मंगलवार, श्रावन ७, २०७६
    ओएमजी Omg!

    नाताभित्रै असुरक्षित: हजुरबाबाटै पाँच वर्षीया नातिनी बलात्कृत

    शुक्रबार, १३ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १३ असार । 

    प्रहरीले जबर्जस्ती करणीका धेरैजसो घटनामा परिवारभित्रै र चिनजानका व्यक्तिको संलग्नता रहने गरेको बताइरहेका बेला राजधानीमा आफ्नै हजुरबाबाट नातिनी बलात्कृत भएकी छन् । ललितपुर टीकाथली बस्दै आएका ५१ वर्षीय हजुरबाले आफ्नै पाँच वर्षीया नातिनीलाई गत सोमबार राति बलात्कार गरेका हुन् । हजुरबाले दाजुसँग सुतिरहेकी बालिकालाई उठाएर आफू सुत्ने कोठामा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
     

    रौतहट चन्द्रनिगाहपुर–१ पौराही घर भएका उनीहरु गत २२ जेठदेखि टीकाथलीको एक घरमा फ्ल्याट भाडामा लिई बस्दै आएका थिए । आरोपीका छोरा र बुहारी विदेशमा भएको प्रहरीले बताएको छ । आमाबाबु विदेशमा रहेका कारण नाति नातिनीहरु हजुरबासँग बस्दै आएको प्रहरीले जनाएको छ ।

    नातिनीले आफूलाई हजुरबाले सुतेको अवस्थामा अर्काे कोठामा लगेर बलात्कार गरेको भन्दै फुपूसँग गुनासो गरेपछि फुपूमार्फत प्रहरीसमक्ष बलात्कारको जाहेरी परेको थियो । त्यसपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोले नातिनी बलात्कारको आरोप लागेका हजुरबालाई पक्राउ गरेको हो । वृत्तका डीएसपी गौतम मिश्रले नातिनी बलात्कारको आरोप लागेका हजुरबालाई ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए । ‘दाइसँग सुतिरहेकी नातिनीलाई आफू सुतेको कोठामा लगेर बलात्कार तथा अप्राकृतिक मैथुन गरेको भन्ने खुल्न आएको छ । थप अनुसन्धान हुँदै छ,’ डीएसपी मिश्रले भने ।

    प्रहरीले घटनामा संलग्नको नाम भने खुलाएको छैन । पीडित नाबालिकाको घाउ जाँच र आवश्यक स्वास्थ्य परीक्षणको काम प्रसूति गृह थापाथलीमा भइरहेको र विस्तृत रिपोर्ट केही दिनमा आउने प्रहरीले बताएको समाचार राजधानीमा छ । आरोपीले आफूले बलात्कार गरेको स्वीकार गरिसकेकाले निजलाई नाबालिकाको बलात्कार र हाडनाता करणी समेत गरी दोहोरो सजायको माग गर्दै आरोपपत्र दर्ता गरिने प्रहरीले जनाएको छ । बलात्कार आरोपीकी ५० वर्षीया पत्नी केही दिनअघि स्तन क्यान्सरको शल्यक्रिया गरी आइतबार मात्रै भक्तपुर क्यान्सर अस्पतालबाट डिस्चार्ज भएर डेरामा फर्केकी थिइन् । आइतबार रातिको घटना भए पनि पीडित नाबालिकाले हजुरआमालाई नभनी फुपूलाई घटनाबारे बताएकी थिइन् ।

    नाताभित्रै असुरक्षित

    प्रहरीले तयार गरेको एक तथ्यांकले नेपाली महिला घरभित्रकै सदस्य र चिनजानका व्यक्तिबाटै असुरक्षित रहेको देखाएको छ । प्रहरीले चालू आर्थिक वर्षको घटनालाई आधार बनाएर पीडित र पीडकको नाताको आधारमा निकालेको तथ्यांकले जबर्जस्ती करणीका धेरैजसो घटना घरभित्रकै सदस्य र चिनजानका व्यक्तिबाटै हुने गरेको देखाएको हो । तथ्यांकले हजुरबा, बुबा, झड्केलो बुबा, ससुरा र आमा छोराबीच नै करणीका घटना भएको देखाएको छ ।
     

    तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७५÷०७६ को चैतसम्ममा भएका १ हजार ८ सय ७७ वटा जबर्जस्ती करणीका घटनामा ७ सय ६१ घटना चिनजानका व्यक्तिबाटै भएको देखाएको छ । यसैगरी, छिमेकीबाट ५ सय २ वटा करणीका घटना भएको देखाएको छ भने अपरिचित व्यक्तिबाट ३ सय ८९ वटा करणीका घटना भएको तथ्यांक छ ।

    तथ्यांकअनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म तीनवटा घटना हजुरबाको संलग्नताबाट भएको पाइएको छ । यस्तै, ३९ वटा घटनामा बुबा÷झड्केलो बुबाको संलग्नता रहेको देखिएको छ भने ९ घटनामा ससुराको संलग्नता देखिएको छ ।
     

    यसैगरी, चालू आर्थिक वर्षमा आमा छोराबीच समेत तीनवटा करणीका घटना भएको छ भने काका, मामा र ठूलो बुबाबाट १९ वटा करणीका घटना भएको प्रहरीसँग तथ्यांक छ ।

    यस्तै, दाजुभाइ, काका र ठूलो बुबाको छोरा तथा मामाका छोराबाट १४ वटा करणीको घटना भएको छ भने बुहारी र जेठाजुबीच समेत आठवटा करणीका घटना भएको देखिएको छ ।
    जबर्जस्ती करणीका घटनामा आफ्नै श्रीमानको समेत संलग्नता रहेको प्रहरीको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको चैतसम्ममा १८ वटा करणीका घटनामा श्रीमान्को संलग्नता रहेको पाइएको हो । घरमा डेरा गरी बसेकासमेत घरबेटीबाट असुरक्षित रहेको प्रहरीको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षमा दुईवटा करणीका घटना घरमालिकबाट भएको तथ्यांकले देखाएको हो ।

     

    यस्तै, ८७ वटा घटनामा केटा साथीको संलग्नता रहेको पाइएको छ भने भिनाजुबाट दुई, शिक्षकबाट १०, सम्बन्ध विच्छेद भएका श्रीमान्बाट १० र पहिचान नखुलेका व्यक्तिबाट एउटा जबर्जस्ती करणीका घटना भएको प्रहरीको तथ्यांकले देखाएको हो । प्रहरीको समग्र तथ्यांकले ६ प्रतिशत घटना घरभित्रकै सदस्यबाट भएको भनेको छ भने धेरै जसो घटनामा चिनजानका व्यक्तिको संलग्नता रहेको देखाएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast