सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    मदन भण्डारीको आज जन्मदिन

    राजा वीरेन्द्रलाई श्रीपेच राखेर मैदान आउँन निम्तो दिने मदन भण्डारीको यस्तो कथा !

    शनिबार, १४ आषाढ २०७६, आहाखबर

    काठमाडौं, १४ असार । 

    मदन भण्डारीको हत्या भएको २६ वर्ष वितिसक्दा पनी पत्ता नलागेको हत्यारा अब पत्ता लाग्ने सम्भावना विरलै छ ।

     

    मदन भण्डारीको दुर्घटना आफैमा रहस्यमय  :

    मदन भण्डारीको दुर्घटना नै थियो भने अमर लामालाइ किन चुप बस्न लगाइयो ? उनको हत्या नै थियो भने २६ वर्ष बितिसक्दा पनी किन खुल्न सकेन ? के हत्याराहरू अहिले सम्म पनी स्थायित्व छन् ? मिति २०५१ साल देखी ‘नेकपा एमाले’ हाल माओवादी केन्द्र संग पार्टी एकता भएपछी अहिले ‘नेपाल कम्युनिष्ट पार्टी’ (नेकपा)ले अहिलेसम्म पनी जननेता मदन भण्डारीको नाम बेचिरहेको छ । 
    तत्कालीन नेकपा एमालेका महासचिव रहेका मदन भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा परी मृत्यु भएको थियो ।

    बहुदल आइसकेपछि एकाएक सर्वसाधारणको समीपमा रहेर नेकपा मालेका पूर्व महासचिव मदन भण्डारीले भाषण गर्दा यस्तो लाग्थ्यो कि नेपालमात्र होइन विश्वलाई नै समृद्ध पार्न भगवानले नै उनलाई यो धर्तीमा पठाएका हुन् । मदन भण्डारी हुँदा एक गासमात्र खाएका गरीवगुरुवाले पनि हाँसिखुशी उनलाई आशीर्वाद दिन्थे ।

    मदन भण्डारी विचारलेमात्र होइन व्यवहारले पनि अब्बल थिए । सादा जीवन उच्च विचार उनको नीति नै थियो । उनले तत्कालीन राजा वीरेन्द्रलाई श्रीपेच राखेर मैदानमा आउने हो भने चुनावमा जितेर देखाइदिने भाषण गरेर सबै नेताहरुको ध्यान आकृष्ट गर्न सफल भएका थिए । 

    उनको वाहीवाही सम्भवतः कसैलाई पच्ने अवस्थाकै थिएन । उनी तिनै मदन भण्डारी थिए जसले ०४८ सालको निर्वाचनमा तत्कालीन प्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई ७५१ मतले हराएर तत्कालीन काठमाडौं क्षेत्र नम्बर १ बाट सांसद बन्न सफल भएका थिए । भट्टराईको ओज त्यतिबेला निकै चुलिएको थियो । 

    ०४६ चैत २६ गते बहुदल आइसकेपछिका अन्तरिम प्रधानमन्त्री बनेका भट्टराईकै नेतृत्वमा नेपालको संविधान २०४७ आएको थियो । त्यो संविधानलाई लामो समयसम्म विश्वकै उत्कृष्ट संविधान भन्दै आएको अवस्था थियो । तिनै भट्टराईलाई हराएर मदन भण्डारीले आफ्नो ओजलाई झनै बढाएका थिए । तिनै मदन भण्डारीको ओज र उनको ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्तले जरो गाड्दै गइरहेको थियो । यस्तो लाग्थ्यो नेपालको सबैभन्दा शिखरमा एक दिन उनै पुग्नेछन् ।

    कल्पनाको सागरमा धेरै डुबे होलान् । तर अचानक तिनै भरोसालायक र नीतिमा स्पष्ट राजनेताको ०५० साल जेठ ३ गते पोखरामा भएको महिला संगठनको कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा चितवनको दासढुंगामा जीप दुर्घटनामा परेर निधन भयो । 

    मदन भण्डारीसंगै एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितको पनि निधन भयो । आश्चर्य रुपले जीपका चालक दुर्घटनाबाट बाँच्न सफल भए । त्यो घटनाले कम्युनिष्टमात्र होइन देशमा विकास चाहने हरेक दलका नेतालाई झस्कायो । पत्याउने गाह्रो भयो । 

    कसैलाई पनि विश्वास लागेन कि त्यो दुर्घटना भवितव्य थियो । अधिकांशलाई लाग्यो त्यो दुर्घटना गराइएको थियो । एमालेले सरकारलाई छानबिन गरी सत्यतथ्य पत्ता लगाउन दबाब दियो । 

    सरकारमा भएका बेलामा एमालेले यो कुरालाई उठाउने कष्ट नै गरेन । त्यसो त त्यतिबेला हत्याको छानबिन गर्न केपी शर्मा ओलीको अध्यक्षमा आयोग नै गठन भयो । त्यो आयोगले भलै सरकारबाट सहयोग नभएको आरोप लगायो काम भने गर्न सकेन । अर्थात् यो विषयलाई राजनीतिक मुद्दामात्र गराइयो ।

     

    चालक लामाको पनि रहस्यमय तरिकाले हत्या :

    नेपाली सर्वसाधारण त्यतिबेला अझ बढी झस्किए जतिबेला चालक अमर लामाको पनि रहस्यमय तरिकाले हत्या भयो । ०६० सालमा अमर लामालाई मारियो । अमर लामा नै चालक थिए उक्त दुर्घटना हुँदा । ०६० सालसम्म अर्थात् १० वर्षसम्म जिबित हुँदा उनले कतै पनि त्यो घटनाबारे साँचो कुरा बताएनन् । रहस्य खुल्ने खतराले लामाको हत्या गरिएको भन्ने पनि आयो ।

    तिनै लामाका हत्यारा पनि अहिलेसम्म पत्ता लाग्न सकेनन् । तीनै जनाको मृत्यु रहस्यमयी भइरहेको छ । तर शंका उपशंका भने पहिलेदेखि नै गर्दै आरोप प्रत्यारोप लाग्दै आएको छ । विशेषगरी एमालेभित्रै पनि शंका गर्दै नेताहरुले आपसमा हिलो छ्याप्ने काम गरेकै हुन् । 

    २६ वर्षसम्म पत्ता लाग्न नसकेको हत्याराको कुरो अब पत्ता लाग्ने सम्भावना विरलै छ । दुर्घटना नै थियो भने अमर लामालाई किन चुप लाग्न लगाइयो ? हत्या थियो भने किन खुल्न सकेन ? के हत्याराहरु अहिले पनि स्थायित्वमै छन् त ?

     

    विवाहको प्रसङ्गमा जोदिदा :

    ०३९ सालमा तत्कालीन नेकपा मालेका महासचिव मदन भण्डारीसंग विद्याले भूमिगत अवस्थामै विवाह गरेकी थिइन् । उनका दुई छोरीहरु पनि छन् । जेठी छोरी उषाकिरण र कान्छी निशाकुशुम हुन् । विद्यादेवी राजनीतिक रुपले अग्रस्थानमा थिइनन् । उनी शोकमै रहेका बेलामा मदन भण्डारीको निधनपछि काठमाडौं क्षेत्र नम्बर १ को उपनिर्वाचनमा उम्मेदवार भइन् ।

    प्रतिद्धन्द्धी फेरि पनि कृष्णप्रसाद भट्टराई नै भए । तर जितिन् विद्याले । त्यसपछि विद्याले कहिल्यै पछाडि फर्कन परेन । निरन्तर उनी एमालेको नेतृत्व तह वरिपरि रहिन् । महिला संगठन प्रमुख भइन् । पार्टीको उपाध्यक्ष भइन् । राष्ट्रपति पनि भइन् । विद्या दुई पटक राष्ट्रपति भएकी छिन् । उनको जस्तो अवसर नेपालको कुनै पनि व्यक्तिले पाउन सकेको छैन । उनी मुलुकको सर्वोच्च स्थानमा रहँदा पनि उनका पतिका हत्यारा पत्ता लगाउन सकिएन । 

     

    खोइ त अनुसन्धान ?

    ०५० सालमा जुन घटना भयो त्यतिबेला सरकार एमालेको थिएन । त्यसैले सहयोग भएन होला अनुसन्धानका लागि त्यसपछि पटक पटक सरकार एमालेका बने । खोइ त ? अब त एमालेलाई प्रश्न गर्ने बेला आएको छ खोइ त मदन भण्डारीका हत्यारा पत्ता लगाउन पर्दैन ? तिनै मदन भण्डारीको नीति र व्यक्तित्वकै कारण विद्यादेवी राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिन् । 

     

    केपी शर्मा ओलीलाई प्रश्न 

    केपी शर्मा ओली मदन भण्डारीको दुर्घटनाको सत्यतथ्य छानबिन गर्न गठित समितिका अध्यक्ष हुन् । उनले केही पनि पत्तो लगाएनन् । जबकि काँग्रेसले केही गरेजस्तो कतैबाट पनि आएन । तर मदन भण्डारीका हत्यारा पत्ता लगाउन भन्दै दवावस्वरुप संसद अवरुद्ध गर्नेदेखि सडक तताउनेसम्मको काम एमालेले गरेको थियो । आजको दिनसम्म आइपुग्दा एमालेका चार जना त प्रधानमन्त्री नै भए ।

    स्वर्गीय मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी ओली । केपी ओली प्रधानमन्त्री भएपछि यो घटनालाई उजागर गर्छन् कि भन्ने लागेको थियो । त्यो सम्भावना उनले पनि ल्याएनन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast