सोमबार, असोज ६, २०७६
    खेल संसार

    प्रधानमन्त्री कप क्रिकेट : प्रदेश २ लाई पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश

    आईतवार, १९ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, १९ जेठ

    विभागीय टिम नेपाल पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

    टियु (कीर्तिपुर) क्रिकेट मैदानमा आइतबार भएको समूहको अन्तिम खेलमा पुलिसले प्रदेश दुईलाई १ सय ५६ रनले पराजित गर्दै समूह ‘बी’ को विजेता बनेको हो । २ सय ५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको प्रदेश दुईले २९ ओभरमा सबै विकेटको क्षतिमा ९७ रन मात्रै बनाउन सक्यो ।

    प्रदेश दुईका लागि हरिशंकर शाहले २९ र कप्तान मेहबुब आलमले २१ रन बनाए । बलिङतर्फ दिपेन्द्रसिंह ऐरीले पाँच विकेट लिए । उनले १० ओभर बलिङ गर्दै एक ओभर मेडन राखेर २८ रन खर्चिदै पाँच विकेट लिएका थिए । त्यस्तै, ललितनारायण राजवंशीले तीन विकेट लिए ।

    टस जितेर पहिले ब्याटिङगरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५३ रन बनाएको छ । अमित श्रेष्ठले ५०, सुनिल धमलाले ४३, अनिल कुमार शाहले ३७, कुशल भुर्तेलले ३५ र आरिफ शेखले ३२ रन बनाए ।

    बलिङतर्फ सामसद शेखले चार र राशिद खानले दुई विकेट लिए ।

    जितसँगै पुलिस समूह ‘बी’ को विजेता बनेको हो । पुलिसले चार खेलमा चारै खेल जित हात पार्दै ८ अंक बनायो । त्यस्तै, यही समूहबाट आर्मी क्लब पनि सेमिफाइनलमा प्रवेश गरेको छ । 

    आर्मीले चार खेलमध्ये तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको हो । यो समूहबाट प्रदेश एक, प्रदेश दुई र कर्णाली प्रदेश भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast