सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    विवेकशील नेपालीविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता, कारवाही गर्न माग

    आईतवार, १५ आषाढ २०७६, आहाखबर

    काठमाडौं, १५ असार ।

    विवेकशील नेपाली दलविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएकाे छ। नेपालको राजनीतिक दलले विदेशी संस्थाबाट आर्थिक सहयोग लिएको भन्दै नयाँ शक्ति विद्यार्थी युनियनले निर्वाचन आयोगमा उजुरी दिएको हाे।

    युनियनले नेपालको राजनीतिक दलसम्बन्धी कानुनअनुसार यस्तो सहयोग लिन नपाइने भएपनि विवेकशील नेपाली दलले आर्थिक सहयोग लिएको भन्दै  आइतबार आयोगमा उजुरी दिएको हो। युनियनको तर्फबाट सचिव राम देव पण्डित र राजनीतिक युवा अभियन्ता मोहम्मद इरफानले आयोग कार्यालय पुगेर उजुरी दर्ता गराएका छन्।  

    'विवेकशील नेपाली दलले स्थापना कालदेखि नै विदेशी गैरसरकारी संस्थाहरुबाट पटक पटक रकम प्राप्त गरेको र गर्दै आएको करोडौं विदेशी रकम चुनावी प्रयोजनका लागि खर्च गरेको हुन सक्ने भएकाले यस विषयमा छानबिन र कारबाही हुनुपर्ने मागसहित यो उजुरी पेश गरेका छौं,' उजुरीमा भनिएको छ ।

    नेपालमा २०७२ सालमा गएको महाभूकम्पका पीडितहरुको नाममा अमेरिकास्थित ‘टाउन अफ इन्डियन हेड’का उप­मेयर अमेरिकी नागरिक किरण सिटौलाले अमेरिकामा ५ करोड रकम उठाएको र जसमध्ये २ करोड ५० लाख बूढानिलकण्ठ स्कूलको पूर्व विद्यार्थी समाज 'सेब्स'मा जम्मा गरिएको देखिएको युनियनको दाबी छ । 

    यस्तै ४० लाख रुपैयाँ ‘विवेकशील नेपाली दल’लाई चन्दा दिएको तथ्य सेब्सको वेबसाइटमा उल्लेख गरिएको तर बाँकी २ करोड १० लाख रुपैयाँको हिसाबकिताब कहीँकतै सार्वजनिक नगरिएको उजुरीमा उल्लेख गरिएको छ । नयाँ शक्ति विद्यार्थी युनियन नयाँ शक्ति पार्टी नेपालको विद्यार्थी संगठन हो । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast