मंगलवार, श्रावन ७, २०७६
    यातायात

    पर्यटक बसका चालक र सहचालकलाई तालीम, पर्यटकसँग गरिने व्यवहार, आतिथ्यताको प्रशिक्षण

    शुक्रबार, १३ आषाढ २०७६, आहाखबर

    पोखरा, १३ असार ।

    नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं पर्यटन यातायात समिति, पोखराको आयोजनामा  पोखरामा पर्यटक बस चलाउँदै आएका चालक एवं सहचालकलाई तालीम दिइएको छ । पर्यटक आउँदा वा जाँदा पहिलो र अन्तिम सम्पर्क व्यक्ति चालक एवं सहचालक हुने भएकाले उनीहरूलाई पर्यटकसँग गरिने व्यवहार, आतिथ्यता, अत्यावश्यकीय प्राविधिक जानकारीलगायतका विषयमा प्रशिक्षण दिइएको हो ।

    कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका निर्देशक मणि लामिछानेले पर्यटकका लागि आउँदाजाँदा पहिलो वा अन्तिम सम्पर्क व्यक्ति चालक, सहचालक हुने भएकाले उनीहरूको व्यहारले घुम्ने स्थानका सम्बन्धमा पर्यटकले धारणा बनाउने बताउनुभयो । चालक, सहचालकलाई पर्यटनको अवैतनिक राजदूतका रूपमा चित्रण गर्दै उहाँले उनीहरूको व्यवहार एवं बोलिचालीले पर्यटकको बसाइ लम्ब्याउने वा छोट्याउने कुरामा निर्भर गर्ने धारणा राख्नुभयो । 

    पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले चालक, सहचालकको बोली एवं व्यवहारले कुनै पनि पर्यटकीयस्थल एवं समग्र राष्ट्रलाई प्रभाव पार्ने उल्लेख गर्नुभयो । पर्यटकको बसाइ अधिकतम लम्ब्याउने कुरामा चालक, सहचालकको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

    पर्यटक सवारीसाधन चलाउँदै आएका १५६ चालक र सहचालक सहभागी प्रशिक्षणमा चार प्रशिक्षकले विभिन्न विषयमा जानकारी गराउनुभएको पर्यटन यातायात समिति पोखराका महासचिव नवराज अधिकारीले जानकारी दिनुभयो । 

    उहाँका अनुसार नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थललियाले अतिथि सत्कार, प्रहरी सहायक निरीक्षक लोकराज भण्डारीले ट्राफिक नियम, सिप्रदी टे«डिङ पोखराका इन्चार्ज सञ्जय विष्टले प्राविधिक विषय र डा मुकेश मल्लिकले उच्च चापीय क्षेत्रमा अपनाउनुपर्ने स्वास्थ्य सजगतालगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । पर्यटन यातायात समिति, पोखरामा ४५० पर्यटक बस र १२८ व्यवसायी आबद्ध छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast