शुक्रबार, मंसिर ६, २०७६
    स्वास्थ्य

    विद्युत् पर्याप्त नआएपछि अस्पतालको सम्पूर्ण सेवा प्रभावित

    बिहिवार, १२ आषाढ २०७६, आहाखबर

    दमक, १२ असार

    एक सातादेखि झापाको दमकस्थित सरकारी दमक अस्पतालमा विद्युत् पर्याप्त नआएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा जडित विद्युत्मा एक्कासि भोल्टेज पर्याप्त नहुँदा अस्पतालका सम्पूर्ण सेवा प्रभावित हुनपुगेको छ । विद्युत् सेवा प्रभावित भएपछि सर्वसाधारण सेवाग्राही मारमा परेका छन् ।

    भोल्टेज आवश्यकताअनुसार प्रवाह नभएपछि अस्पतालबाट उपलब्ध हुने ल्याबसहित एक्सरे, इसिजीलगायतका सेवा प्रभावित भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा मनिषकुमार शर्माले बताउनुभयो । उहाँले विद्युत् नियमितका लागि स्थानीय सरकार र विद्युत् प्राधिकरणमा गुनासो राखिए पनि हालसम्म सुनुवाइ नहँुदा अस्पतालका सम्पूर्ण सेवा प्रभावित हुनपुगेको बताउनुभयो । ल्याब, एक्सरे, इसिजीसहित नियमित खोपका सेवासमेतमा सिफारिस गरी पठाउनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

    दमक–१ स्थित जिल्लास्तरीय सो सरकारी अस्पतालमा दैनिक २०० बढी बिरामीले स्वास्थ्य सेवा लिँदै आएका छन् । अस्पतालका सूचना अधिकारी नगेन्द्र भट्टराईका अनुसार विद्युत् आपूर्तिमा समस्या भएपछि अस्पताल ‘रिफर सेन्टर’ बन्न पुगेको छ । ल्याबको उपकरण नचल्दा अस्पतालका चिकित्सकले स्वास्थ्य जाँच मात्र गरिआएको र ल्याबका लागि भने अन्यत्र सिफारिस गर्नुपर्ने बाध्यता आएको उहाँले बताउनुभयो । विद्युत् गडबडीले ल्याबका उपकरणमा समेत खराबी आएको उहाँले बताउनुभयो ।

    अस्पतालमा विद्युत् प्रवाहमा भएको समस्याको समाधान गर्न आफूहरु लागिरहेको अस्पताल सञ्चालक समिति अध्यक्ष तथा दमक नगर उपप्रमुख गीता अधिकारीले बताउनुभयो । विद्युत् प्राधिकरणका इञ्जिनीयर लागेर काम गर्दा पनि अहिलेसम्म समस्या नै पत्ता लाग्न नसकेको र सञ्चालन गर्न पहल भइरहेको उहाँले बताउनुभयो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast