शुक्रबार, मंसिर ६, २०७६
    स्वास्थ्य

    सप्तरीको कञ्चनरुपपछि सप्तकोशीमा पनि देखियो डेङ्गु, यस्तो छ लक्षण र बच्ने उपाय !

    शुक्रबार, १३ आषाढ २०७६, आहाखबर

    सप्तरी, १३ असार ।

    सप्तरीको सप्तकोशी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमण देखिएको छ । सप्तकोशी नगरपालिका–२ की २६ वर्षीया अनिता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

    निरन्तर आएको ज्वरो कम नभएपछि स्वास्थ्य केन्द्रमा जाँच गर्दा राजधामीमा डेङ्गुको सङ्क्रमण देखिएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले बताउनुभयो । उहाँकी दिदी धरानमा बसोबास गर्ने भएकाले उतैबाट सङ्क्रमण आएको हुनसक्ने आशङ्का गरिएको छ ।
     
    यसअघि असार ४ गते कञ्चनरूप नगरपालिका–६ जमुवाका २७ वर्षीय रमाकान्त चौधरीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो । उनका दाजु ३२ वर्षीय देवकान्त चौधरी डेङ्गु रोगले सङ्क्रमित भई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका बेला घर फर्किएका रमाकान्तको परीक्षण गर्दा रमाकान्तमा समेत सङ्क्रमण फेला परेको स्वास्थ्य शाखा प्रमुख गुप्ताले जानकारी दिनुभयो । दुवै दाजुभाइ धरानमा फलामको ग्रिल बनाउने मजदुर हुन् । रमाकान्तको असार ५ गतेदेखि कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । 

    डेङ्गुको सङ्क्रमण फेला परेपछि कञ्चनरुप र सप्तकोशी दुवै नगरपालिकामा उच्च सतर्कता अपनाइएको छ । कञ्चनरुप नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले विभिन्न वडामा गई ज्वरो आएका ३१ बिरामीको रगत परीक्षण गरेको छ । डेङ्गु रोग फैलिन नदिन नगरपालिकाले जनचेतनामूलक कार्यक्रम शुरु गरेको जनाएको छ ।
     
    स्थानीय एफएम रेडियोबाट सचेतनामूलक सन्देश प्रसारण, घर वरिपरि सरसफाइ, पानी जम्ने खाल्डाखुल्डी पुर्ने र पानी जमिरहने ठाउँमा मट्टितेल छर्केर लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान शुरु गरिएको कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रले बताउनुभयो । नगरपालिकाले डेङ्गु रोग, यसका लक्षण र बच्ने उपायका विषयमा जानकारी दिन स्वयंसेविका परिचालन गरेको छ ।

    कञ्चनरुप नगरपालिकासँग डेङ्गु परीक्षण गर्ने किट सकिएको जानकारी दिनुहुँदै स्वास्थ्य शाखा संयोजक गुप्ताले इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँ टेकुमा किटको माग गरिएको जानकारी दिनुभयो । 

    के हो डेंगु ?

    चिकित्सकका अनुसार एडिस एजिप्ट जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु लाग्ने गर्दछ । एक्कासी रातको समय उच्च जरो आउनु, धेरै टाउको दुख्नु, आँखाको गेडी तथा टाउकाको पछिल्लो भाग दुख्नु, वाक्वाकी लाग्नुलगायतका लक्षण देखा पर्दछ । 

    विशेष गरी गर्मीका समयमा सो जातको लामखुट्टे देखा पर्दछ । यसबाट बच्न रातको समयमा झुल ओढेर सुत्ने, घर आँगन तथा वरपर सफा गर्ने, पानी जम्न नदिने गर्नुपर्छ । डेंगु नियन्त्रण गर्न तीनवटै निकायले प्रयास जारी राखेका छन् । तर आशातित सफलता प्राप्त हुन सकिरहेको छैनन् । महाशाखाले डेंगु नियन्त्रण गर्न प्रदेश सरकारलाई रु ८० लाख वजेट विनियोजन गरेको जनाएको छ । विनियोजित रकममध्ये प्रतिष्ठानलाई रु ५० लाख भेन्टिलेटर खरीदमा र रु ३० लाख लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्ने अभियान सञ्चालनमा खर्च गर्न पाउने छ । 

    अर्काेतर्फ स्वास्थ्य क्षेत्रको कर्मचारी समायोजनले पनि डेंगु नियन्त्रण गर्न समस्या परेको छ । महाशाखाका प्रमुख निर्देशक डा विवेक लालका अनुसार अहिले मलेरिया, डेंगु लगायतका किटजन्य रोग नियन्त्रण गर्न भेक्टर कन्ट्रोल निरीक्षक पदका कर्मचारी फाजिलमा रहेका छन् । 

    उहाँले भन्नुभयो, “महाशाखाले रोग नियन्त्रण गर्न प्रभावित क्षेत्रमा ९०० डेंगु किट तथा जनशक्ति पठाएको छ । स्थानीय तथा प्रदेश सरकारबाट सहयोग माग भएका क्षेत्रमा सहयोग पनि जारी राखेको छ । ”

    यसैबीच, स्वास्थ्य तथा जनसख्या मन्त्रालयले डेंगु रोग परीक्षणका लागि प्रयोग हुने किटको रु ४०० मात्र पर्ने स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले यहाँ आज जारी गर्नुभएको विज्ञप्तिमा सो मूल्यभन्दा बढी रु एक हजार ८०० देखि दुई हजार ४०० सम्म लिने गरेको गुनासो मन्त्रालयमा आएको हुँदा यस्तो कार्य नगर्न निजी मेडिकल कलेजलाई आग्रह गर्दै अनुगमनका क्रममा यस्तो कार्य भेटिए कालोबजारीअन्तर्गत कारवाही गरिने जनाइएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast