सोमबार, असोज ६, २०७६
    खेल संसार

    पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक, क्रिकेटतर्फ सन्दीप र फुटबलकी सावित्रा छनोट

    आईतवार, १९ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १९ जेठ ।

    नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्डको विधा 'पिपुल्स च्वाइस अवार्ड'को मनोनयन सार्वजनिक गरिएको छ । 

    मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, क्रिकेटका सन्दीप लामिछाने, भलिबलकी रेश्मा भण्डारी, ब्याडमिन्टनका प्रिन्स दाहाल र शारीरिक शुगठनका महेश्वर महर्जन छनोट भएका छन् ।

    वर्ष २०७५ सालमा उत्कृष्ट प्रदर्शनका साथ-साथै सञ्चारमाध्यम तथा समर्थकमाझ चर्चामा रहेका उत्कृष्ट पाँच खेलाडी छनोट गरी मनोनयन गरिएको मञ्चले जानकारी दिएको छ । 

    नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य स्ट्राइकर सावित्राले वर्ष २०७५ मा घरेलु तथा अन्तर्राष्ट्रिय फुटबलमा लगातार उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । भारतमा भएको हिरो गोल्डकप तथा नेपालमै सम्पन्न साफ च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउन उनको भूमिका महत्वपूर्ण थियो । 

    युवा स्टार लामिछाने नेपालले खेलेका अन्तर्राष्ट्रिय प्रतियोगितामा मुख्य खेलाडीको रुपमा छन् । नेदरल्यान्ड बिरुद्धको पहिलो एकदिवसीय जितदेखि यूएई विरुद्धको शृंखला जित्दासम्म उनको प्रदर्शन निर्णायक थियो । उनको इण्डियन प्रिमियर लिग आईपीएलदेखि विश्वभरका सबैजसो फ्रेन्चाइज लिगमा प्रदर्शन गरिसकेका छन् ।

    गत वर्ष एपीएफले भलिबलका ११ मध्ये १० उपाधि जित्दाका महत्वपूर्ण खेलाडी हुन् ओपन स्पाइकर रेश्मा भण्डारी । राष्ट्रिय टोलीकी सदस्यसमेत रहेकी रेश्मा वर्षभरि नै चर्चामा रहिन् ।

    १६ वर्षीय किशोर नेपाली ब्याडमिन्टनका भविष्यका रुपमा चर्चित छन् । यूएईमा दुवई इन्टरनेशसनमा यू-१५ उमेर समूहमा स्वर्ण जितेर उनले पहिलो अन्तर्राष्ट्रिय पदक भित्र्याएका थिए ।

    घरेलु ब्याडमिन्टनका उमेर समूहका प्रतियोगितामा पनि उनको बर्चश्व छ । थाइल्यान्डमा सम्पन्न दशौं विश्व शारीरिक शुगठन प्रतियोगितामा पुरुष ७५ केजी तौलसमूहमा स्वर्ण पदक विजेता महेश्वरले नेपाललाई ऐतिहासिक सफलता दिलाएका थिए ।

    पिपुल्स च्वाइस अवार्डमा समर्थकको एसएमएस भोटिङबाट ५० प्रतिशत गणना हुनेछ । मञ्चको आधिकारिक फेसबुक एकाउन्टमार्फत मनोनयनमा परेका खेलाडीको तस्बिरमा लाइक गरी मत दिन सकिनेछ । चार लाइक बराबर एक मत गणना हुनेछ । मञ्चका सदस्य र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार २५ प्रतिशत कायम गरिएको छ ।

    यसैबीच, मञ्चले आइतबारबाट एसएमएस पार्टनरका रुपमा टीएचटी लाइभ ३७७२२ सँगको सम्झौता नवीकरण गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र टीएचटीका वरिष्ठ अधिकृत भूपेन्द्र तामाङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पिपुल्स च्वाइस अवार्डका लागि एसएमएस मतको सुपरिवेक्षण टीएचटीले नै गर्नेछ ।

    विश्व खेलकुद पत्रकार दिवस जुलाइ २ -असार १७)मा आयोजना हुने स्पोर्टस अवार्डमा १० विधा छन् । पिपुल्स च्वाइससँगै वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, उत्कृष्ट पाराएथ्लिट अवार्ड र टिम अफ दि इयर प्रदान गरिनेछ । 

    एसएमएस, फेसबुक लाइक, मञ्चका सदस्य तथा राष्ट्रिय खेलका मुख्य प्रशिक्षकको मतका आधारमा विजेताको घोषणा असार १७ गते प्रज्ञा भवनमा हुने अवार्ड समारोहको दिन गरिनेछ ।

    यसपल्टदेखि थपिएको नयाँ बिधामा अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गरिनेछ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast