बिहिवार, असोज २, २०७६
    सार्क

    श्रीलंकामा मुस्लिम मन्त्रीलाई राजीनामा दिन किन बाध्य पारियो ?

    मंगलवार, २१ जेष्ठ २०७६, आहाखबर

    श्रीलंका, २१ जेठ

    श्रीलंकामा गत महिना भएको शृंखलाबद्ध बम हमलाको प्रतिक्रियास्वरुप मुस्लिम मन्त्रीलाई राजीनामा दिन बाध्य पारिएको छ ।

    श्रीलंकामा गत अप्रिलमा २ सय ५० जनाको ज्यान जानेगरी भएको हमलापछि त्यहाँका मुस्लिम समुदायमाथि दमन गरिएका घटना सार्वजनिक भइरहँदा मन्त्रीलाई समेत राजीनामा दिन बाध्य पारिएको हो । यसका साथै अन्य दुई प्रान्तीय गर्भनरले समेत राजीनामा दिएका छन् ।

    श्रीलंकामा अथुरालियो रतना नामका बौद्धभिक्षुले मुस्लिम मन्त्रीको राजीनामा माग्दै आमरण अनसन गरिरहेका थिए । उनले आफूले दुई प्रान्तीय गर्भनर र एक मन्त्रीको राजीनामा नआएसम्म भोक हट्ताल जारी राख्ने बताएका थिए ।

    रतनाले राष्ट्रपतिलाई यी मन्त्रीलाई हटाउनका लागि आग्रह गरेका थिए । ती भिक्षुले आत्मघाती हमलाकारीसँग मन्त्रीको सम्बन्ध रहेको आरोप लगाएका थिए । रतनाले ८ मन्त्रीबारे केही नभने पनि एक मन्त्रीलाई राजीनामा दिन बाध्य पारिएपछि सबै आठ मुस्लिम मन्त्रीले राजीनामा दिएका हुन् ।

    मुस्लिम मन्त्रीलाई राजीनामा दिन बाध्य पारिएकोमा हिन्दू नेता र सांसदले आपत्ति जनाएका छन् । द तमिल नेशनल अलायन्स (टीएनए) ले मुस्लिम मन्त्री भेदभावको सिकार भएको प्रतिक्रिया दिएका छन् ।

    तमिल प्रोग्रेसिभ अलायन्स र श्रीलंकाका हिन्दू नेता मनो गणेशणले सरकार बौद्ध सन्यासीको मागका आधारमा हिँडेमा देशलाई गौतम बुद्धले पनि बचाउन नसक्ने बताए । उनले मुस्लिम मन्त्रीलाई राजीनामा दिन बाध्य पार्नु गौतम बुद्धको समेत अपमान भएको बताए ।

    अथुरालिये रतना मुस्लिम मन्त्रीको राजीनामा माग्दै चार दिनदेखि भोक हड्तालमा थिए । भोक हड्तालको कोलम्बोमा रहेका प्रदर्शनकारी समेत समर्थन गरेका थिए । मन्त्रीको राजीनामापछि रतनाले भोक हड्ताल अन्त्य गरेका थिए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast