शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    ओली र मोदीबीच दिल्लीमा ‘वान टु वान’ वार्ता

    बिहिवार, १६ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, १६ जेठ । 
    प्रधानमन्त्री केपी शर्मा ओली दक्षिणी छिमेकी देश भारतमा रहँदा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्धिपक्षीय महत्वका विषयमा छलफल हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा सहभागी हुन ओली बिहीबार भारत जाँदै हुनुहुन्छ । 

    बाँकी विषयहरू पनि द्धिपक्षीय वार्ता गरेर समाधान गर्नेतर्फ नै हामी अघि बढिरहेका छौं

    सपथग्रहणकै बीचमा ओली र मोदीबीच भेटवार्ता हुने छ । प्रधानमन्त्री निकट स्रोतले आहाखवरलाई भन्यो, ‘यो प्रधानमन्त्रीको छोटो भ्रमण हो । नेपाल–भारत द्धिपक्षीय महत्वका विषयमा उहाँहरुबीच छलफल हुन्छ ।’ नेपाल र भारतबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेकोले आगामी दिनमा पनि सम्बन्ध सुमधुर हुने विश्वास ओलीको छ । 

    प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल र भारतबीच अरुको भन्दा बढि नै चासो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीबीच बहुआयामिक सम्बन्ध छ । धेरै विषय भएकोले समस्या पनि छन् । पछिल्लो समय समस्याहरू पनि समाधानतर्फ उन्मुख छन् ।’ 

    सन् २०१८ मा तीन/चार वटा विषय समाधान गर्न सफल भएको उनको दाबी छ । उहाँले भन्नु्भयो, ‘बाँकी विषयहरू पनि द्धिपक्षीय वार्ता गरेर समाधान गर्नेतर्फ नै हामी अघि बढिरहेका छौं ।’

    नेपाल र भारतबीच अब २१ औं शताब्दीअनुसार युग सुहाउँदो सम्बन्ध कायम गर्नुपर्ने पनि बताउनुभयो ।

     

    दोस्रो कार्यकालका लागि मोदीको सपथ

    लोकसभा चुनावमा जित हाँसिल गरेको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनका नेता नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि बिहीबार प्रधानमन्त्रीको शपथ लिँदै हुनुहुन्छ ।  प्रधानमन्त्री ओली मोदीले दोस्रो कार्यकालमा सत्तासीन हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ लिने कार्यक्रममा सहभागी हुनुहुनेछ ।

    मोदीले अघिल्लो कार्यकालको शपथ ग्रहणमा सार्क सदस्य राष्ट्रलाई निम्ता गर्नुभएको थियो । यसपटक मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रलाई निम्तो दिनु्भएको छ।  प्रधानमन्त्री ओली बिम्स्टेक सदस्य मुलुकका नाताले मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुहुनेछ । 

    नरेन्द्र मोदीलाई राष्ट्रपति रामनाथ कोविन्दले पद तथा गोपनियताको शपथ गराउनुहुनेछ । 

    भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार आमन्त्रित सरकार एवम् राष्ट्र प्रमुखसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ । उहाँले बिम्स्टेक सदस्य राष्ट्रका कार्यकारीलाई सँगै राखेर पनि छलफल गर्नुहुनेछ । 

    मोदीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओली, बंगलादेशी राष्ट्रपति अब्दुल हामिद, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, म्यान्मारका राष्ट्रपति विन मिन्ट, भुटानी प्रधानमन्त्री लोटे छिरिङ सहभागी हुनुहुनेछ । 

    बंगलादेशकी प्रधानमन्त्री शेख हसिना मुलुकबाहिर भएका कारण राष्ट्रपति हामिदले सहभागिता जनाउन लाग्नुभएको हो ।  बिम्स्टेक सदस्य मुलुकबाहेक मोरिससका प्रधानमन्त्री प्रवीण जुगनौत र किर्गिजस्तानका राष्ट्रपति सुरोनबे जिनबेकोव पनि शपथमा सहभागी हुनुहुनेछ । 

    लोकसभा चुनावमा ५४३ सिट मध्ये भाजपा एक्लैले ३०३ सहित एनडिए गठबन्धनले ३५० सिट जितेको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast