बुधबार, जेष्ठ १४, २०७७
    राज्य-समाज

    पहिला त दोष दिन राजतन्त्र थियो, अब को छ ?

    मान्छे मात्रै बदलिए, सोच बदलिएन

    बुधबार, १५ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १५ जेठ । 

    नेपालमा गणतन्त्र स्थापना भएको ११ वर्ष पुरा भएको छ । जनआन्दोलन २०६२/६३ को जगमा बनेको संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्षे शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।

    सुरुका वर्षमा सार्वजनिक विदा दिने गरिए पनि २०७२ को संविधानमै जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था गरिएपछि सरकारले विदा कटौती गरेको छ । गणतन्त्र दिवसका कार्यक्रम समेत ओझेलमा परेका छन् ।

     

    कहाँ चुके दल ?
    जनतासँग माफी मागेरै दलहरूले जनआन्दोलन ०६२/०६३ मा साथ पाएका थिए । आन्दोलन सफल भयो । दलहरू पुनः एक पटक सत्तामा पुगे । जनआन्दोलनकै बलमा शान्तिपूर्ण रुपमा शासन व्यवस्था बदलियो–राजतन्त्र ढल्यो, गणतन्त्र अयो । 

     

    जनताले आमुल परिवर्तनको आशा गरे तर दलहरू सत्तास्वार्थभन्दा माथि उठ्न सकेनन् । कार्यकर्ताभन्दा बाहिर सोच्दै सोचेनन् । दलगत स्वार्थ झाँगिदै गयो । भ्रष्टाचार मौलाउदै गयो । सामाजिक विकृति र विसंगति घट्न सकेन । राजनीतिक अस्थिरता कायमै रह्यो । 
    जनताले राजनीतिक स्थिरता पनि दिए । हाल देशमा दुई तिहाइको सरकार छ । तर, त्यसको अनुभुति जनताले गर्न पाएका छैनन् । जनआन्दोलनबाट सत्तामा पुगेका र जनताबीचको बुझाइमै फरक छ । जनता निराश बनेर बस्न बाध्य छन् ।

     

    गर्भिलो विद्यार्थी इतिहास, निम्छरो वर्तमान
    नेपाली कांग्रेस, तत्कालिन नेकपा एमाले लगायत मुख्य दलहरू गणतन्त्रको उच्चारण समेत नगरेको अवस्थामा ती दलका विद्यार्थी संगठनहरूले सडकबाटै गणतन्त्रको नारा घन्काएका थिए । गणतन्त्रको नाराकै कारण थुप्रै विद्यार्थी नेताहरूको बास जेलमा भयो । धेरैले कुटाइ खानुप¥यो । व्यवस्था परिवर्तनको आन्दोलनमा जेलनेल र कुटाइ विद्यार्थीका लागि सामान्य बन्यो । विद्यार्थीकै जोडबलमा सडकमा गणतन्त्र गुञ्जियो । दलहरू गणतन्त्रको एजेण्डा बोक्न बाध्य भए । 

     

    तर, त्यो गर्भिलो इतिहास बोकेको विद्यार्थी आन्दोलन आज निम्छरो सावित भएको छ । विगतको प्रतिवद्धताअनुसार मातृपार्टीलाई हिडाउने आँट विद्यार्थी नेताहरूमा देखिदैन । सीमित स्वार्थमा रम्ने र निराश भएर बस्ने अवस्थामा विद्यार्थी नेताहरू पुगेका छन् । कुनै बेला राजनीतिक परिवर्तनमा निर्णायका भूमिका खेलेका विद्यार्थी संगठन अहिले किन मौन ? 
     

    तत्कालिन विद्यार्थी आन्दोलनको एक नेतृत्वकर्ता राजेन्द्र राई हाल सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य हुनुहुन्छ । आफ्नै पार्टीको नेतृत्वमा सरकार छ । तर, सरकारी काम गराइप्रति उहाँ सन्तुष्ट हुनुहुन्न ।  आखिर किन ? 

     

    दोष दिएर उ्रम्कने ठाउँ छैन
    राजेन्द्र राई, नेता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) 
    देशमा गणतन्त्र आएकोमा नागरिक खुसी नै छन् । तर, जनताको अपेक्षा अनुसार काम भएको छैन । जनताको सपना धेरै ठूला थिए । देश प्राकृतिक रुपमा सुन्दर हुँदाहुँदै पनि पछाडि पर्नुको कारण निरंकुश राजतन्त्र हो भन्ने निष्कर्ष थियो । राजतन्त्र ढलिसकेपछि अथवा पटक–पटक लोकतन्त्र खोस्ने राजतन्त्र हटेपछि मुलुकले फड्को मार्छ भन्ने हाम्रो विश्वास थियो ।

     

    अहिले केही नभएको भन्ने होइन । समयक्रममा हुने परिवर्तन मात्रै भएको छ । योजनागत ढंगले छिटो छरितो काम भएको छैन । गणतन्त्रपछि बनेका कुनै पनि सरकारले जनअपेक्षाअनुसारको काम गर्न सकेका छैनन् । गणतन्त्रअघि दोष दिने ठाउँ थियो–राजतन्त्र । तर, अहिले त्यो ठाउँ छैन । जनअपेक्षाअनुसारको काम पनि भएको छैन । जसकारण जनतामा निराशा देखिन्छ । 

     

    मान्छे मात्रै बदलिए, सोच बदलिएन
    अहिले देशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको दुई तिहाईको सरकार छ । डेढ वर्षलाई अनुभवको वर्ष मान्ने हो भने चित्त बुझाउन सकिएला । होइन भने चित्त बुझाउन सकिने अवस्था छैन । व्यवस्था नयाँ भए पनि पुरानै खाले सोचाइ छ । अरु कसैलाई दोष दिनुको अर्थ छैन । हामीले नै नगरेको हो । व्यवस्था बदलियो जनताको अवस्था बदलिएन । नेताको सोचाइ बदलिएन, मान्छे मात्रै बदलिए । 
    नेतृत्वमा गइसकेपछि दम्भ भन्ने कि के जनतालाई विर्सने समस्या छ । यही कमजोरीलाई टेकेर राजतन्त्र फर्कने सम्भावना त देखिदैन । तर, जनतामा वितृष्णा पैदा हुँदा नसोचेको घटना भने हुन सक्छ । नेतृत्वले यसतर्फ बेलैमा सोचेर जनताको पक्षमा समर्पित हुनु नै हितकर छ । 


    सत्तारुढ दलकै नेता सन्तुष्ट नभएको अवस्थामा प्रतिपक्षी दल सन्तुष्ट हुने कुरै भएन । पूर्वमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य संजयकुमार गौतम गणतन्त्र नेपालमा जनताको अधिकार कुन्ठित गर्न सरकार प्रायोजित रुपमै लागेको जिकिर गर्नुहुन्छ ।

     

    जनताले पद्धति फेरे तर प्रवृति फेरिएन
    संजयकुमार गौतम, पूर्वमन्त्री तथा नेता नेपाली कांग्रेस 
    सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको बलिदानीबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्र संविधानको सफल कार्यान्वयनसँगै संस्थागत हुन्छ । तर, अहिलेको सरकार संविधान कार्यान्वयन गर्दै अगाडि बढ्ने भन्दा पनि अधिनायकवादी सोचका साथ अगाडि बढेको छ । प्रेसलाई अंकुश लगाउने, राष्ट्रिय मानवअधिकार आयोगजस्तो संवैधानिक आयोगलाई नियन्त्रण गर्ने जस्ता प्रयासमा लागेको छ । जनताको अधिकार कुन्ठित गर्न सरकार प्रायोजित रुपमै लागेको देखिन्छ ।

     

    नेपाली जनताले पद्धति फेरे तर प्रवृति फेरिएन । संघ र प्रदेशबीच द्धन्द बढेको छ, स्थानीय तह पनि सन्तुष्ट छैनन् । केन्द्र सरकार अधिकार केन्द्रित गर्ने सोचमा छ । यसले व्यवस्था संस्थागत गराउन भूमिका खेल्दैन । अझ संघीय सरकार विभेदकारी सोचका साथ अगाडि बढेको छ । उदाहरणको रुपमा सिके राउत र नेत्रविक्रम चन्दलाई लिन सकिन्छ । एउटालाई च्याप्ने, अर्कोलाई ठोक्ने नीति पनि प्रायोजित रुपमै आएको हुनुपर्छ । 

     

    खवरदारी गर्छौ, कुर्सी भाच्न सक्दैनौँ 
    नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिराखेको छ । लोकतान्त्रिक तरिकाले हामी अगाडि बढ्छौँ, अराजक ढंगले प्रस्तुत हुन सक्दैनौँ । कुर्सी भाच्न सक्दैनौँ । सरकारले काम गर्न नसकेको बेला प्रतिपक्ष आक्रामक  रुपमा आओस भन्ने जनताको सोच स्वभाविकै हो । हामी विधि, पद्धतिअनुसार नै सरकारको गलत कामको खवरदारी गर्छौँ । जनताले परिवर्तनको अनुभुति गर्न पाउनुपर्छ । शासन व्यवस्था विगतको जस्तै हुने हो भने परिवर्तनको के अर्थ रह्यो र ?

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast