आईतवार, भाद्र ८, २०७६
    सार्क

    भारत-पाकिस्तान सम्बन्धमा तनाव यथावत् ! मोदीले इमरानलाई सपथमा बोलाएनन्

    मंगलवार, १४ जेष्ठ २०७६, आहाखबर

    नयाँ दिल्ली, १४ जेठ 

    नरेन्द्र मोदीले बिहीबार दोस्रो कार्यकालका लागि पद तथा गोपनियताको सपथ लिँदैछन्।

    आफ्नो सपथ समारोहका लागि मोदीले सबै छिमेकी देशका राष्ट्र/सरकार प्रमुखलाई निम्ता पठाएका छन्। मोदीको निम्तो मान्न प्रधानमन्त्री केपी शर्मा ओली पनि बिहीबार नयाँदिल्ली जाँदैछन् ।

    मोदीको सपथ ग्रहणमा छिमेकी पाकिस्तानबाट भने पाहुना निम्त्याइएको छैन। यसअघि गत बिहीबार लोकसभा चुनावमा मोदीको भारतीय जनता पार्टीले बहुमत ल्याएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उनलाई बधाई  दिएका थिए। 

    मोदीसँग मिलेर यो क्षेत्रमा स्थायित्व  र विकासका लागि काम गर्ने इमरानको अपेक्षा थियो। मोदीले उनलाई ट्वीटरमार्फत नै धन्यवाद दिएका थिए।

    गत फेव्रुअरीमा कस्मिरको पुलवामा आतंकवादी हमला भएपछि भारत-पाकिस्तान सम्बन्धमा तनाव सुरू भएको छ। पछि भारतीय वायु सेनाले पाकिस्तानको बालाकोटमा हमला गरेपछि यी दुई परमाणु राष्ट्र युद्धमा जाने हुन कि भनेर चिन्ता बढेको थियो।

    पछिल्लो समय पाकिस्तान र भारतबीचको तिक्तताले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को शिखर सम्मेलन हुन सकेको छैन।

    सन् २०१६ मा पाकिस्तानको इस्लामावादमा हुने गरी तय भनिएको सार्कको १९औं शिखर सम्मेलन अनिश्चित छ।

    सार्कको भविष्य अनिश्चित भएका बेला भारतले भने पाकिस्तान सदस्य नभएको अर्को क्षेत्रीय संगठन विम्स्टेकमा जोड दिइरहेको छ। यसपालि मोदीले विम्स्टेकका सातै सदस्य राष्ट्रलाई आफ्नो सपथ ग्रहणमा बोलाएका छन्।

    यसअघि सन् २०१६ मा भारतमा भएको ब्रिक्स सम्मेलनका क्रममा  पनि  विम्स्टेकका सरकार/राष्ट्र प्रमुखलाई बोलाइएको थियो।  

      

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast