बिहिवार, जेष्ठ २२, २०७७
    राज्य-समाज

    मोदीले दोस्रो कार्यकालाका लागि शपथ लिँदै, प्रधानमन्त्री ओली आज दिल्ली जाँदै

    बिहिवार, १६ जेष्ठ २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौं, १६ जेठ । 

    लोकसभा चुनावमा जित हाँसिल गरेको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनका नेता नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि बिहीबार प्रधानमन्त्रीको शपथ लिँदै छन् ।

    यसैक्रममा प्रधानमन्त्री केपी ओली बिहीबार नयाँदिल्ली जाँदैछन् । भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी भई उनलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्री ओली नयाँदिल्ली जान लागेका हुन् ।

    प्रधानमन्त्री ओली मोदीले दोस्रो कार्यकालमा सत्तासीन हुनुअघि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष शपथ लिने कार्यक्रममा सहभागी हुनेछन् । भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदी र उनको मन्त्रिपरिषद्ले बिहीबार नै शपथ ग्रहण गर्दैछ ।

    मोदीले अघिल्लो कार्यकालको शपथ ग्रहणमा सार्क सदस्य राष्ट्रलाई निम्ता गरेका थिए। यसपटक मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रलाई निम्त्याएका छन् । प्रधानमन्त्री ओली बिम्स्टेक सदस्य मुलुकका नाताले मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनेछन् ।

    नरेन्द्र मोदीलाई राष्ट्रपति रामनाथ कोविन्दले पद तथा गोपनियताको शपथ गराउने छन् ।

    भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार आमन्त्रित सरकार एवम् राष्ट्र प्रमुखसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम छ । उनले बिम्स्टेक सदस्य राष्ट्रका कार्यकारीलाई सँगै राखेर पनि छलफल गर्नेछन् ।

    मोदीको शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओली, बंगलादेशी राष्ट्रपति अब्दुल हामिद, श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना, म्यान्मारका राष्ट्रपति विन मिन्ट, भुटानी प्रधानमन्त्री लोटे छिरिङ सहभागी हुनेछन् । 

    बंगलादेशकी प्रधानमन्त्री शेख हसिना मुलुकबाहिर भएका कारण राष्ट्रपति हामिदले सहभागिता जनाउन लागेका हुन् । बिम्स्टेक सदस्य मुलुकबाहेक मोरिससका प्रधानमन्त्री प्रवीण जुगनौत र किर्गिजस्तानका राष्ट्रपति सुरोनबे जिनबेकोव पनि शपथमा सहभागी हुँदैछन् ।

    सन् २०१४ मा सत्तामा आएका मोदीले अर्को पाँच वर्षे कार्यकालका लागि शपथ लिन लागेका हुन् । लोकसभा चुनावमा ५४३ सिट मध्ये भाजपा एक्लैले ३०३ सहित एनडिए गठबन्धनले ३५० सिट जितेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast