सोमबार, जेष्ठ १९, २०७७
    राज्य-समाज

    सरकारले आजदेखि थाल्यो वृक्षरोपण अभियान, तीन करोड बिरुवा रोप्ने लक्ष्य

    शनिबार, १४ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १४ असार । 
    सरकारले आजदेखि देशभर वृक्षरोपण अभियान थालेको छ ।  हरेक वर्ष १४ असारलाई राष्ट्रिय वृक्षरोपण दिवसका रूपमा मनाउने निर्णय गर्दै सरकारले आगामी तीन वर्षभित्र ३ करोड फलफूलका बिरुवा रोप्ने योजना अघि सारेको हो ।

    प्रधानमन्त्री केपी ओलीले गत वर्ष ५ जुनदेखि नै एक नेपाली एक फलफूलका बिरुवा रोप्ने अभियान थालेका थिए । सोही अभियानअन्तर्गत देशभरमा गरी २३ लाख फलफूलको बिरुवा रोपिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए । 

    प्रधानमन्त्रीको एक नेपाली एक फलफूलको बिरुवा रोपण अभियानलाई मूर्तरूप दिन वृक्षरोपण दिवसमार्फत पुनः फलफूलका बिरुवा रोप्ने कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिने निर्णय गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवरले बताए । सोही अभियानअन्तर्गत शनिबार प्रधानमन्त्री ओलीले राजधानीको रिङरोड आसपासका क्षेत्रमा फलफूलका बिरुवा रोपेर शुभारम्भ गरेका छन् ।  जसअनुसार राजधानीको कोटेश्वरदेखि कलंकीसम्म फलफूलका बिरुवा रोपिनेछन् । 

    वृक्षरोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्पूर्ण राष्ट्रसेवक कर्मचारी पनि सहभागी छन् । सरकारले कंलकी–कोटेश्वर चक्रपथ क्षेत्रमा दुई हजार सात सय बिरुवा रोप्ने भएको छ । हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार बृहत् कार्यक्रम आयोजना गरी वृक्षरोपण गरिने भएको हो । चिनियाँ सरकारले निर्माण गरेको चक्रपथ क्षेत्रमा सडकका दुवै किनारमा वृक्षरोपण गर्न थालिएको वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीले बताए । 

    यसैगरी प्रदेश तथा स्थानीय तह, समिति, संस्थान, विश्वविद्यालय, विद्यालय, वन उपभोक्ता समूह एवं गैरसरकारी निकायलाई समेत आआफ्नो कार्यालय परिसरभित्र फलफूलका बिरुवा रोप्न सरकारले पत्राचार गरेको छ । सरकारले लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिक स्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रेका वन क्षेत्रमा समेत फलफूल तथा औषधिजन्य  बिरुवा रोप्ने निर्णयसमेत गरेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast