शुक्रबार, मंसिर ६, २०७६
    स्वास्थ्य

    सामाजिक विकासमन्त्रीद्वारा अञ्चल अस्पतालको अनुगमन

    शुक्रबार, ६ आषाढ २०७६, आहाखबर

    गलकोट, ६ असार

    गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आज धौलागिरी अञ्चल अस्पतालको अनुगमन गर्नुभएको छ । मन्त्री पुनले मन्त्रालयले अञ्चल अस्पताललाई गुणस्तरीय बनाउनका लागि यो आर्थिक वर्षमा विनियोजन भएको बजेटको कार्यान्वयनको अवस्थाको स्थलगत अनुगमन गर्न बागलुङ आउनुभएको हो । 

    प्रदेश सरकारको मातहतमा रहेको धौलागिरी अञ्चल अस्पताल सुधारका लागि प्रदेश सरकारले सदैव चासो दिएको भन्दै बजेट सही ढङ्गले प्रयोग भए नभएको अनुगमन गर्नुभएको अञ्चल अस्पताल बागलुङका व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिनुभयो ।
      
    मन्त्री पुनले अञ्चल अस्पतालले पहिला प्रदान गर्ने सेवा र अहिले प्रदान गर्ने सेवाका विषयमा बिरामीहरुसँग समेत जिज्ञासा राख्नुभएको थियो । अञ्चल अस्पतालमा गण्डकी प्रदेश सरकारले भौतिक पूर्वाधार तथा उपकरण खरिदमा झण्डै रु चार करोड बजेट विनियोजन गरेको थियो । 

    सामाजिक मन्त्रालयले अञ्चल अस्पतालमा चिकित्सक आवास निर्माण, सुविधा सम्पन्न ‘बी’ बल्कमा फर्निचर, आवश्यक उपकरणहरु, ग्यास प्लान्ट तथा शव सङ्कलन बाकस (मर्चुरी चेम्बर) लगायतमा बजेट विनियोज गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

    “अस्पतालले मन्त्रालयले जुन लक्ष्य लिएर बजेट विनियोजन गरेको थियो त्यही अनुसार काम भएको पाइयो”, अनुगमनका क्रममा मन्त्री पुनले भन्नुभयो “प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यसम्म बजेट निकासा गरेका कारण केही निर्माणको काममा ढिलो हुन पुगेको हो ।”

    मन्त्री पुनले मन्त्रालयले विनियोज गरेको सबै बजेटको सही सदुपयोग गर्न अस्पताल प्रशासनलाई निर्देशनसमेत दिनुभएको थियो । अस्पतालले प्रदान गर्ने सेवा सुविधालाई थप प्रभावकारी बनाउनका लागि मन्त्रालय र अस्पतालबीच समन्वय आवश्यक रहेको भन्दै उहाँले जनताको स्वास्थ्य सेवालाई सर्वसुलभ ढङ्गले प्रदान गर्नका लागि सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको थियो । 

    विशेषज्ञ डाक्टरहरुको अभावमा गुणस्तरीय सेवा प्रदान गर्न नसकेको अञ्चल अस्पतालले पछिल्लो समय नौ जना विशेषज्ञ र १४ जना मेडिकल अधिकृतले सेवा प्रदान गरी रहेको अस्पतालले जनाएको छ । पछिल्लो समय अस्पतालको व्यवस्थापनका कारण उपचार सेवाका लागि आउने बिरामीको सङ्ख्यासमेत ह्वातै बढेको छ ।  

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast