बिहिवार, असोज २, २०७६
    राज्य-समाज

    सरकार छोड्दै उपेन्द्र यादव

    मंगलवार, २८ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २८ जेठ । 
    समाजवादी पार्टी नेपालले सरकारबाट अलग्गिने मनस्थिति बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने बेला अघि सारिएका माग पूरा हुने सम्भावना नदेखेपछि समाजवादी पार्टी सरकारबाट अलग हुन खोजेको हो ।

    समाजवादी पार्टी केन्द्रीय कमिटीका अध्यक्षसमेत रहेका यादव अहिले ओली नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्य मन्त्री छन् 

    उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपाल १४ जेठ २०७५ मा दुई बुँदे सहमति गरी सरकारमा सहभागी भएको थियो । सरकारमा सहभागी हुँदा भएको सहमति र पछिल्लो समय नयाँ शक्ति पार्टीसँग भएको एकीकरणपश्चात् सरकार छोड्न पार्टीभित्र चर्काे दबाब छ । उपेन्द्र यादव नेतृत्वको फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच पार्टी एकीकरण हुँदा सरकार छोड्ने आन्तरिक सहमति भएको थियो ।

    समाजवादी पार्टी केन्द्रीय कमिटीका अध्यक्षसमेत रहेका यादव अहिले ओली नेतृत्वको सरकारमा उपप्रधान तथा स्वास्थ्य मन्त्री छन् । विगतको सहमतिअनुसार संविधान संशोधनमा भएको ढिलाइप्रति समाजवादी पार्टीमा असन्तुष्टि बढ्दै गएको छ । सरकार छोडेर माग सम्बोधनका लागि सडक र सदनबाट संघर्ष गर्नुपर्ने आवाज पार्टीमा उठ्दै आएको समाचार राजधानी दैनिकमा छ ।

    समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टीले उठाउँदै आएको माग सम्बोधन गर्न सरकारले ढिलाइ गरिरहेको आरोप लगाए । सहमतिअनुसार संविधान संशोधन प्रक्रिया अगाडि नबढे पार्टीले सरकार छोड्न सक्ने उनले बताए ।

    ‘हामी नेकपासँग दुई बुँदे सहमति गरेर सरकारमा गएका हौं, तर सहमति कार्यान्वयन भएको अवस्था छैन, हामी त्यो सहमति कार्यान्वयन होस् भन्ने चाहन्छौं, संशोधन प्रक्रिया अगाडि बढेन भने हामी सरकार छोड्न सक्छौं,’ सहअध्यक्ष श्रेष्ठले भने ।

    नेकपा र समाजवादी पार्टीबीच भएको सहमति अनुसार कार्यदल गठन गरेर अगाडि बढनुपर्ने उनले बताए । संशोधनका लागि कार्यदलले प्रस्ताव तयार गरी संशोधन प्रक्रिया अगाडि बढने उनले बताए । समाजवादी पार्टीले कार्यदल गठन गर्न प्रस्ताव अगाडि बढाउने बताउँदै उनले संशोधन प्रक्रिया छिटै नै अगाडि बढने बिश्वास व्यक्त गरे ।

    फोरम र नयाँ शक्तिबीच पार्टी एकीकरणपश्चात् अहिले एकताको काममा व्यस्त रहेको बताउँदै उनले सबै नेता काठमाडौं फर्किएपछि यस विषयमा पार्टीमा छलफल गरेर निर्णय हुने बताए । गाउँदेखि केन्द्रसम्मको एकता टुंगो लगाउने काम विशेषले समाजवादी पार्टीका नेताहरू जिल्लामा केन्द्रित छन् ।

    समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले सरकार छोड्नुपर्ने निर्णय पार्टीले नगरेको बताए । यद्यपि, पार्टीले उठाउँदै आएको माग सम्बोधनका लागि सरकारले आलटाल गरिरहेकाले त्यस विषयमा पार्टीमा छलफल हुने उनले बताए ।

    ‘अहिले नै सरकार छोडिहाल्ने निर्णय पार्टीले गरेको छैन तर पार्टीको अब बस्ने बैठकमा नेकपासँग भएको सहमतिका विषयमा छलफल हुन्छ,’ महासचिव यादवले भने, ‘हामीबीच भएको सहमति कार्यान्वयन नभएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीमा निर्णय गरेर अगाडि बढ्छौं ।’

    संविधान संशोधनको मुद्दा उठाउँदै आएको समाजवादी पार्टीले विगतको सहमति कार्यान्वयन नभएपछि सरकार छोड्नुपर्ने दबाब बढ्दै गएको छ । तर, पार्टीले सुरुमा सरकारलाई अल्टिमेटम दिने र त्यसपछि पनि सहमति कार्यान्वयन नभए सरकार छोडेर सशक्त आन्दोलन गर्ने रणनीतिमा समाजवादी पार्टी रहेको छ ।

    समाजवादी पार्टीका केन्द्रीय सदस्य विष्णुजंग बस्नेतले पार्टीमा सरकारबारे छलफल हुने बताए । सरकारले विगतमा गरेको सहमति कार्यान्वयन नभएकाले पार्टीले छलफल गरी अगाडि बढ्ने उनले बताए । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast