शनिबार, जेष्ठ १७, २०७७
    राज्य-समाज

    जनताको ठूलो सङ्घर्ष र बलिदानको जगमा उभिएको गणतन्त्रसँगै गासिएको अपेक्षा !

    जनताको ठूलो सङ्घर्ष र बलिदानको जगमा उभिएको गणतन्त्रसँगै गासिएको अपेक्षा !

    मंगलवार, १४ जेष्ठ २०७६, – झलनाथ खनाल .

    काठमाडौँ, १४ जेठ

    तत्कालीन नेकपा माओवादीले थालेकोे सशस्त्र द्वन्द्वका बेलामा सरकार र विद्रोही पक्षबाट हजारौँ मानिस ज्यान गुमाए । हजारौँ घाइते र बेपत्ता भए ।


    द्वन्द्वको त्यो दिन :

    सशस्त्र द्वन्द्व र २०६२-०६३ को जनआन्दोलनको प्राप्ति हो, गणतन्त्र । हजारौँको बलिदानबाट प्राप्त भएको गणतन्त्रको प्रत्याभूति नेपाली जनताले पूर्णरुपमा महसुस गर्न सकेका छैनन् । 

    जुन अपेक्षाले सशस्त्र द्वन्द्व र जनआन्दोलन गरिएको थियो । त्यसको अपेक्षित उपलब्धिको महसुस आम नेपाली जनताले गर्न नसकेको नागरिक समाजका अगुवाहरुले बताएका छन् । 


    जनयुद्ध हुमिएका थापा :

    विसं २०५२ मा शुरु भएको सशस्त्र द्वन्द्व (जनयुद्ध) मा दार्चुलादेखि पाल्पासम्मका २१ वटा लडाइँ (मोर्चा) लडेका ललितबहादुर थापा (शिव) ले जनताले मौलिकता, मौलिकहकको प्रत्याभूति, अधिकारको प्राप्ति, सामन्ती सरकारको अन्त्य, अस्तित्वको रक्षाजस्ता कुरामा जनताले गणतन्त्रको प्रत्याभूति गर्न पाए पनि राजनीतिक र वैचारिक रुपमा बाँडेका सपनाहरु पूरा नभएको बताउनुभयो । 

    “युगले जन्माएका राता मान्छेहरु हराएका छन् । घाइते, अपाङ्ग, बेपत्ता भएका मानिसहरू न्याय पाउन सकेका छैनन्”, थापाले भन्नुभयो, “जुनअपेक्षा र परिवर्तनका लागि हामी लडेका थियौँ, त्यो परिवर्तन भएको छैन । आज गणतन्त्रको प्रत्याभूति जनताले गर्न नसकेकै कारण क्रान्तिका झिल्का देखिन थालेका छन् ।”

    “समाजिक न्याय र विभेदरहित समतामूलक समाज निर्माण गर्नका लागि जनताले गणतन्त्र ल्याइएको हो”, उहाँले भन्नुभयो, “अपेक्षाअनुसार गणतन्त्र स्थापित गर्नु अहिलेको प्रमुख चुनौती हो ।”


    समाजवादका लागिभएको सङ्घर्ष फेरि पूँजीवादीतिरै :

    समाजवाद स्थायित्वका लागि भएको सङ्घर्ष फेरि पनि पूँजीवादीतिरै उन्मुख भएको भन्दै थापाले अहिलेको गणतन्त्र पूँजीवादी गणतन्त्र हो कि जनवादी त्यसलाई स्पष्ट पार्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 

    “मसँगै चार भाइ, भाइबुहारी, बहिनी, एक भतिजा सामन्ती राज्यसत्ताको अन्त्य, गणतन्त्रको स्थापनाका लागि भूमिगत भएरै लड्यौँ”, थापाले भन्नुभयो, “मेरो मात्र होइन । यस्ता सयौँ परिवार परिवर्तनका लागि लडे तर आज तिनै युद्ध लडेका युवाहरु अयोग्य भए । राज्यले अपमान ग¥यो । ती लडाइँका घाउहरु अझै पनि बल्झिरहेकै छन् ।”


    सशस्त्र द्वन्द्वमा भूमिगत :

    सशस्त्र द्वन्द्वको समयमा थापा परिवार अछामको दर्ना गाविसको पाटेखेत भन्ने ठाउँमा बसोबास गर्थे । कैलाश खोलाको किनारमा चिया पसल चलाउँदै आएका थिए, बुबा आमाले । त्यही बेला २०५७ साल माघमा शिव भूमिगत भए । 

    आठ दाजुभाइ र एक बहिनीमध्ये एकपछि अर्को गर्दै सात जना सशस्त्र द्वन्द्वमा भूमिगत भए । सरकार पक्ष र विद्रोही पक्ष चरम उत्कर्षमा पुगेका बेला घरका सात जना विद्रोहमा होमिनु कम चुनौती थिएन । 


    सिरिङ्ग हुने दिन :

    त्यतिबेला थापाका बुबाको सरकारी पक्षका सेनाको कुटाइबाट ढाड भाँचियो ।

    आमाका दाँत भाँचियो । कैयौँ पटक पसल तोडफोड भयो । कैयौँ पटक घर लुटियो । बुबा ढाडकै कारण बित्नुभयो । “मेरो परिवार परिवर्तनका लागि लडिरहेको थियो । हामीलाई ज्यानको माया थिएन”, थापाले भन्नुभयो, “यति हुँदा पनि हामीहरुले न त बस्ती छोड्यौँ । न त युद्ध लड्न नै ।” थापा परिवारलाई मुख्य निगरानी तत्कालीन सरकार पक्षले गरिरहेको थियो । 

    कैयौँ पटक थापा परिवारकै कारण अन्य स्थानीयवासीले पनि सरकारी सेनाको हातबाट पिटाइसमेत खाएका छन् । 

     

    खोइ गणतन्त्र :

    देश आज परनिर्भर हुँदैछ । खेतबारी दिनानुदिन बाँझिदैछन् । अरूसँग मागिखाने चलनको अन्त्य हुन सकेको छैन भन्दै थापाले निषेधको राजनीति, गुटबन्दीको सरकारले गणतन्त्रलाई बाँधेर राखेकाले पनि यस्ता सबै कुराको अन्त्य भए मात्र गणतन्त्रको प्रत्याभूति हुन सक्ने बताउनुभयो ।

    एकीकृत नेकपा माओवादीको कैलाली जिल्ला उपाध्यक्षसमेत भएका थापा कैलालीको टीकापुरमा सफल कृषकका रुपमा परिचित हुनुहुन्छ । 

    अहिले टीकापुरमा उहाँले ‘दारु होइन, दूध खाऔँ’ को अभियान चलाउँदै आउनुभएको छ । परिवार नै कृषिमा संलग्न छ । थापाले भैँसी फार्मसँंगै खेतीपाती पनि गर्दै आउनुभएको छ । जेठको यो उराठलाग्दो समयमा थापाको बारी हरियाली छ । राजनीतिले मात्र सबै नहुने भन्दै राजनितीलाई पार्ट टाइमका रुपमा लिनुपर्ने थापाको मान्यता रहँदै आएको छ । 


    जनता इतिहास खोज्ने अवस्थामा :

    स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादीबाट टीकापुर नगरपालिका नगरप्रमुखको उम्मेदवारसमेत बन्नुभएका थापाले देशको वर्तमान अवस्था देखेर जनताले इतिहास खोज्ने अवस्थामा पुगिसकेको भन्दै फेरि पनि सङ्घर्ष र क्रान्ति हुनसक्ने बताउनु भएको छ । “हामी प्रचण्डपथबाट प्रभावित भएका थियौँ”, थापाले भन्नुभयो, “कहाँ हरायो प्रचण्डपथ ? कहाँ हरायो माक्र्सवाद ? कहाँ हरायो लेलीनवाद ? यसको प्रत्याभूति गणतन्त्रले गर्न सकेन । त्यसकारण पनि क्रान्ति हुन सक्छ ।”

    त्यस्तै, सशस्त्र द्वन्द्वको बेला विद्रोही पक्ष माओवादी कुटाइबाट अशक्त भएका पदमराज खनालले गणतन्त्र केही नेताहरुका लागि मात्र आएको भन्दै हिजोका दिनमा परिवर्तनका लागि लडेका शहिद, घाइते र बेपत्ताहरुका लागि नआएको बताउनु भएको छ । “अहिले देशमा तीन तहका सरकार छन् । देशमा परिवर्तन भएकै हो”, सामाजिक अगुवा पदमराज खनालले भन्नुभयो, “जनताले भएको परिवर्तनको महसुस गर्न सकेका छैनन् । परिवर्तनको महसुस सरकारले गराउन सक्नुपर्दछ ।”


    द्वन्द्वको समयमा बल्झेका घाउहरु अझै पुरिन :

    द्वन्द्वको समयमा बल्झेका घाउहरु अझै पुरिन नसकेको अवस्थामा सशस्त्र द्वन्द्वको बेला तत्कालीन माओवादीबाट आफू पनि पीडित भएको बताउनु भएका खनाल विगतका कुरा सम्झेर पुरिन लागेका घाउ बल्झाउनु भन्दा नयाँ ढङ्गले जीवनको शुरुआत गर्नु नै राम्रो हुने बताउनुहुन्छ । खनालका एक छोरा र एक छोरी सशस्त्र द्वन्द्वको बेला भूमिगत भएका थिए । 

    छोराछोरी दुवै भूमिगत हुँदा पनि विद्रोही पक्षबाट निर्घात कुटिएका खनाल राम्रोसँग हिँड्डुल पनि गर्न सक्नुहुन्न । “परिवर्तनका लागि तत्कालीन नेकपा माओवादीले चालेको कदमले राज्यसत्ताको अन्त्य गरी देशमा गणतन्त्रको स्थापना भएकै हो”, खनालले भन्नुभयो, “तर गणतन्त्रको महसुस आम जनताले गर्न सकेका छैनन् । 

    अहिलेको नेकपाबाट केही आशा लाग्दा कामहरु भएका छन् । तर घाइतेको घाउमा मल्हम लाग्न सकेको छैन । जनताले गरेको अपेक्षा पूरा हुन सकेको छैन ।” 


    गणतन्त्रका लागि नेतृत्व गर्नेहरु पूँजीवादी चिन्तनमा फसिसके :

    यस्ता कैयौँ घटनाहरु सशस्त्र द्वन्द्व र २०६२-६३ को जनआन्दोलनमा परेकाहरुका छन् । सबैको भनाइ एउटै छ, गणतन्त्रको पूर्ण प्रत्याभूति हुन सकेको छैन । हिजो गणतन्त्र प्राप्तिका लागि नेतृत्व गर्नेहरु पूँजीवादी चिन्तनमा फसिसकेका छन् । 

    देशमा भ्रष्टाचार, बलात्कार, हत्या हिंसाजस्ता सामाजिक कुरीति र कुसंस्कारले स्थान लिँदैछ । त्यसैले वर्तमान सरकारले आम नेपालीहरुलाई प्रत्याभूति हुने गरी गणतन्त्रको कार्यान्वयनलाई गम्भीरतापूर्वक लिनुपर्नेमा अगुवाहरुको भनाई छ ।

     

    जनचाहना अधुरै :

    गणतन्त्र आएसँगै देशको समृद्धि र विकासले फड्को मार्ने नेपाली मात्रको चाहना अझै अधुरो छ । 

    गणतन्त्र स्थापनाको एक दशकसम्म पनि देश रुमल्लिएको वास्तविकताले जनतालाई पिरोलेको छ । 

    देशमा राजतन्त्र हटेको ११ वर्ष भयो । आशा गरेजस्तो उपलब्धि अझै हासिल हुन सकेको छैन । यो तीतो यथार्थलाई धेरैले औँल्याउने गरेका छन् ।

     

    तीतो सत्य :

    कालीगण्डकी, त्रिशुली, कोशी लगायतका नदी किनारमा बालुवा चाल्नेदेखि घर निर्माण, सामान ओसारपसार, ईंटाभट्टा, ठूल्ठूला उद्योग कलकारखानामा दैनिक ज्यालादारीमा गुजारा गर्ने नागरिकलाई भने गणतन्त्र र सङ्घीयता जस्ता विषयले छोएको छैन । 

    पाल्पा रामपुर नगरपालिका वडा नं ५ बस्ने जमुना नेपाली गणतन्त्रको कुनै पनि अनुभूति नभएको बताउनुहुन्छ । उहाँलाई मजदूरी गरेर दैनिक पाँच सय रुपैयाँबाट छोराछोरीको पढाइ र घर खर्च चलाउनुपर्ने बाध्यता छ ।
    “गणतन्त्र आएपछि देशमा केही हुन्छ कि भन्ने आशा पलाएको थियो तर, एक दशक बित्या,े हामी मजदूरको अवस्था उस्तै छ,” उहाँले भन्नुभयो – “प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, सङ्घीयता सबै आयो । हाम्रो अवस्थामा खै कुनै परिवर्तन आएन ।” 

     

    गिट्टी नकुटे खाने बाटो छैन :

    रामपुर नगरपालिका–६ तिलकपुर बस्ने जुद्धबहादुर कुमाल र उहाँकी श्रीमती फुलमायालाई गिट्टी नकुटे साँझ बिहानको हातमुख जोर्ने अर्को उपाय छैन ।

    कालीगण्डकीका किनार, खोला छेउछाउ दिनभर गिट्टी कुटेर कुमाल दम्पतीले जीवन धान्दै आएको छ । 

     


    “गणतन्त्र आयो तर, हाम्रा दिन फेरिएनन्”

    सोही ठाउँकै ६२ वर्षीय तुल्सीराम कुमाल पनि निरन्तर गिट्टी कुट्ने गर्नुहुन्छ । खोला छेउछाउ पुगेर ढुङ्गा खोज्ने अनि, दिनभर शीतल छहारीमा बसेर गिट्टी कुट्ने । दिन गएको उहाँलाई पत्तो हुँदैन । गणतन्त्रले आफूलाई केही पनि नदिएको उहाँको ठम्याइ छ । 

    “लोकतान्त्रिक गणतन्त्र आयो त भन्छन्, खै हामी मजदूरी गरेर खानेलाई गणतन्त्रको कुनै महशुस नै हुनसकेको छैन,” उहाँले थप्नुभयो – “बूढेसकाल लागिसक्यो । गणतन्त्र आयो तर, हाम्रा दिन फेरिएनन् ।” उहाँहरु जस्ता धेरै मजदूरले गणतन्त्रबारे अनभिज्ञता प्रकट गरेका छन् । 

    नेपाली जनताको ठूलो र अथक प्रयासले देशमा गणतन्त्र स्थापना भएको छ । गणतन्त्र संस्थागत गरेर देशलाई आर्थिक समृद्धितर्फ लान सके जनताले साँच्चै परिवर्तनको अनुभूति गर्न पाउने रामपुरका राजनीतिकर्मी फणेश्वर गौतम बताउनुहुन्छ ।


    ईतिहास कोट्याउँदा :

    विसं २०४६ मा मुलुकमा निरङ्कुश पञ्चायत शासन हटाएर प्रजातन्त्र बहाली गर्ने काम भयो । दश वर्ष लामो सशस्त्र द्वन्द्वपछि २०६२–६३ मा भएको आन्दोलनले राजतन्त्र विस्थापन गरेर गणतन्त्र स्थापना गर्यो । यस आन्दोलनमा  प्राध्यापक, कर्मचारी, मजदूर सबैले आ–आफ्ना ठाउँबाट योगदान गरे ।

    विसं २०४६ को आन्दोलनदेखि गणतन्त्र स्थापनाको अभियानसम्म धेरै नेपालीले ज्यान गुमाउनुपर्यो ।

     

    निराश : 

    तर, जुन उद्देश्यले आन्दोलन भयो, जे जस्ता अपेक्षा राखिएका थिए, त्यस अनुरुप उपलब्धि नहुँदा निराश हुनुपरेको २०४६ सालमा रामपुरमा भएको जनआन्दोलनका नेतृत्वकर्ता एवं काँग्रेस महासमिति सदस्य विजयराज घिमिरे बताउनुहुन्छ ।

    सोही समयमा फागुन ७ गते देशव्यापी रुपमा प्रजातन्त्र स्थापनाका लागि जनआन्दोलन शुरु भयो । काठमाडौँ, चितवनको भरतपुर, जनकपुरको जदुकाहा, पाल्पाको रामपुरबाट पहिलो चरणको आन्दोलन शुरु भएको थियो । 
    हजारौँ जनता प्रजातन्त्रका लागि सडकमा निस्किए । 


    शहादत प्राप्त :

    रामपुरमा भएको आन्दोलनकै बीचमा सूर्यप्रसाद घिमिरेलाई गोली लाग्यो र उहाँले शहादत प्राप्त गर्नुभयो । एक दर्जन भन्दा बढी आन्दोलनकारी गोली लागेर घाइते भए । त्यतिखेर धेरैले भूमिगत जीवन बिताएका थिए । यसै आन्दोलनलाई गणतन्त्रको शुरुआती रुप पनि मान्ने गरिएको छ ।

    देखेका कुरा स्वतन्त्र रुपमा बोल्न नपाएका बखत २०४६ को आन्दोलनले नागरिकलाई स्वतन्त्र त बनायो तर, आन्दोलनमा ज्यान गुमाएका र घाइते परिवारले न त क्षतिपूर्ति पाए न त आन्दोलनबाट अपेक्षा गरिएको उपलब्धि नै हासिल भए ।

     

    सरकारसँग गुहार : 

    सरकारका तर्फबाट अहिलेसम्म कुनै सेवा सुविधा नपाएको शहीद सूर्यप्रसाद घिमिरेकी धर्मपत्नी राधादेवीेले गुनासो गर्नुभयो । 

    “देश र जनताका लागि लड्दै गर्दा श्रीमान्को ज्यान गयो, न त परिवारमा कुनै राहत, न त देशमा आर्थिक समृद्धि, हाम्रा दिन फेरिएनन्” – उहाँले दुःखेसो गर्नुभयो ।

     

    ‘अझै नि लोकतन्त्र आ’को छैन है’

    मजदूर, गरीब, दलित, विपन्न परिवारमा हाँसो र खुशी आएको दिन गणतन्त्रको अनुभूति मिल्ने उहाँ बताउनुहुन्छ ।

    ‘अझै नि लोकतन्त्र आ’को छैन है, जनताले भने झै भा’को छैन है, निरङ्कुश दासत्व हामीलाई चाहिँदैन गणतन्त्र नल्याई त मुक्ति पाइँदैन है’ 

    कलाकार बद्री पंगेनीको गीतले भने झै गणतन्त्र आएको लामो समयसम्म नेपाली जनतालाई गणतन्त्रको अनुभूत नहुनु भनेको आन्दोलनले सार्थकता नपाउनु हो । 

     

    मुलुक फड्को मार्न नसक्दा :

    राजतन्त्र बेहोरेको मुलुकका जनताले गणतन्त्र आइसकेपछि देशमा सुख, शान्ति र समृद्धि आउने र रोजगारी सिर्जना हुने  सबै नेपालीमा ठूलो आशा थियो तर, आशा अनुसार गणतान्त्रिक मुलुकले फड्को मार्न नसकेको आम नागरिकको बुझाइ छ ।

     


    ऐतिहासिक संविधानसभाको पहिलो बैठक

    विसं २०६५ साल जेठ १५ गते ऐतिहासिक संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गरी नेपाललाई सङ्घीय गणतान्त्रिक मुलुक घोषणा गरेको थियो । 

    जनआन्दोलन २०६२–६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवश मनाउने गरिन्छ । 

    गणतन्त्र आउनु अघि राष्ट्रप्रमुख हुन राजपरिवारमै जन्मिएका व्यक्ति हुनुपथ्र्यो तर, गणतन्त्रात्मक मुलुकमा हरेक नागरिकलाई राष्ट्रप्रमुख हुने अवसर छ । आज मुलुकमा सङ्घीय प्रणाली लागू भएको छ र नेकपाको नेतृत्वमा दुई तिहाईको बलियो सरकार अस्तित्वमा छ ।


    अझै धेरै अपेक्षा

    मुलुकमा गणतन्त्र आएको डेढ दशक पुग्न लागेको छ । जनताको ठूलो सङ्घर्ष र बलिदानको जगमा प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने क्रममा छ ।

    संविधानसभाबाट नयाँ संविधान जारी हुनु, सङ्घीय राज्य व्यवस्था बन्नु र सरकारको तीनै तहको निर्वाचन सम्पन्न भएर ४० प्रतिशत महिला स्थानीय तहमा नै निर्वाचित हुनु गणतन्त्रको उपलब्धि हुन् । 


    गणतन्त्रको उपलब्धि

    अढाई सय वर्षदेखिको राजतन्त्रलाई अवशेष नै नरहने गरी फालेर जनतामा सार्वभौमसत्ता स्थापित भएको हुँदा गणतन्त्रमा जनताको सर्वोच्चता कायम भएको छ । तैपनि गणतन्त्रप्रति नागरिकका अपेक्षा धेरै भएको हुँदा ती पूरा हुन अझै बाँकी छन् । 

     

    'समृद्ध नेपाल सुखी नेपाली' नारामै प्रश्नचिन्ह :

    सञ्जीवनी महिला विकास समूह झापाकी अध्यक्ष रेणुका डाँगीले गणतन्त्रमा नागरिक खुशी र सुखी हुँदै गएको बताउनुभयो । 

    उहाँले झुपडीका नागरिकले पनि परिवर्तनको अनुभूति हुने काम सरकारले अझै गर्न बाँकी रहेको बताउनुभयो । 

    “नाराले मात्र गणतन्त्र आएको महसुस गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउन महिला हिंसा शून्यमा ल्याउनुपर्छ, महिलाले समान अधिकारको उपभोग गर्न सहयोग पुर्याउने कानूनहरुको कार्यान्वयन गर्नुपर्छ ।”

     

    किताबबाट त हट्यो, व्यवहारमा तै :

    आदिवासी जनजाति महिला महासङ्घ झापाकी अध्यक्ष माया गुरुङले गणतन्त्र आएपछि महिलामाथिको विभेदकारी कानून संविधान र कानूनका किताबमा हटे पनि व्यवहारमा अझै कायम रहेको गुनासो गर्नुभयो । 

    ग्रामीण क्षेत्रका बासिन्दाले सम्मानित र आत्मनिर्भर अनुभूति गर्न नपाएको उहाँले बताउनुभयो । 

    सरकारले पछाडि परेका विभिन्न उत्पीडित समुदाय र विपन्न वर्गको आयस्तर बढ्ने खालका जनमुखी कार्यक्रम लिएर ग्रामीण क्षेत्रमा जानुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । 

     

    महिलाहरुको स्थानीय तहदेखि केन्द्रीय तहसम्मको पहुँच :

    कमल गाउँपालिकी अध्यक्ष मेनुका काफ्लेले जनताले ठूलो सङ्घर्षपछि ल्याएको गणतन्त्र फल्ने फुल्ने क्रममा रहेको बताउनुभयो । 

    उहाँले गाउँमै बसेर सरकार चलाउन पाउनु पनि गणतन्त्रकै उपलब्धि भएको उल्लेख गर्दै “गणतन्त्रकै कारण आज महिलाहरु हामी यो ठाउँमा छौँ”, उहाँले भन्नुभयो । 

    उहाँले गणतन्त्रकै कारण महिलाहरुको स्थानीय तहदेखि केन्द्रीय तहसम्म पहुँच पुगेको बताउँदै गणतन्त्रको सुन्दर पक्ष योभन्दा के हुन सक्छ, बजेट, योजना बनाउनेदेखि ऐन कानून बनाउने र कार्यान्वयनसम्म सबै काम स्थानीय तहमै महिलाले गरिरहेका छन् भन्नुभयो । 

     

    मजदूरको जीवन :

    नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले सरकारले तोकेको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन भयो भने मजदूरका लागि गणतन्त्रको सबैभन्दा ठूलो उपलब्धि हुने बताउनुभयो । 

    मुलुकमा ठूला ठूला राजनीतिक परिवर्तन भए पनि मजदूरको जीवन परिवर्तन हुन नसकेको बताउँदै उहाँले गणतन्त्र मालिकले मात्र होइन, मजदूरले पनि उपभोग गर्न पाउनुपर्छ भन्नुभयो ।

    गणतन्त्र प्राप्तिपछि गाउँगाउँमा सडक पुगेको, शिक्षा र स्वास्थ्य क्षेत्रमा ग्रामीण क्षेत्रका बासिन्दाको पहुँच पुगे पनि ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोणमा बिस्तारै परिवर्तन आउन थालेको ज्येष्ठ नागरिक सङ्घ झापाका सदस्य कृष्णप्रसाद उप्रेतीलदे बताउनुभयो ।


    झिनो आशा :

    “आगामी बजेटमा भत्ता बढाइदियोस्”, उहाँले भन्नुभयो, “बैंकबाट पैसा दिने हुँदा अधिकांश वृद्धावृद्धा लाइनमा बस्न नसकेर भत्ता बुझ्न आउँदैनन्, उनीहरुलाई स्थानीय सरकारले घरघरमा भत्ता पुर्याइदियोस् । अनि मात्र ज्येष्ठ नागरिकले गणतन्त्र आएको महसुस गर्नेछन् ।” 

    उहाँले गणतन्त्रको उपलब्धि भनेको स्वास्थ्य बीमा कार्यक्रममार्फत सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत गरिने एक लाखसम्मको निःशुल्क बीमा रहेको बताउनुभयो । 


    सामुदायिक विद्यालयहरुमा उल्लेख्य सुधार :

    मेचीनगर–१५ स्थित डिगेन आधारभूत विद्यालयकी प्रधानाध्यापक कृष्णकुमारी बानियाँले गणतन्त्रपछि सामुदायिक विद्यालयहरुमा उल्लेख्य सुधार भएको बताउनुभयो । 

    तल्लो तह र ग्रामीण क्षेत्रका बासिन्दासम्म शिक्षाको पहुँच पुगेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मुलुकमा तीनै तहमा स्थिर सरकार छ तर नीति, कार्यक्रम र कार्यशैलीमा गणतन्त्रको अनुभूति झल्कनुपर्छ ।”  

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast