सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा १ युवककाे मृत्यु

    आईतवार, १५ आषाढ २०७६, आहाखबर

    सर्लाही, १५ असार ।

    सर्लाहीमा प्रहरीकाे गाेली लागेर एक जनाकाे मृत्यु भएकाे छ।सर्लाही र महोत्तरीको सीमानामा पर्ने  पूर्वपश्चिम राजमार्गको बाँकेमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको हो।

    शनिबार साँझ ईश्वरपुर नगरपालिकामा एक बच्चाको खोलामा डुबेर मृत्यु भएको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा २७ वर्षीय सरोज केवल महतोको मृत्यु भएको हो।

    ईश्वरपुर नगरपालिका १३ बस्ने लाले राय यादवका १२ वर्षे छोरा अमितको बाँके खोलाको खाल्डोमा डुबेर मृत्यु भएको थियो। त्यस क्षेत्रमा भएको अवैध उत्खननका कारण बालक डुब्न पुगेको भनि स्थानीयले पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएका थिए।

    सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईले प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको पुष्टि गरे। एसपी भट्टराई खोलामा डुबेर मृत्यु भएका बालकको शवको मुचुल्का उठाउने क्रममा स्थानीयले खोसेर पूर्वपश्चिम राजमार्गमा ल्याई प्रदर्शन गर्न थालेको र प्रहरीमाथि नै आक्रमण गरेको बताए।

    राजमार्ग अवरुद्ध गरी गरिएको प्रदर्शन उग्र बन्दै गएपछि नियन्त्रणका क्रममा दर्जनौं राउन्ड अश्रुग्यास, रबर गोली तथा हवाई फायर गरेको र नियन्त्रणमा नआएपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ।

    ‘प्रहरीलाई मुचुल्का उठाउनै नदिई शव खोसेर सडकमा प्रदर्शन गर्न थाले। प्रहरीले सम्झाउँदा उल्टै आक्रमण भयो’, एसपी भट्टराईले भने, ‘स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले बाध्य भएर गोली चलाएको हो।’

    उनले गोली चलाउनुअघि प्रहरी र प्रदर्शनकारीबीच पटक पटक झडप भएको र झडपका क्रममा पाँच प्रहरीसहित केही स्थानीय घाइते बनेको बताए।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast