शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    मेलम्ची खानेपानी आयोजनामा अर्बौं रकम डुबाएका निर्माण व्यवसायीले तत्काल भुक्तानी नपाउने

    शुक्रबार, १७ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १७ वैशाख

    मेलम्ची खानेपानी विकास समितिले तत्काल पीडित निर्माण व्यवसायीहरुको भुक्तानी गर्न नसकिने जवाफ दिएको छ।

    सीएमसी कम्पनीबाट पीडित निर्माण व्यवसायीहरुले आफ्नो डुबेको अर्बौं रकम तत्काल उपलब्ध गराउन सरकारलाई दबाब दिइरहेका बेला मेलम्ची खानेपानी विकास समितिले तत्काल भुक्तानी गर्न नसकिने जानकारी दिएको हो।

    समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले शुक्रबार काठमाडौंका पीडित पक्षसँगको अन्तर्क्रियामा कानुनी बाटो नभएका कारण तत्काल सो भुक्तानी दिन सकिने अवस्था नरहेको स्पष्ट पारे। 

    कार्यकारी निर्देशक कँडेलले सो आयोजनामा संलग्न स्वदेशी निर्माण व्यवसायीहरुको भुक्तानीको एकीन गर्न अध्ययन गर्न समिति गठन गर्ने तयारीमा जुटेको पनि जानकारी दिए । 

    आयोजनाको बोर्डले अध्ययन समिति बनाएर पीडित पक्षको भुक्तानीका लागि अध्ययन गर्ने निर्णय गरेर आवश्यक निर्णयका लागि खानेपानी मन्त्रालयमा पठाइएको पनि समितिले जनाएको छ । 

    पीडित निर्माण व्यवसायीहरुले आफूहरुको करिब डेढ अर्ब भुक्तानी सीएमसी कम्पनीले दिन बाँकी रहेको दाबी गर्दै उपलब्ध गराई दिन सरकारसँग माग गर्दै आएका छन्। 

    समितिले सीएमसी कम्पनीसँग करिब २ अर्ब ६१ करोड रुपैयाँ जफत गरेको उल्लेख गर्दै सो पैसाबाट पीडित पक्षलाई भुक्तानी गर्ने तयारी गरिएको बताएको छ। तर त्यसका लागि कानुनी बाटो नभएको समितिका कार्यकारी निर्देशक कँडेलले बताए।

    यता, पीडित निर्माण व्यवसायीहरुले भने सीएमसी कम्पनीले आफूहरुलाई ठूलो पीडा दिएको उल्लेख गर्दै तत्काल भुक्तानी दिने व्यवस्था गरिदिन सरकारलाई दबाब दिएका थिए।

    सीएमसी कम्पनीले मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छाडेर भागेपछि सो आयोजनाको विकास निर्माणको काममा संलग्न ५० जनाभन्दा बढी निर्माण व्यवसायीहरु मारमा परेका छन्।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast