मंगलवार, श्रावन ७, २०७६
    लाइफस्टाइल

    १३ वर्षको उमेरमा विवाह, ३० वर्षमा ५ सन्तान, कोही विद्यालय जाँदैन

    आईतवार, ८ आषाढ २०७६, – रिपेश दाहाल.
    फाईल फोटो

    हेटौंडा, ८ असार 

    अचेल तीस बत्तीस वर्ष नभै बिहे गर्दैनन् । छोरा होस् वा छोरी एक मात्र सन्तान भए पुग्छ भन्ने मान्यता स्थापित भइरहेको छ ।  मकवानपुरको बागमती गाउँपालिकाको दुर्गम गाउँ गाहाकी ३० वर्षीया मैयाँ पहरीको विवाह भएको १७ वर्ष भयो । यसबीचमा उनी पाँच सन्तानकी आमा समेत बनिन् । 

    झट्ट हेर्दा ४०\४५ वर्ष जस्ती देखिन्छिन् उनी । यो उमेरमै पाँच सन्तान पाइसकेकी मैयाँ फेरि पनि गर्भ बसेको पो छ कि भन्ने शङ्का मेट्न छिमेकी गाउँकी स्वास्थ्य स्वयंसेविका विष्णु लुङ्गेलीसँग आफ्नो गाउँ गाहाबाट ५ घण्टा पैदल हिँडेर बागमती–२ को राईगाउँ स्वास्थ्य चौकी आएकी हुन् । परीक्षण पछि गर्भ नरहेको थाहा पाएर खुशी भएकी मैयाँँलाई अब छैठौं सन्तान जन्माउन मन छैन  । 

    “जन्माएर के गर्नु ? खान पुग्दैन,” मैयाँले भनिन् । आफूसँग चार कठ्ठा मात्र जमीन रहेको र त्यो पनि भिरालो खोरिया भएकाले वर्षमा एक बाली मकै मात्र लाग्ने उनले बताइन् । “मकै पोलेर खाँदा ठिक्क हुन्छ, अलिअलि बचेको बढीमा दुई महिनासम्म ढिँडो र खोले खान पुग्छ, त्यसपछि भने गिठ्ठा, घुँगी, गङ्गटा, माछा जस्ता चिजबिजले गुजारा टार्नु पर्छ,” उनले भनिन् – “यसपालि त पानी नपरेर मकै छैन । के खाने थाहा छैन । बूढा र्इंंटा भट्टामा काम गर्न भनेर गा’छन् । काम गरेर कमाउन सकेर केही ल्याए भने खाउँला ।” 

    १३ वर्षको उमेरमा संसरे पहरीसँग विवाह भएपछि छिमेकी दोभान गाउँबाट मैयाँ गाहा आइन् । एक कक्षा पनि नपढेकी मैयाँ र संसरेको जोडी बागमतीमा माछा मार्ने र त्यो माछा सुकाएर बेच्ने गथ्र्यो । जेठो छोरो उमेशको जन्म भएपछि भने मैयाँले माछा मार्न छाडिन् । अचेल त माछा पाउनै छोडेपछि संसरेले पनि माछा मार्ने काम छोडे । उमेश पछि तीन वर्षको अन्तरमा माइलो सन्तानको रुपमा छोरी कालीको जन्म भयो । त्यसको तीन वर्षमा मीना अनि, अर्को दुई वर्ष पछि राजेश र अन्तिममा पुड्के जन्मियो । 

    मैयाँको सबैभन्दा कान्छो छोरो पुड्के अहिले ५ वर्षमा हिँडिरहेका छन् । उमेर अनुसार त अब उनको विद्यालय जाने बेला भयो तर, उनी विद्यालय जाँदैनन् र जाने कुरा पनि छैन ।  पुड्के मात्रै हैन मैयाँका पाँचै सन्तान विद्यालय जाँदैनन् । मैयाँलाई पनि लेख्न, पढ्न आउँदैन । उनका पति संसरे पनि पढ्न जान्दैनन् । गाउँका कसैलाई पनि लेख्न र पढ्न आउँदैन भन्छिन् मैयाँ । अत्यन्त्यै खतरनाक भिर र वनको बाटो र गहिरो दह तरेर जानुपर्ने हुँदा जो कोही गाहा जान र त्यहाँबाट आउन पनि नसक्ने हुनाले गाहाका मानिसहरु पढ्न र लेख्नबाट वञ्चित रहेका स्वयंसेविका विष्णु लुङ्गेली बताउँछिन् । थोरै मात्र घरहरु भएकाले त्यहाँ विद्यालय पनि नभएको उनको भनाइ छ । लुङ्गेलीका अनुसार गाहामा पाँच सात घरहरु मात्र छन् । मानिसहरु सानै उमेरमा विवाह गर्छन् ।  बालबच्चाहरु पनि धेरै जन्माउँछन् । गाहामा बाल मृत्युदर पनि उच्च रहेको उनको अनुमान छ । मानिसहरु धामी झाँक्रीमा विश्वास गर्छन् । आफ्नो माइती पनि गाहा नजीक भएकाले एकपटक बाटोमा मैयाँसँग भेट भएको उनले बताइन् । 

    पाँच बच्चा छन् भनेपछि आफूले स्वास्थ्य चौकी आउन अनुरोध गरेको र परिवार नियोजनको सल्लाह दिएको बताउने लुङ्गेलीकै सहकर्मी सुन्तली ढुङ्गानाले   स्वास्थ्य चौकी आएकी मैयाँलाई बन्ध्याकरण गर्न सुझाएकी थिइन् । परिवार नियोजनका साधनहरुबारेमा जानकारी पनि लिएर फर्किन् । स्वास्थ्यकर्मी ढुङ्गानाको परामर्श पछि  मैयाँ स्थायी बन्ध्याकरण नगरे पनि तीन महिने सूई लगाउन सहमत भइन् । पछि बिरामी परेपछि सूईकै कारण बिरामी भएको भन्दै श्रीमान्ले सूई लगाउन स्वास्थ्य चौकी जान नदिएपछि मैयाँले सूई लगाउन छाडिन् । यसैक्रममा गर्भ बसेको शङ्का मेटाउन मैयाँ स्वास्थ्य चौकी आएकी हुन् । “उनलाई सुगर भएको र’छ, अहिले नियमित औषधि सेवनले जाती भा’छ,” लुङ्गेलीले भनिन् । 

    नेपालीमा राम्रोसँग कुराकानी गर्न नसक्ने मैयाँ  छोराछोरीलाई भने पढाउन र टाठाबाठा बनाउन चाहन्छन् । “हाम्रो जिन्दगी त यस्तै भइगयो, छोराछोरीले दुःख नपाए हुन्थ्यो,” उनी भन्छिन् – “पढाइदिने मान्छे पाए पढ्न पठाउँथेँ । कसले पढाइदेला र ? पाँच बच्चा छ ।”  
    मैयाँको समस्या सुनेपछि गाउँपालिका अध्यक्ष सर्केश घलान बच्चाले पढ्न पाउने आश्वासन दिए । “के गरेर हुन्छ हामी उनीहरुलाई पढ्ने वातावरण मिलाउछौं,” घलानले भने । कतिपय अवस्थामा बालबच्चाहरु छात्राबासमा बसेर पढ्न गाह्रो मान्ने र भाग्ने गरेको उनको भनाइ छ । गाहा र आसपासको समस्या समाधानका लागि उपायको खोजी गरिरहेको घलानले बताए । 

    घलानका अनुसार पूर्वी बागमतीको भिरमा स–सानो बस्ती बनाएर अल्पसङ्ख्यक समुदाय बस्ने गरेको र त्यहाँ ठूलो समस्या रहेको छ । उनले भने – “त्यहाँ जो कोही जान सक्दैन । म पनि जान सकेको छैन । वडाध्यक्ष पनि पुग्नुभा’छैन । अब चाँडै नै पुग्ने योजना छ । गाहा र आसपासको भौगोलिक विकटतासँगै त्यहाँ प्रचलित किंवदन्तिहरु र थुप्रै अलौकिक र अन्धविश्वासपूर्ण भनाइहरुसमेत रहेकाले हत्तपत्त त्यहाँ कोही नजाने घलान बताउँछन् । स्थानीय धामी झाँक्रीहरु पनि त्यस क्षेत्रमा वन देवता, वनझाँक्री, प्रेतात्माहरु रहेको दाबी गर्छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast