आईतवार, भाद्र ८, २०७६
    प्रेरक प्रसँग

    सफलताको खोजीमा हुनुहुन्छ ? यसो गर्नुहोस

    सोमबार, १३ जेष्ठ २०७६, आहाखबर

    उहिल्यै गुरुकुलीय परम्पराको एउटा गुरुकुलमा छात्रहरूको अध्ययन पूरा भयो । त्यसपछि गुरुकुलका आचार्यले आफ्ना शिष्यको परीक्षा विभिन्न तरिकाबाट लिने गर्थे । उनीहरू अहिलेको जस्तो प्रश्न र उत्तरको शैलीमा आफ्ना शिष्यको परीक्षा लिने गर्दैनथे । 

    ‘मैले तिमीहरूलाई अकल्पनीय र कठिन काम नै सुम्पेको थिएँ । तर विवेक, धैर्य, लगन, निष्ठा तथा निरन्तर प्रयासले कठिन कार्य पनि सम्भव छ । यसलाई तिमीहरूका साथीले प्रमाणित गरिदिएका छन् । त्यसैले जीवनमा निरन्तरको परिश्रमबाट कहिल्यै विमुख नहुनू । जीवनमा अवश्यै सफलता पाउनेछौ ।’

     

    परीक्षाका लागि उनीहरू आफ्ना शिष्यलाई कुनै न कुनै गम्भीर रहस्यले भरिएका काम गर्न लगाउँथे । त्यस्तै एउटा गुरुकुलका आचार्यले पनि आफ्ना शिष्यको परीक्षा लिन चाहे । परीक्षा लिने उद्देश्यले उनले आफ्ना सबै शिष्यलाई बोलाए । उनले भने, ‘अब तिमीहरू सबैको शिक्षा पूरा भयो । अब तिमीहरू आ–आफ्नो जन्मभूमि फर्केर यहाँ सिकेको शिक्षाको उपयोग गरी जीवनलाई सार्थक बनाउन सक्छौ । तर, जानुभन्दा अगाडि सबैले मेरो एउटा काम गरिदिन्थ्यौ कि भनेर आज मैले तिमीहरूलाई यहाँ बोलाएको हुँ ।’ 

    आचार्यको भनाइ मुखबाट निस्कँदा ननिस्कँदै शिष्यहरूले एक स्वरमा भने, ‘हजुरका कुनै पनि काम हामी ज्यान दिएर पूरा गर्न तयार छौँ । आज्ञा होस् गुरुदेव ! हामीले के गर्नुप¥यो ?’ आफ्ना शिष्यको यस्तो अठोट सुनेपछि मुसुमुसु हाँस्दै आचार्यले सबै शिष्यलाई एउटा–एउटा बाँसको टोकरी दिए । अनि, आचार्यले भने, ‘अब तिमीहरू सबैले यसमा नदीबाट पानी भरेर ल्याओ र त्यसबाट विद्यालय भवनको सरसफाइ गर ।’

    आचार्यको आदेश सुनेर सबै शिष्य अलमल्लमा परे । बाँसको टोकरीमा पानी ल्याउन कसरी सम्भव छ ? उनीहरूले केही सोच्नै सकेनन् । तर, उनीहरूले आचार्यसित कुनै सवाल जवाफ नगरी खुरुक्क सो बाँसको टोकरी उठाए र नदीतर्फ गए । सबैले टोकरीमा पानी उबाउने सक्दो प्रयास गरे । तर, टोकरीका मसिना प्वालबाट सबै पानी चुहिएर एकैछिनमा सिद्धिहाल्थ्यो । अन्त्यमा हार भएर शिष्यहरू आश्रम फर्किए ।

    हतास शिष्यहरूले फर्केर आचार्यसामु आफूहरू असफल भएको बताउँदै क्षमा मागे । तर, तीमध्ये एक छात्र आफ्नो कर्तव्यप्रति अत्यन्तै गम्भीर थिए । उनका मनमा आफ्ना गुरुप्रति पूर्ण निष्ठा र भक्तिभाव थियो । उनी दिनभर यही सोचेर बारम्बार जल भर्ने गरिरहे, ‘गुरुदेवले जब यस्तो असम्भव जस्तो लाग्ने आज्ञा दिनुभएको छ भने यसको कुनै न कुनै अर्थ त अवश्यै होला ।’ 

    यही सोचेर बिहानदेखि बेलुकासम्म उनले लगातार पानी भरिरहे । पानीमा पर्दापर्दा चिसोले बाँसको टोकरीका चोया फुलिसकेका थिए । जसले गर्दा टोकरीका छिद्र बन्द भइसकेका थिए । जसले गर्दा अब त्यसमा मजाले पानी अडिने भइसकेको थियो । अतः साँझपख उनी त्यही टोकरीमा पानी लिएर आश्रम फर्किए ।

    उनले बाँसको टोकरीमा पानी बोकेर आएको देखेपछि गुरुले सम्पूर्ण शिष्यलाई जम्मा पारे र अथक परिश्रमको महत्व बुझाउँदै भने, ‘मैले तिमीहरूलाई अकल्पनीय र कठिन काम नै सुम्पेको थिएँ । तर विवेक, धैर्य, लगन, निष्ठा तथा निरन्तर प्रयासले कठिन कार्य पनि सम्भव छ । यसलाई तिमीहरूका साथीले प्रमाणित गरिदिएका छन् । त्यसैले जीवनमा निरन्तरको परिश्रमबाट कहिल्यै विमुख नहुनू । जीवनमा अवश्यै सफलता पाउनेछौ ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast