मंगलवार, श्रावन ७, २०७६
    यातायात

    सरकारी उच्च तहका कर्मचारीलाई समेत ट्राफिकले छाडेन, ५ हजार चालकलाई कारवाही

    शुक्रबार, १३ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, १३ असार । 

    प्रहरीले आठ महिनाको अवधिमा निषेधित क्षेत्रमा पार्किङ गरिएका पाँच हजार एक सय ५५ सवारीसाधनका चालकलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई कारबाही गरेको हो ।

    कारबाहीमा पर्ने सबै निजी प्रयोजनका कार, जिप र मोटरसाइकलका चालक छन् । उनीहरूलाई ट्राफिक प्रहरीले जनही एक हजार रुपैयाँ कारबाही गरेर छाडेको समाचार नयाँ पत्रिकामा छ ।   महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले निषेधित क्षेत्रमा पार्क गरेर सवारीसाधनको आवागमन नै प्रभावित भएको भेटिएपछि कारबाही गरेको बताए । 

    उनले भने, ‘सोफेस्टिकेट गाडी छन् । तर, पार्क भने निषेधित क्षेत्रमा गरिएका छन् । यसले सवारी आवागमनमा नै असर गरेको पाइयो । पब्लिकबाट व्यापक जनगुनासो आएपछि ट्राफिक प्रहरी कारबाहीमा उत्रियो ।  अभियान सुरु भएको आठ महिनामै हामीले पाँच हजार एक सय ५५ सवारीसाधनलाई कारबाही गरेका छौँ ।’ निषेधित क्षेत्रमा पार्किङ गरिएका सवारीसाधनविरुद्ध ट्राफिक प्रहरीले ८ मंसिरदेखि अभियान सुरु गरेको थियो । कारबाहीमा पर्नेमा नेपाल प्रहरीका डिआइजी, गृह मन्त्रालयका  सहसचिव र उपसचिव, सरकारी वकिल कार्यालयका सह–न्यायधिवक्ताका गाडीसमेत छन् । 

    कारबाहीमा पर्ने अधिकांश भने सर्वसाधारणका सवारी छन् । एसएसपी पन्तले भने, ‘निषेधित क्षेत्रका पार्किङ गर्ने सर्वसाधारण मात्र छैनन् । सरकारका उच्च तहका अधिकारीसमेत छन् । हामीले नेपाल प्रहरीकै डिआइजीविरुद्ध कारबाही गरेका छौँ । गृह मन्त्रालयका उच्च अधिकारी चढ्ने गाडीलाई पनि हामीले छाडेका छैनौँ । सरकारी वकिल कार्यालयका उच्च अधिकारी पनि कारबाहीमा परेका छन् । यो एउटा सुशासनको लहर हो । यसमा सबैले सहयोग गरेका छन् । गर्नु पनि पर्छ ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast