मंगलवार, श्रावन ७, २०७६
    बिदेश

    इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि

    बिहिवार, ५ आषाढ २०७६, आहाखबर

    काठमाडौँ, ५ असार ।

    स्ट्रेइट अफ होर्मुजमाथिको अन्तर्राष्ट्रिय आकाशमा रहेको अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानले जमिनबाट क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

    इरानको इस्लामिक रिभोलुसन गार्डस् कोर (आइआरजिसी)का अनुसार बिहीवार सबेरै उक्त जासुसी ड्रोन इरानी आकाशभित्र पाइएकोले त्यसलाई खसालिएको हो ।

    आइआरजिसीका कमान्डर मेजर जनरल हुसैन सलामीले उक्त घटनाले 'अमेरिकालाई स्पष्ट सन्देश दिएको' बताएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    अमेरिका र इरानबीच तनाव चुलिरहँदा यो घटना भएको हो ।

     

    तनाव

    इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवले बुधवार तेहरानले आफ्नो आकाशमा बिना अनुमति उडान हुन नदिने बताएका छन् ।

    "हाम्रो आकाश हाम्रो रेड लाइन हो र इरानले त्यसको उल्लङ्घन गर्ने जुनसुकै देशलाई जवाफ दिनेगरेको छ," अर्थसरकारी समाचार संस्था तसनिममाले अली सम्खानी उद्धत गर्दै भनेको छ ।

    सोमवार अमेरिकी रक्षा मन्त्रालयले इरानी सुरक्षाबलले 'उत्तेजक व्यवहार' देखाएको भन्दै थप एक हजार अमेरिकी सेना त्यसतर्फ खटाउने बताएको थियो ।

    उक्त नयाँ तैनाथी गत महिना नै १५ सय सेना खटाउने राष्ट्रपति डोनल्ड ट्रम्पको घोषणामा थपिएको हो ।

    अमेरिकाले इरानलाई गल्फ अफ ओमानमा दुईवटा पेट्रोलियम तेल ट्याङ्करमाथि हमला गरेको आरोप लगाएको छ ।

    अमेरिकी नौसेनाले केही नयाँ तस्बिरहरू सार्वजनिक गर्दै गत साता पेट्रोलियम पद्धार्थ बोकेका दुई पानीजहाजमा भएका हमलामा इरान जोडिएको देखिएको बताएको छ ।

    इरानले भने उक्त आरोपलाई अस्वीकार गर्दै आएको छ ।

    (स्रोत बीबीसी)

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast