बुधबार, जेष्ठ १४, २०७७
    राज्य-समाज

    भारतको विदेशमन्त्री जयशंकर बनेपछि नेपाल–भारत सम्बन्ध बारे यसो भन्छन् विज्ञ

    शनिबार, १८ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १८ जेठ ।
    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा बिहीबार एक परिचित, तर गैर–राजनीतिक अनुहार देखा परे । धेरै आश्चर्यचकित हुने गरी पूर्वविदेशसचिव डा. सुब्रमण्यम जयशंकरले १४औँ वरीयताको मन्त्रीको शपथ लिए ।

    जयशंकरले चाहेको कुरा लागू हुने होइन, प्रधानमन्त्री मोदीले चाहेको नीति जयशंकरले कार्यान्वयन गर्ने हो, आधारभूत रूपमा नेपाल–भारत सम्बन्ध कोही आउँदा वा जाँदा प्रभावित हुँदैन ।

     

    शुक्रबार जयशंकरलाई विदेशमन्त्री तोकिएपछि मोदी सरकारको छिमेक प्रथम नीति र विशेषगरी नेपाल–भारत सम्बन्धमा उनको व्यक्तित्वले पार्ने प्रभावबारे बहस सुरु भएको समाचार नयाँ पत्रिकाले छापेको छ । 

    संविधान निर्माणको आखिरीमा १–२ असोज ०७२ मा मोदीका विशेष दूतका रूपमा नेपाल आउँदा जयशंकरले संविधान जारी गर्ने मिति दुई साता धकेलेर सर्वसम्मत कायम गर्ने मोदीको सन्देश सुनाएका थिए । मोदीको सन्देश भन्दै जयशंकरले प्रस्तुत गरेको भाषाशैली र संविधान जारी भएपछिको भारतीय प्रतिक्रियापछि उनको नकारात्मक छवि नेपालमा चित्रित भयो । भारतले नेपालमा लगाएको नाकाबन्दीको डिजाइनरका रूपमा समेत उनको चर्चा भयो । 

    ‘जयशंकरजीलाई अनुदार भनियो, तर यथार्थमा उनी प्रधानमन्त्री मोदीको सन्देश लिएर गएका थिए । त्यसपछि भएका नाकाबन्दीलगायत घटनाक्रमको जननी जयशंकर मात्रै होइनन्,’ एकजना पूर्वभारतीय कुटनीतिज्ञले दिल्लीबाट टेलिफोनमा भने । 

    राजनीतिक नेतृत्वको लामो पहलकदमीमा नेपाल–भारत सम्बन्ध सुमधुर भएको छ । जानकारहरूका अनुसार यो सम्बन्ध सुधारमा जयशंकरको प्रयास उल्लेखनीय थियो । भारतका लागि पूर्वराजदूत डा. लोकराज बरालले विदेशमन्त्री एस जयशंकरले विगतमा मोदीको नीति कार्यान्वयन गरेको र अब पनि त्यही गर्ने बताए । ‘जयशंकरले चाहेको कुरा लागू हुने होइन, प्रधानमन्त्री मोदीले चाहेको नीति जयशंकरले कार्यान्वयन गर्ने हो,’ बरालले भने, ‘आधारभूत रूपमा नेपाल–भारत सम्बन्ध कोही आउँदा वा जाँदा प्रभावित हुँदैन ।’ 

    के भन्छन् विज्ञ ?

    भविष्यमा मुखर भएर आउनेछन्  : डा. दिनेश भट्टराई, पूर्वराजदूत
    भारतका विदेशमन्त्री एस जयशंकरलाई  सीधा अगाडि चल्ने व्यक्तिका रूपमा मैले बुझेको छु । उनी  छिमेक र विशेषतः नेपाल मामिलामा अलिकति मुखर छन् । जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपालका नेताहरूलाई नजिकबाट बुझेका छन्, चिनेका छन् । छिमेकमा मोदीले लिने रणनीतिक निर्णयहरूमा जयशंकरको हात देखिने नै छ । जयशंकरमा अमेरिका र चीनसँग सम्बन्ध व्यवस्थापन गर्न सक्ने खुबी देखिन्छ । अमेरिकासँग सिभिल न्युक्लियर डिल गर्ने महŒवपूर्ण पात्र जयशंकर नै थिए । जयशंकर आउँदा वा नआउँदा भारतको नेपाल नीति प्रभावित हुने होइन । विदेश नीति कार्यान्वयनकर्ता मात्रै फेरिएका हुन्, कार्यान्वयनको आयाम परिवर्तन हुन सक्छ । समग्र विदेश नीति वा छिमेक नीति नै फेरिने भन्ने हुँदैन । तर, मोदी सरकारले कस्तो नीति अपनाउने हो भन्ने बुझ्न एकाध महिना पर्खिनुपर्छ । उनको मालदिभ्समा हुने भ्रमणले पनि सन्देश प्रवाह गर्ने सम्भावना म देख्छु । हामीले आफ्नो हित प्रवद्र्धन गर्न चनाखो भएर बस्नुपर्छ । 

    नेपाल–भारत सम्बन्ध समस्यामा जाँदैन : डा. निहार नायक, नेपाल–भारत सम्बन्धका जानकार
    विदेशमन्त्रीका रूपमा जयशंकरको भूमिका विदेश नीति र छिमेक प्रथम नीति कार्यान्वयन गर्नेमा हुनेछ । विजय केशव गोखले विदेशसचिव भएपछि सुधारिएको छिमेक सम्बन्धको जगमा जयशंकर अघि बढ्नुपर्ने अवस्था म देख्छु । तर, नेपाल–भारत सम्बन्ध समस्यामा जाँदैन । नेपाल नीतिमा भारतले मूलभूत परिवर्तन ल्याउने सम्भावना छैन । विदेशसचिव र राष्ट्रिय सुरक्षा सल्लाहकारले छिमेक नीति सम्हाल्ने हुनाले विदेशमन्त्री यसमा धेरै इन्गेज्ड हुने सम्भावना हुँदैन । वास्तवमा विदेशसचिव गोखलेको प्रयत्नबाट नेपाल–भारत सम्बन्ध थप सुमधुर भएको छ ।

    सधैँ मोदीको विशेष महत्वमा जयशंकर 
    अमेरिकाका लागि राजदूत रहेका वेला डा. जयशंकरलाई प्रधानमन्त्री मोदीको विशेष रुचिमा दिल्ली डाकियो र विदेशसचिवको जिम्मा दिइयो । तत्कालीन विदेशसचिव सुजाता सिंहले कार्यकाल नसकिँदै जयशंकरका लागि स्थान खाली गर्नुपर्‍यो । 

    यति मात्र होइन, समयावधि सकिएका विदेशसचिव जयशंकरको कार्यावधि एक वर्ष थपेर मोदीले विशेष महत्वव दर्साए । विजयकेशव गोखलेलाई पदभार बुझाएपछि जयशंकर टाटा गु्रपका जागिरे भए । दिल्लीमा केही महिनाअघि भएको रायसिना डायलगमा जयशंकर टाटा ग्रुपका तर्फबाट सहभागी थिए, जहाँ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत सम्बन्धबारे सम्बोधन गरेका थिए ।  

    जयशंकरका पिता के सुब्रमण्यम भारतका पूर्वकूटनीतिज्ञ थिए । उनी रक्षा मन्त्रालयसम्बद्ध आइडिएसएका संस्थापक महानिर्देशक थिए । करिअर डिप्लोम्याटमध्ये मन्त्री हुनेहरूमा अहिलेसम्म के नटवर सिंह र उनी हुन् । नटवर सिंहलाई भारतीय कंग्रेसले प्रवद्र्धन गरेको थियो । पूर्वकूटनीतिज्ञ हरदीपसिंह पुरी पनि मोदी सरकारको मन्त्रिपरिषद्मा राज्यमन्त्री छन् । पूर्वसेनाप्रमुख भिके सिंह र पुरी यसअघि पनि राज्यमन्त्री थिए, अहिले पनि राज्यमन्त्री छन् । पूर्वविदेशसचिव जयशंकरले पूर्णमन्त्रीको जिम्मेवारी पाएका छन्, तर उनी सांसद छैनन् । उनले भाजपामा प्रवेश गरेको औपचारिक घोषणा पनि गरेका छैनन् । जानकारहरूका अनुसार चीन बुझेका र अमेरिकामैत्री छवि बनाएका जयशंकर र चीन बुझेका विदेशसचिव विजयकेशव गोखलेबीचको कूटनीतिक रसायनले भारतको विदेश नीति सञ्चालन गर्नेछ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast