आईतवार, भाद्र ८, २०७६
    अध्यात्म चर्चा

    योग दिवस विशेष

    'योग प्रवर्तक पतञ्जलिको जन्म भारतमा नभई नेपालमै'

    शुक्रबार, ६ आषाढ २०७६, - बीबीसी.

    काठमाडौँ, ६ असार

    हरेक वर्ष २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालिएपछि योगको चर्चासँगै यसका प्रवर्तक पतञ्जलिको सम्झना गर्न थालिएको छ ।

    पतञ्जलिले योगमा मात्र योगदान गरेका होइनन्, उनले आयुर्वेद र व्याकरणको विकासमा समेत योगदान गरेका छन् ।

    पतञ्जलिको जन्मको सम्बन्धमा एकमत नभएपनि मेरो अध्ययन र अनुसन्धानले उनको जन्म नेपालकै अर्घाखाँची जिल्लामा भएको देखाएको छ ।

    विभिन्न शास्त्रहरू र स्वयम् पतञ्जलिले लेखेका ग्रन्थको अध्ययनपश्चात मैले मेरो दाबी सार्वजनिक गरेको हुँ ।

     

    पतञ्जलिको योगदान

    पतञ्जलिले योग, आयुर्वेद र व्याकरणका योगदानको दार्शनिक अर्थ पनि छ ।

    मानव तन, मन र वचनले स्वस्थ र शुद्ध हुनुपर्छ । त्यसैले पतञ्जलिले शरीर स्वस्थ र शुद्ध राख्न आयुर्वेद, मन स्वस्थ र शुद्ध राख्न योग तथा वचनको शुद्धीकरणका लागि व्याकरणको अन्वेषण गरेका हुन् ।

    अहिले आएर उनलाई योगका प्रवर्तकका रूपमा मात्र चिनिन थालेको छ। खासमा त्यो शतप्रतिशत ठीक होइन ।

     

    पतञ्जलीको जन्मस्थल

    पतञ्जलीको जन्मस्थान र संस्कृत भाषाका प्रसिद्ध व्याकरण शास्त्री पाणिनिको कर्मस्थान नेपाल हो ।

    त्यो क्षेत्र अर्घाखाँची र प्युठानको सङ्गमतिर पर्छ ।

    पाणिनिलाई इसापूर्व तीन हजार वर्ष र पतञ्जलिलाई दुई हजार वर्ष पूर्वका ठानिन्छ ।

    पाणिनिले आफू जन्मेको ठाउँलाई शलातपुर भनेका छन् । त्यो अहिलेको पाकिस्तानस्थित लाहोर हो ।

    उनी लाहोरबाट नेपाल आएर तपस्या गरेर अष्टाध्यायी व्याकरण लेखेका हुन् ।

    त्यसका शास्त्रीय प्रमाणहरू भेटिएका छन् ।

     

    प्रमाणहरू के के छन् त ?

    पतञ्जलिले आफू जन्मेको स्थानलाई गोनर्द भनेका छन् ।

    गोनर्दमा जन्मिएका हुनाले नै उनलाई गोनर्दीय भनिएको हो । उनको पितालाई चरक आत्रेय भनिन्थ्यो ।

    उनको आमाको नाम गोणिका थियो । गोणिका शब्द 'गो' शब्दकै अपभ्रंश गोणीबाट विकसित भएको हो ।

    पतञ्जलिले पाणिनिले रचना गरेको अष्टाध्यायी व्याकरणको भाष्य लेखे। यसलाई व्याकरण महाभाष्य भनिन्छ ।

    त्यस ग्रन्थमा उनले 'म गोनर्दमा जन्मेको हुँ' भनेका छन् । उक्त ग्रन्थमा गोनर्द शब्द चारपटक आएको छ ।

    तर गोनर्द कहाँ पर्छ भन्नेमा अध्येताहरूबीच एकमत छैन ।

    कसैले भारतको मध्यप्रदेशस्थित उज्जैनमा पर्छ भनेका छन् । अरूले भारतकै कश्मीर, काशी र उत्तर प्रदेशस्थित गोण्डालाई पनि उनको जन्मस्थलका रूपमा मानेका छन् ।

    ग्रन्थहरूका व्याख्याकारहरूले गोनर्द आर्यावर्त्तको प्राच्य देशमा पर्छ भन्ने व्याख्या गरेका छन् ।

    पाणिनिले आफ्नो अष्टाध्यायीमा 'एङ् प्राचां देशे' भनेर त्यसैको सङ्केत गरेका छन् ।

    'एङ् प्राचां देशे' सूत्रका व्याख्याकार वामन जयादित्यको काशीका व्याख्यामा स्पष्ट उल्लेख भएको छ ।

    अष्टाध्यायीका वृत्तिकार भट्टोजिदीक्षितले पनि त्यस सूत्रको उदाहरणद्वारा त्यसको समर्थन गरेका छन् ।

    अब त्यो प्राचां देशको गोनर्द कहाँ पर्छ भन्ने प्रश्न उठ्छ । त्यसका लागि विभिन् धर्मग्रन्थको सहारा लिनुपर्ने हुन्छ ।

    किनकी हाम्रो क्षेत्र भनेको युरोपजस्तो कम भूकम्प, बाढी र पहिरो जाने स्थान होइन ।

    त्यसले गर्दा यहाँ उत्खनन् गरेर शिलालेख वा अन्य त्यस्तै कुरा भेटिन्छ भन्ने छैन ।

    प्राकृतिक विपद्ले जुनसुकै बेला त्यस्ता कुरा नष्ट गरेको हुनसक्छ। त्यसैले हामीले केलाउने शास्त्रहरू नै हो ।

    शास्त्रहरू केलाउँदा गोनर्दलाई 'गावह: नर्दन्ति यस्मिन् पर्वते' अर्थात् गाईहरू डुक्रिने वा कराउने पर्वत भनिएको छ ।

     

    अर्घाखाँची नै कसरी ?

    अहिलेको अर्घाखाँची क्षेत्रमा गाईको सङ्ख्या धेरै भएको कुरा विभिन्न शास्त्रहरूमा पुष्टी गरिएको छ ।

    अयोध्याका राजा दशरथकी औरस पुत्री तथा अङ्गदेशका राजाकी पोष्यापुत्री राजकुमारी शान्ताको विवाह हाल मधुवनधाम कपिलवस्तुका युवा ऋषि ऋष्यशृङ्गसँग भएको कथन छ ।

    तिनले दाइजोमा असल जातका एक लाख गाई पाएका थिए।

    ती गाईका सन्ततिले नर्त्तनाचल परिक्षेत्र ढाके। त्यसको पहाडी भेगलाई गोपर्वत भन्न थालियो भने तराई भेगलाई गोशृ भनियो ।

    उक्त गोपर्वतलाई पाणिनीले तपस्या गरेको स्थान मानिन्छ । त्यसलाई अहिले पनि पणेना भनिन्छ ।

    यस आधारमा त्यस क्षेत्रमै गोनर्द पनि पर्छ भन्न सकिन्छ ।

    गोनर्द संस्कृत शब्द हो । यस प्रदेशमा पहाड र तराई दुवै भाग पर्छन् ।

    पहाडमा बस्ने नेपाली मगर र गुरूङभाषीहरूले जनबोलीमा गोनर्दलाई गल्दा भन्छन् ।

    तराईका अवधीभाषीहरूले जनबोलीमा गोण्डा भन्छन् ।

    पतञ्जलि गोनर्दको पर्वतमा जन्मिएका हुनाले अहिलेको अवस्थामा अर्घाखाँचीको गोल्दा मात्रै त्यस्तो पर्वत रहेको पुष्टी हुन्छ ।

    भारतको उत्तरप्रदेशमा रहेको गोण्डामा पर्वत छैनन् ।

    काशीमा गोनर्दबारे खासै केही पनि भेटिदैन र त्यो प्राच्य देशमा पनि पर्दैन ।

    कश्मीरमा स्थानको नाम गोनर्द रहेको छैन । त्यहाँ गोनर्द नामका राजाले शासन गरेको इतिहास छ ।

    कुनै पनि व्यक्तिलाई कहाँको भनेर जनाउन राजाको नामलाई त भनिएको भेटिदैन ।

    त्यसैले गर्दा कश्मीरको कुरामा पनि खासै विश्वासिला आधार छैनन् ।

    उज्जैनमा गोन्दरमहु भन्ने स्थान छ तर त्यो पनि प्राच्य देशमा पर्दैन ।

    संस्कृत व्याकरणका विद्वान् नागेशभट्टले महाभाष्यको व्याख्या गरेका छन् ।

    त्यस व्याख्यामाथि उनकै शिष्य वैद्यनाथ पायगुण्डेले छाया नामक प्रमाणित टिप्पणी लेखेका छन् ।

    त्यसमा पनि पतञ्जली गनर्द पर्वतमा जन्मिएका हुन् भनेर स्पष्ट उल्लेख गरिएको छ ।

    पाश्चात्य संस्कृत विद्वान् मोनियर विलियम्सले पनि आफ्नो कोशमा गोनर्दलाई एउटा पर्वतको नाम भनेका छन् ।

    यी सबै तथ्यहरूका आधारमा पतञ्जलि जन्मिएको गोनर्द भनेको हालको अर्खाखाँची र प्युठान जिल्लाको सङ्गम हो भन्ने देखिन्छ ।

    अर्घाखाँचीको सितगङ्गा नगरपालिकामा गोल्दा भन्ने स्थान पर्छ। त्यहाँ पलाँटे भन्ने ठाउँ पनि छ । त्यो पतञ्जलीबाट अपभ्रंश भएर नै बनेको हो ।

    त्यसैले हामीले पतञ्जलिको जन्मस्थान नेपालको अर्घाखाँची नै हो भन्ने प्रशस्त आधारहरू छन् ।

     

    अध्ययनको आवश्यकता

    मैले यो दाबी मात्र गरेको होइन, शास्त्रीय प्रमाणहरू देखाइदिएको हो ।

    पतञ्जलिबारे थप अनुसन्धान हुनु जरूरी छ ।

    पतञ्जलि अहिलेको नेपालमा जन्मिएका भए पनि उनले पटनाका राजा पुष्यमित्र सुङ्गको राजगुरू भएर बसेको देखिन्छ।

    त्यसक्रममा नै उनले त्यहाँको राजकीय पुस्तकालयमा बसेर अध्ययन तथा लेखन गरेको देखिन्छ ।

    (प्राध्यापक आत्रेयसँग विष्णु पोखरेलले गरेको कुराकानीमा आधारित । यो आलेख लेखकको निजी विचार हो ।)

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast