आईतवार, भाद्र ८, २०७६
    लेख/संवाद

    हिमाली जडीबुटी यार्सागुम्बा सङ्कलनका क्रममा १ दर्जन व्यक्तिको मृत्यु, उत्पादन घट्दो

    आईतवार, १ आषाढ २०७६, –भीष्मराज ओझा.

    काठमाडौँ, १ असार 

    बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा सङ्कलनका क्रममा यस वर्ष डोल्पा र दार्चुलामा लेक लागेर एक दर्जन व्यक्तिको मृत्यु भइसकेको छ । 

    हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको यार्सागुम्बा संकलन गर्न स्थानीय जनता ज्यानै जोखिममा राखेर त्यसतर्फ जाने गरेका छन् । यार्सा एक प्रकारको हेपियालिडिइ परिवारको लेपिडोप्टेरा वर्गमा पर्ने लार्भा सङ्क्रमित भएर उम्रने परजीवी ढुसी हो ।

    यार्सा सङ्कलकहरु जेठ पहिलो सातादेखि झण्डै एक महिना गाँसबासका सामानसहित हिमाली क्षेत्रका पाटन आसपास त्रिपाल गाडेर बस्छन् । नेपालमा पछिल्लो दुई दशकयता मात्र यार्साको व्यावसायिक सङ्कलन तथा ओसारपसार शुरु भएको हो ।

    डिभिजन वन कार्यालय डोल्पाका प्रमुख नरबहादुर क्षेत्रीका अनुसार यस वर्ष यार्सागुम्बा सङ्कलनका क्रममा अहिलेसम्म डोल्पामा १० जनाको निधन भइसकेको छ । उहाँ भन्नुहुन्छ – “अधिकाँशको लेक लागेर र केहीको भिरबाट लडेर वा बिरामी भएर मुत्यु भएको हो । तल्लो भेगका मानिसले लुगा राम्रा ल्याएका हुँदैनन् । उपल्लो भेगमा सङ्लकनका क्रममा लेक लागेको हो कि रिङ्गटा लागेको थाहा पाउँदैनन् ।”

    “अधिकाँशको लेक लागेर र केहीको भिरबाट लडेर वा बिरामी भएर मुत्यु भएको हो । तल्लो भेगका मानिसले लुगा राम्रा ल्याएका हुँदैनन् ।”

    डिभिजन वन कार्यालयले स्थानीय सञ्चारमाध्यममार्फत यार्सागुम्बा सङ्कलनका क्रममा आइपर्ने जटिलता र सुरक्षित रहनुपर्ने उपायका बारेमा चेतना फैलाउनुका साथै सो क्षेत्रमा शौचालय र फोहर फाल्ने स्थानको व्यवस्था गरेको छ ।
    वन तथा वातावरण मन्त्रालयको ‘यार्सागुम्बा दिगो सङ्कलन प्रविधि सहयोगी पुस्तिका’ले सरोकारवाला स्थानीय सङ्घसंस्थासँग समन्वय गरी प्रत्येक यार्सागुम्बा सङ्कलन क्षेत्रमा औषधिसहित कम्तीमा एक स्वास्थ्यकर्मी जाने व्यवस्था मिलाउन सुझाव दिए पनि त्यो कार्यान्वयन भने हुन सकेको छैन । 

    दार्चुलामा गएको बुधबारसम्म लेक लागेर र भिरबाट लडेर दुई जनाको निधन भएको छ । यार्सा सङ्कलनका क्रममा लेक लागेर मानिसको मृत्यु हुने क्रम बढेपछि संरक्षण क्षेत्रले अहिले रु १० लाखको बीमाको व्यवस्था गरेको छ ।

    सहायक वार्डेन घिमिरे भन्नुहुन्छ – “यार्सागुम्बा सङ्लकनका लागि यस वर्ष अपिनाम्मा क्षेत्रमा मात्र दुई हजार ५०० व्यक्ति अनुमतिपत्र लिएर गएको भए पनि  त्यसको दोब्बर सङ्ख्यामा स्थानीय जनता अनुमति बेगर गएका छन् ।”  यार्सागुम्बा पाइने क्षेत्रमा प्रतिहेक्टर १० जना भन्दा नबढ्ने गरी सङ्कलन अनुमति दिनुपर्ने व्यवस्था छ ।  
     
    यार्सागुम्बा वर्षमा छ महिना हिउँले ढाकिने तीन हजार ९०० मिटरदेखि पाँच हजार १०० मिटरसम्मका हिमाली घाँसे मैदानमा पाइन्छ । नेपालका डोल्पा, दार्चुला, जुम्ला, हुम्ला, मुगु, कालीकोट, बझाङ, बाजुरा, जाजरकोट, रुकुमलगायत २५ हिमाली जिल्लाका उच्च क्षेत्रमा यार्सागुम्बा उत्पादन हुने गरेको छ । डोल्पा, दार्चुला, रुकुम र बझाङ जिल्ला यार्सागुम्बा उत्पादन र गुणस्तरका हिसाबले सबैभन्दा महत्वपूर्ण मानिन्छन् ।

     

    उत्पादन घट्दो

    यार्सा सङ्कलनको समयमा अनियन्त्रित रुपमा बहन क्षमता भन्दा धेरै ठूलो जनसमुदाय सङ्कलनमा जाने हुँदा वातावरणीय प्रदूषण बढेर यार्साको उत्पादन पछिल्लो समय घटेको छ । हिउँ पर्ने र पग्लिने अवधिमा अनियमितता, अनियमित र अपरिपक्व यार्साको सङकलन, जलवायु परिवर्तनका असरलगायत कारणले यार्साको उत्पादन घट्दै गएको विज्ञको भनाइ छ । 
     
    नेपालमा सबैभन्दा बढी उत्पादन हुने भनिएको डोल्पामा गत वर्षसम्म एक जनाले सरदर २०० वटासम्म यार्सा सङ्कलन गर्ने गरेको भए पनि यस वर्ष एकजनाले २५÷३० वटा मात्रै यार्सा भेटाएको अनुभव सुनाएको डिभिजन वन कार्यालय डोल्पाका प्रमुख क्षेत्रीले बताउनुभयो ।
     
    उहाँले भन्नुभयो – “विगत दश वर्षमा यस वर्ष धेरै हिउँ परेका कारण धेरै यार्सा पाइन्छ भन्ने आशमा डोल्पाका स्थानीय बासिन्दासँगै रुकुम (पूर्व), जाजरकोट, जुम्लालगायत जिल्लाबाट हजारौं मानिस यार्सा टिप्न आएका थिए तर, अपेक्षाविपरीत कम पाइएपछि फर्किन थालेका छन् ।”

    धेरैजना डोल्पामा से–फुक्सुण्डो राष्ट्रिय निकुञ्ज र सामुदायिक वनअन्तर्गतका हिमाली क्षेत्रका पाटनमा यार्सागुम्बा सङ्लकन गर्न जाने गरेका छन् ।

    धेरैजना डोल्पामा से–फुक्सुण्डो राष्ट्रिय निकुञ्ज र सामुदायिक वनअन्तर्गतका हिमाली क्षेत्रका पाटनमा यार्सागुम्बा सङ्लकन गर्न जाने गरेका छन् । निकुञ्जले आफ्नो संरक्षण क्षेत्रमा यार्सागुम्बा सङ्कलनको अनुमतिका लागि जिल्ला बाहिरका प्रतिव्यक्तिलाई रु तीन हजार, जिल्लाभित्रका व्यक्तिलाई रु दुई हजार र स्थानीय उपभोक्ता समिति आबद्ध व्यक्तिलाई रु ५०० शुल्क लिने गरेको छ । 

    त्यस्तै, डिभिजन वन कार्यालयले आफ्नो क्षेत्रमा सङ्कलनका लागि यार्सागुम्बा प्रतिकेजी रु ३० हजारका दरले राजश्व लिने गरेको छ  । विसं २०६४ देखि २०६८ सम्म डोल्पामा जिल्ला वन अधिकृतका रुपमा काम गर्नुभएका यार्सा विज्ञ राजु क्षेत्री भन्नुहुन्छ – “यार्सागुम्बा सङ्कलन गर्ने अनियन्त्रित विधि र अनावश्यक भीडले गर्दा अन्य प्रजातिका वनस्पतिको विनाश र त्यस क्षेत्रमा प्रदूषण बढेर यार्सा उत्पादनमा नकारात्मक असर पर्छ ।” कुल वार्षिक उत्पादन परिमाणको ८० प्रतिशत नबढ्ने गरी मात्र सङ्कलन अनुमति दिनुपर्ने उहाँको सुझाव छ । 

    पाटनलाई पाँच खण्डमा विभाजन गरी त्यसमध्ये एक खण्ड सङ्कलन नगरी संरक्षित क्षेत्रका रुपमा राख्न सके दिगो उत्पादनमा सघाउ पुग्ने क्षेत्री बताउनुहुन्छ ।    
    यस वर्ष दार्चुलामा पनि बाक्लो हिउँ प¥यो । सङ्कलकहरु हिउँ पग्लिने पर्खाइमा छन् । गत वर्षहरुको तुलनामा यार्साको उत्पादन घटेको स्थानीय बासिन्दाले बताएको सहायक वार्डेन घिमिरेले जानकारी दिनुभयो । यार्साको गुणस्तरका आधारमा प्रतिकेजी रु १० लाखदेखि १६ लाखसम्म स्थानीयस्तरमा व्यापारीले खरिद गर्ने गरेका छन् । 

     

    अवैध कारोबार बढ्दो

    मुलुकभर हाल वार्षिक करीब दुई हजार केजीको हाराहारीमा यार्सा वैध बाटोबाट विदेश निकासी हुने गरेको छ । यस बाहेक उत्पादनको ५० प्रतिशत जति हिमाली जिल्लाका सीमाबाट तिब्बतमा चोरी निकासी हुने गरेको अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा हाल यार्सा प्रतिकेजी रु २० लाखदेखि २५ लाखसम्ममा बिक्री हुने गरेको बताइन्छ । 

    कारोबार र राजश्वका दृष्टिले अन्य जडीबुटीको तुलनामा यार्सा निकै महत्वपूर्ण भएकाले राज्यका तर्फबाट तत्काल स्पष्ट नीति आउन आवश्यक छ । वन मन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुंगाना यार्सा सङ्कलन तथा ओसारपसार व्यवस्थित गर्न मन्त्रालयले वन ऐन, नियमावली र निर्देशिकामार्फत व्यवस्था गरेको बताउनुहुन्छ । 

    विगत दुई शताब्दीदेखि चिनियाँ उपचार पद्धतिमा व्यापक रुपमा प्रयोग हँुदै आए पनि दुई दशकअघिमात्र नेपालीले यसलाई चिनेका हुन् । विश्वभर यार्साका ५०० भन्दा बढी प्रजाति अभिलेखीकरण गरिएका छन् । नेपालमा अहिलेसम्म यसका ११ प्रजातिको पहिचान भएको वन तथा भू–संरक्षण विभागले जनाएको छ । 

    नेपालमा यार्साको प्रयोग खासगरी दम, क्षयरोग, लहरेखोकी, मिर्गौला रोग, फोक्सोमा खराबी, नपुङ्सकता, रक्तचापसम्बन्धी समस्या निदानमा प्रयोग हुने गरिएको छ । शरीरको रोगसँग लड्ने क्षमताको विकास र अनियमित रक्तस्राव रोक्न पनि यसको प्रयोग भएको पाइन्छ ।

    विसं २०५८ अघिसम्म यार्साको सङ्कलन, ओसारपसार तथा प्रयोगमा पूर्ण प्रतिबन्ध थियो । यसको उपयोगितालाई ध्यानमा राखेर २०५८ पुस १६ गते यसको यार्सा सङ्कलन, ओसारपसार र प्रयोगमा फुकुवा गरिएको हो । चीन, हङकङ, मलेशिया र जापान यसको मुख्य बजार हुन् । पछिल्लो समय यार्साको व्यवस्थित सङ्कलन र दिगो व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने परम्पराको थालनीसमेत भएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast