । उनीहरु बजेट नसच्याएसम्म निकास ननिस्कने अडान राख्दै आएका छन् ।  

    सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङले प्रतिपक्षलाई समेटेर लैजाने विषयमा सत्तापक्ष सकारात्मक रहेको बताउनुभयो । 

    उहाँले असार १७ गतेसम्म वार्ता गरी समस्याको समाधान निस्किने बताउनुभयो । काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले आफूहरु मुख्यमन्त्रीसँग वार्तामा रहेको समयमा आजको बैठक स्थगन गर्न उहाँले आग्रह गर्नुभएकाले आजको बैठकमा अनुपस्थित रहेको बताउनुभयो । 

    राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरी प्रतिपक्षलाई नटेरेर सरकारले दुई तिहाइको दम्भ देखाएकाले समस्या उत्पन्न भएको बताउनुहुन्छ । 

    छलफलद्वारा समस्याको समाधान गर्न प्रतिपक्ष र सत्तापक्षबीच यस अवधिमा चार पटक वार्ता भए पनि निकास निस्कन सकेको छैन । असार १२ गते बोलाइएको बैठक प्रतिपक्षको विरोधका कारण स्थगन भएको थियो । यसअघि असार ५, ८ र ११ गतेका लागि तोकिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको थियो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast