परिणाम निस्कने गरी काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन #आहा खबर# नेप्से परिसूचक घट्यो, ०.२० अंकले घटेर १ हजार २५८ अङ्कमा #आहा खबर# लोकसेवा विज्ञापनविरुद्धको सुनुवाइ फेरि सर्‍यो, फाइललाई एक साथ पेश गर्न आदेश #आहा खबर# पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ #आहा खबर# बिहान धेरै सुत्दा दिमाग दुई गुणा बढी चल्ने ! स्वास्थ्यमा अनेकौं फाइदा #आहा खबर# मार्सी धानमा झारनाशक औषधि ‘ब्युटाक्लोर’ प्रयोग नगर्न कृषि विज्ञले सुझाव #आहा खबर# सन् २०१८ सम्ममा ७ करोड मानिस विस्थापित, यस्तो छ राष्ट्रसंघको तथ्यांक #आहा खबर# सधैँ भीड लाग्ने भक्तपुर अस्पतालका आकस्मिक बाहेक सबै सेवा ठप्प #आहा खबर# ओली–दाहालबीच छलफल, पार्टी एकता प्रक्रियालाई गती दिन दबाब #आहा खबर# हयातका आन्दोलनरत मजदूर काममा फर्किए, होटल भने सञ्चालन हुन बाँकि #आहा खबर# भारतका प्रधानमन्त्री मोदीले दिए राहुललाई जन्मदिनको शुभकामना, कति बर्ष पुगे ? #आहा खबर# गुठी विधेयकको विरोधमा प्रदर्शन : ट्राफिक अस्तव्यस्त, यी ७ स्थानमा गाडीहरु डाइभर्ट #आहा खबर# नगद लुट्न माइक्रो फाइनान्समा कार्यरत युवतीको हत्या, अभियुक्तको खोजी शुरु #आहा खबर# ३३ करोडको लागतमा बन्ने भयो जाजरकोटमा आधुनिक अस्पताल #आहा खबर# नरैनापुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजदेखि शुरु #आहा खबर#
    अध्यात्म चर्चा

    सिङ्गो इतिहास : १६ वर्षदेखि रातो मछिन्द्रनाथको मूल पूजारी बज्राचार्यको भोगाई र बुझाई

    बिहिवार, २३ जेष्ठ २०७६, - सञ्चिता घिमिरे.

    ललितपुर, २३ जेठ ।

    झण्डै १६ वर्ष पहिलेदेखि रातो मछिन्द्रनाथको मूल पूजारीका रुपमा देवताको सेवामा लाग्दै आउनुभएको कपिल बज्राचार्य ६७ वर्षको हुनुभयो । उहाँ २२-२३ वर्षको उमेरदेखि मछिन्द्रनाथको पुजारीका रुपमा देवताको सेवा गर्दै आउनुभएको छ । 
     
    बज्राचार्य आफूलाई रातो मछिन्द्रनाथलाई पाटन ल्याउनेमध्येका एक गुरु बन्धुदत्त बज्राचार्यको सन्तान भएको दावी गर्नुहुन्छ । 

     

    ५ दशक देवताको नाममा :

    उहाँले देवताको सेवामा बिताउनुभएको यो पाँच दशकमा पूजा विधिमा परिवर्तन आएको छैन । पूजा गर्ने विधि उही र रातो मछिन्द्रनाथलाई खुशी बनाउन सके वर्षा हुने विश्वास पनि उस्तै छ । 

    रातो मछिन्द्रनाथको मुख्य जात्रा हुने स्थान पाटन (अहिलेको ललितपुर महानगरपालिका) को संरचनामा भने आकाश–जमीनको परिवर्तन आइसकेको छ । पहिले खेत नै खेतले भरिएको पाटन अहिले घरैघरले भरिएको छ । 

    पहिले पानी परे खेती गर्न पाउने आशा गर्ने किसानका सन्तान अहिले कोही व्यापारी-व्यवसायी त कोही जागीरे छन् । कतिपय रोजगारी वा अध्ययनका लागि विदेशमा छन् । 

     

    गर्वको महशुस :

    अहिले पनि मछिन्द्रनाथका सेवकहरु (गुठीका भाषामा रकमे) मछिन्द्रनाथको जात्रा अघि र जात्राको अवधिभर हुने विभिन्न क्रियाकलापमा सहभागी हुन पाउँदा गर्वको महशुस गर्छन् । धर्म र संस्कृति जोगाउनु उनीहरु आफ्नो अभिभारा सम्झन्छन् । यहाँका दक्ष जनशक्तिले खुबी र  कामअनुसार पारिश्रमिक नपाउँदा पनि धेरै दिन देवताको काममा खर्चन्छन् । 

    मीननाथको रथमा बेतले बाँध्दै आउनुभएका चिरीकाजी महर्जनले भन्नुभयो – “सिङ्गो ललितपुरको इतिहास जोगाउन पाउँदा गर्व लाग्छ ।”

    समयसँगै मछिन्द्रनाथको जात्रा सञ्चालन गर्ने तरीकामा भने परिवर्तन आउँदै छ । मछिन्द्रनाथको जात्रामा गरिँदै आइएको परम्परा खुम्चने हो कि भन्ने चिन्ता स्थानीयवासी र मछिन्द्रनाथको अध्ययन अनुसन्धान गर्दै आएकाहरुलाई छ ।

     

    स्मरण :

    ज्योतिष दैवज्ञ कीर्तिमदन जोशी झण्डै चार दशक पहिलेसम्म वैशाख शुक्ल प्रतिपदाका दिनमा मछिन्द्रनाथको रथारोहण गरेपछि त्यही दिन वा भोलिपल्ट पुल्चोकमै रहेको मण्डप पाटीसम्म रथलाई लग्ने गरेको स्मरण गर्नुहुन्छ । उहाँले भन्नुभयो – “मलाई याद हुँदासम्म पनि कहिले रथारोहण भएकै दिन त कहिले भोलिपल्ट मण्डप पाटीसम्म रथ लगिन्थ्यो ।”

    चार दशक पहिलेदेखि साङ्केतिक रुपमा मात्रै रथलाई पाटीसम्म पुर्याउने गरिएको छ । पञ्चसूत्र धागोलाई साङ्केतिक रुपमा तान्ने गरिएको छ । साङ्केतिक रुपमा रथ तान्दा मितव्ययी हुने भएपनि संस्कृतिको निरन्तरता नहुने उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो – “एक–दुई वटा प्रचलन गर्दै कतै रथ तान्दा नै खर्चिलो भयो भनेर साङ्केतिक रुपमा मात्रै तानिन्छ कि भन्ने चिन्ता छ ।” 

     

    सम्पत्तिको यकिन विवरण गुठीसँग छैन !

    मछिन्द्रनाथको सम्पत्ति प्रशस्त भएकाले कुनै पनि विधि कटौती गर्न नहुने जोशीको सुझाव छ । उहाँका अनुसार अहिलेसम्म मछिन्द्रनाथ गुठीका नाममा भएका सबै सम्पत्तिको यकिन विवरण समेत गुठीसँग छैन । मछिन्द्रनाथको सम्पत्तिको खोजी गरेर भएका सबै प्रचलन जस्ताको तस्तै गर्नुपर्ने उहाँको सुझाव छ ।


    साइत :

    रातो मछिन्द्रनाथको जात्रा सञ्चालनका क्रममा दुई पटक साइत हेर्ने गरिएको छ । एक पटक बुङ्गमतीबाट पाटन ल्याउन र अर्काे पटक थट्टिटोलबाट जावलाखेल लैजान । यहाँका जोशीहरुले मङ्गलबजारको सोर्हखुट्टे पाटीमा बसेर साइत हेर्ने गरेका छन् । 

    पहिले साइत हेर्ने दिनमा हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) बाट ३२ जना गुरुजू सोर्हखुट्टे आइपुग्थे । तीमध्ये १६ जना वरिष्ठ गुरुजू एक-एक वटा थाममा बस्दथे । उनीहरुले साइत हेर्ने अवधिभर देवताको प्रार्थना गर्थे । अहिले धेरै वर्षदेखि गुरुजूहरु आउन छाडेको जोशीले बताउनुभयो । 

    मछिन्द्रनाथका फरकफरक कामका लागि फरक समुदायका ‘सेवक’ को जिम्मेवारी हुन्छ । उनीहरुको कामको प्रकृति र आवश्यकता अनुसार गुठी संस्थानले दरबन्दी छुट्टाएको छ । अहिले कतिपय रकमे दरबन्दीभन्दा कम मात्रै कार्यरत छन् । 

    गुठीले साइत हेर्न चार ज्योतिषको दरबन्दी कायम गरेको छ । गणक, लेखक, स्रोता र दर्शकको व्यवस्था गुठी संस्थानमा रहेको छ । धेरै वर्षदेखि दुई जना मात्रै ज्योतिषले मछिन्द्रनाथको साइत हेर्दै आएका छन् । 

     

    संस्कृतिको निरन्तरता :

    प्रमुख ज्योतिषको सल्लाहमा अरु दुई जना पनि नियुक्त गर्नुपर्नेमा ज्योतिष दैवज्ञ जोशीको जोड छ । उहाँले भन्नुभयो – “संस्कृतिको निरन्तरताका लागि पहिले जसरी गर्दै आएको हो त्यसैगरी गर्नुपर्छ । जति जनाले गर्दै आएको हो अहिले पनि त्यसको निरन्तरता हुनुपर्छ ।”

    मछिन्द्रनाथको जात्राका लागि बुङ्गमतीबाट देवतालाई पाटन ल्याइन्छ । यहाँ ल्याएपछि रथ निर्माण, रथारोहण र रथ यात्रा हुँदै आएको छ । 

    रथ यात्राको बाटो उही छ । तिथिका आधारमा रथलाई पाटनका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । रथ पुगेको स्थानमा पुगेको दिन छोय्लाभूु (प्रारम्भिक जात्रा) र त्यसको भोलिपल्ट मूल जात्रा (भुज्याः) गरेर हर्षोल्लासका साथ जात्रा मनाइन्छ । 

    मछिन्द्रनाथको रथयात्रा हुने ठाउँमा पहिले रथ गुड्न पुग्ने ठिक्कको  ‘ट्र्याक’ रहेको यहाँका बूढापाकाले बताउँदै आएका छन् । ‘ट्र्याक’ ले गर्दा रथ ट्र्याकबाट बाहिर जान पाउँदैनथ्यो । रथले घरलाई छुने सम्भावना पनि थिएन । समयअनुसार अहिले यहाँका भौतिक संरचना परिवर्तन भइरहेको छ । 

    पहिलेका ती ट्र्याकहरु अहिले मासिसकेको देख्न सकिन्छ । अहिले जतासुकै सडक कालोपत्रे छ । उहाँले भन्नुभयो – “चार दशक पहिलेदेखि नै ती ट्र्याक हराइसकेका छन् ।” 
    मछिन्द्रनाथको जात्रा शुरु हुँदा पहिले बुङ्गमतीबाट नै रथमा राखेर पाटन ल्याइन्थ्यो । 

     

    के थियो इतिहास ?

    लामो बाटो हुँदा खर्चिलो र समय बढी लाग्ने भयो । मल्लकालमा नै बार्ह वर्षमा मात्रै बुङ्गमतीबाट ल्याउँदा रथमा राखेर ल्याउन थालिएको हो । दक्षिणायन हुँदा बुङ्गमती र उत्तरायन हुँदा पाटनमा मछिन्द्रनाथलाई राखिने ज्योतिषी दृष्टिकोणबाट निधो भयो । उहाँ भन्नुहुन्छ – “उत्तरायनलाई शुभ (देव) महिना र दक्षिणायनलाई (अशुभ) महिना मानिन्छ ।”

    बुङ्गमतीबाट पहिले रथ पाटनसम्म ल्याउन कठिन थियो । अप्ठेरो बाटो हुँदा ठाउँठाउँमा रोक्दै ल्याउनुपर्दथ्यो । अहिले सबैतिर सडक राम्रो छ । तैपनि परम्परादेखि रोक्दै आएकाले नख्खु खोलामा पुगेपछि रोकिने गरिएको जोशी बताउनुहुन्छ । 

    सिङ्गो काठमाडौँ उपत्यकासँगै पाटनको भूगोल पनि बदलिएको छ । पहिले हक नामक खोला बग्ने मङ्गलबजारमा अहिले सवारीसाधनको भीड हुने गर्छ । तर, पहिले जस्तै गरेर खोला तार्ने परम्परा अहिले पनि उस्तै रहेको छ । 

    मछिन्द्रनाथको त्रिलोक भ्रमणअन्तर्गत गाःबहालदेखि सुन्धारासम्मको रथ यात्राका क्रममा हक खोलामा पुग्दा रुमाल वा धोती फेर्न लगाउने गरिएको छ । त्यस दिन रथलाई मङ्गलबजार आसपास राख्ने गरिएको छ । 


    ‘याकः मिसा भुज्याः’ 

    ‘याकः मिसा भुज्याः’ अर्थात महिलाले रथ तान्ने दिन तामझामका साथ जात्रा हुन्छ । इटिटोलमा रहेको रथलाई महिलाले तानेर थट्टिटोलसम्म पुर्याउँछन् । यो एकल महिलाको जात्रा हो । 

    मछिन्द्रनाथको कीर्तिपुरमा रहेकी प्रेमिकाको स्मरणमा जात्रा मनाउने गरिन्छ । पहिले एकल महिलाले रथ तान्ने भनिए पनि अहिले सबै खालका महिला सहभागी हुन्छन् । उहाँले भन्नुभयो – “रथ यात्राका विभिन्न खालका पक्ष मध्ये यो पनि एक हो ।”

    ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता हुँदै आएको छ । रथ लिन जाँदा ललितपुरका किसान ललित रथचक्र, काठमाडौंका गुरु बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदव सँगसँगैै जानुले पनि जात्रामा काठमाडौं र भक्तपुरवासी जोडिएको देखाउँछ ।


    सम्झनामा रथ यात्रा :

    त्यसो त यी तीनै जनाको सम्झनामा रथ यात्रा हुने गर्छ । त्रिलोक भनिने मछिन्द्रनाथको रथयात्रामा पुल्चोकबाट गाःबहालसम्म गुरु बन्धुदत्त बज्राचार्यको, गाःबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथचक्रको स्मरणमा हुने गरेको छ । 

    अहिले पनि पुल्चोकबाट  गाःबहालसम्मको जात्रालाई काठमाडौँवासीको र गाःबहालबाट सुन्धारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ ।

    पहिले काठमाडौँवासी र भक्तपुरवासी आ–आफ्नो पालामा रथ तान्न आउँथे । अहिले धेरै वर्ष भयो उनीहरुले रथ तान्न छाडेको । ज्यापु समाज यलले नै रथ तान्ने जिम्मेवारी लिएको छ । रथ तान्ने मात्रै नभएर सुरक्षित रुपमा भनिएको ठाउँमा पुर्याउनुपर्ने भएकाले समाजले तान्नु सकारात्मक भएको जोशीले बताउनुभयो । 

    पहिले पहिले रथ तान्ने काम लगाम नभएको घोडा जस्तो थियो । स्थानीयवासी राति अबेरसम्म रथ तान्दथे । पहिले रथ ढल्कने हुँदा दुर्घटनाको डर थियो । समाजले जिम्मेवारी लिएपछि अहिले व्यवस्थित बनेको छ । उहाँ भन्नुभयो – “ज्यापु समाजले तान्न थालेसँगै रथ तान्ने काम व्यवस्थित बनेको छ । अहिले रथ ढल्केको जस्ता अप्रिय कुरा सुन्नु परेको छैन ।”

     

    रकमेहरुको कार्यालयमा बाक्लो उपस्थिति :

    मछिन्द्रनाथ जात्राको तयारीका लागि गुठी संस्थान झण्डै वर्षभर नै लाग्ने गर्छ । पहिलो दुई-चार महिना कागजी काममै लाग्ने गर्छ ।  त्यसपछि कार्यालयले आवश्यकताअनुसार रकमेलाई परिचालन गरेर काम अघि बढाउँछ । देवतालाई पाटन ल्याएदेखि नै रकमेहरुको कार्यालयमा बाक्लो उपस्थिति देखिन्छ । 

    कहिले सल्लाहका लागि त कहिले ज्याला कम भएको भन्दै गुनासो गर्न आएका उनीहरु भेटिन्छन् । एकातिर कार्यालयका कर्मचारी ज्याला जिल्लाको दर भन्दा कम नभएको बताउन गरेका छन् भने अर्कातिर रकमे वर्षेनी ज्याला कम भएको गुनासो गर्छन् । त्यति हुँदाहुँदै पनि उनीहरु मन लगाएर काम गर्छन् । समयमै र तिथिअनुसार सबै काम हुने गरेको छ । 

    गुठी संस्थान ललितपरका प्रमुख शैलेन्द्र पौडेलले रकमेको व्यवस्था गर्न गार्हो भएको बताउनुभयो । पहिले खेती किसानी गर्ने हुँदा स्थानीयवासी सजिलै समय निकाल्थे अहिले उनीहरु अरु पेशामा लागेकाले समय निकाल्न मुश्किल छ । तैपनि उनीहरुले गर्नुपर्ने काम गरिरहेका छन् । उहाँले भन्नुभयो – “उहाँहरु धेरैले देवताको काम गर्न पाएँ भनेर गर्व गर्ने गर्छन् ।”

    यस वर्ष आगामी आइतबार (वैशाख २६) मा जावलाखेलमा भोटो देखाइँदैछ । रथलाई लगनखेलबाट जावलाखेल लगेको चौथो दिन भोटो  देखाउने गरिएको छ । भोटो जात्रा हेर्न राष्ट्र प्रमुख जावलाखेल आउने परम्परा छ । सरकारले जात्राका दिन सार्वजनिक बिदा दिँदै आएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast