बुधबार, कार्तिक २७, २०७६
    कला-सौन्दर्य

    अर्ब खर्चेर भारतीय फिल्मी अवार्ड समारोहको आयोजक बन्न नेपाल सरकार तत्पर

    शनिबार, १४ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १४ असार । 

    राष्ट्रपतिबाट प्रदान गरिने चलचित्र जगतको राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको ३ वर्ष भइसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको बेफुर्सदीको कारण भन्दै ३ वर्षदेखिका पुरस्कार र सम्मानजति चलचित्र विकास बोर्डमा थन्क्याइएको छ । 

    यही बेला नेपाल सरकार आफैं आयोजक बनेर भारतीय निजी तहको फिल्म अवार्ड समारोह काठमाडौंमा आयोजना गर्न र यसको सम्पूर्ण खर्च बेहोर्न तत्पर रहेको खबर भने आफैंमा अनौठो देखिएको छ । भारतको निजी क्षेत्रबाट सञ्चालन हुने थुप्रैमध्येको एउटा कार्यक्रम इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा) को २० औं संस्करण काठमाडौंमा आयोजना गर्न सरकारले आर्थिक र अन्य सौजन्य सहयोग गरेर झन्डै १ अर्ब रुपैयाँ खर्चने भएपछि यसको औचित्यमाथि प्रश्न उब्जिएको छ ।

    सरकारको सहमतिमा नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले आइफा सम्मेलनलाई सिधै ४४ करोड दिने भएका छन् भने बाँकी अहिले दाबी गरिएअनुसार ५ सयभन्दा बढी भारतीय ‘आईकन’ तथा कलाकारको आवतजावत टिकट, होटल बसाइमा समेत सौजन्य सहयोग बटुलिने समाचार कान्तिपुरमा छ । 

    ‘आइफा अवार्डलाई स्थान र सुरक्षा दिनु उचित हो । तर नेपाल सरकार आयोजक बन्न १ अर्ब लगानी गर्नु दलालीको पराकाष्ठा हो र ५० डिग्रीको तातोमा काम गर्ने युवाहरूको रेमिट्यान्स र गरिब जनताको करको दुरुपयोग हो,’ अभिनेता नवल खड्काले सरकारको निर्णयपछि ‘ट्रोल’ हुने गरी सामाजिक सञ्जालमा लेखेका छन् । चलचित्र निर्देशक केपी पाठक पनि यसरी एउटा मुलुकको फिल्म अवार्ड सेरेमनी आयोजना गर्न सम्पूर्ण पैसाखर्चेर ‘होस्ट’ गर्दैमा पर्यटन प्रवर्द्धन हुने तर्कलाई ‘हावादारी’ बताउँछन् । बरु सरकारले बाहिरी मुलुकबाट नेपालमा फिल्म सुटिङ गर्न निम्तो दिएमा र त्यसका लागि विशेष सेवा–सहुलियत उपलब्ध गराउने उपाय अवलम्बन गरे यसको विशेष अर्थ रहने उनको धारणा छ ।

    नेपालमा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वृत्तचित्र र जनजाति विषयक अन्तर्राष्ट्रिय महोत्सव भइरहे पनि त्यसमा सरकारी सहयोग र साथ भने शून्यबराबर छ । ‘हाम्रा महोत्सवका लागि बिन्ती गरेर मागजुग गर्दा १ करोड त के, १० लाख रुपैयाँ दिन पनि सरकारलाई मुस्किल पर्ने गरेको छ,’ पाठकले भने, ‘यहाँ भारतीय रजतपटका लागि भने १ अर्ब रुपैयाँ दिने कुरा छ । हामीसँग इन्डोर–स्टुडियो छैन, फिल्मी क्षेत्रका लागि अरू सेवा–सहुलियत केही छैन । यसरी कुनै तर्क र आधारबिना कसरी भारतीय फिल्म फेस्टिभल गर्न बिनासर्त पैसा दिइएको हो, बुझ्न सकेको छैन ।’ पाठकले यस्ता नचाहिँदा कुरामा सरकारलाई खबरदारी जरुरी रहेको बताए ।

    अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागिता राखिरहने र आफ्ना डकुमेन्ट्री/फिल्म बाहिरी फेस्टिभलमा पुर्‍याउने निर्देशक केसाङ छेतेन पनि ‘भारतीय फिल्म अवार्डको सम्मेलन काठमाडौंमा गर्दैमा नेपालको पर्यटन प्रवर्द्धन हुने कुरामा’ त्यति आश्वस्त छैनन् ।

    ‘आइफाजस्ता अरू भारतीय फिल्मी अवार्ड सेरेमनीहरू कहिले दुबई, कहिले सिंगापुरतिर हुने गरेको मैले थाहा पाएको छु,’ उनले भने, ‘त्यो त संसारभर रहेका भारतीय दर्शकले हेर्ने एउटा सेरेमनी मात्रै हो । यो अवार्ड सेरेमनी हेरेर अरू देशका पर्यटक यहाँ आउलान् भन्ने त होइन ।’ काठमाडौंमा भएको आइफाको सेरेमनी हेरेर नेपालमा भारतीय पर्यटक थपिनुको त्यति धेरै अर्थ नरहेको भन्दै छेतेनले ‘बरु नेपालका विभिन्न सुन्दर ठाउँमा बाहिरी मुलुकबाट कोही फिल्म सुटिङ गर्न आए सहुिलयत दिएर’ आफ्नो ठाउँको प्रचारप्रसार गर्न सकिने बताए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast