आईतवार, भाद्र ८, २०७६
    घुमघाम

    नेपाल भ्रमण वर्ष सफल पारौँ, बन्दको विकल्प खोजौँ

    सोमबार, १३ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, १३ जेठ ।
    सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० मा नेपाल भ्रमण अभियान संचालन गर्ने उल्लेख गरेको छ ।  ०७४ साउन २९ गते नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणाअनुसार नै सरकारले कार्यक्रममा समावेश गरेको हो ।

     

    तर, बन्द, हडतालजस्ता गतिविधिले पर्यटन अभियान सफल नहुने चिन्ता सरोकारवालाको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव आङपेम्बा शेर्पा वार्ताको माध्यमबाट समस्याको समाधान गरी अगाडि बढ्नुपर्ने बताउनुहुन्छ । ‘बन्दको असर पर्यटन क्षेत्रमा धेरै पर्छ । विशेषगरी पदयात्रामा पर्छ । राजनीतिक माग राजनीतिक ढंगले पुरा गर्नुपर्छ । यदि बेलैमा सोचिएन भने यसले दीर्घकालिन असर पर्नेछ ।’ उहाँले थप्नुभयो, ‘नेपालमा फेरि बन्द हुन थाल्यो, चार जना मान्छे मरे जस्ता समाचार विदेशी मिडियाले बनाइसके ।’


     

    विगतमा पनि बन्द, हडतालका कारण पर्यटन व्यवसाय फस्टाउन सकेको थिएन् । पर्यटकहरू शान्ति, सुरक्षा चाहन्छन । बन्द हुने, मान्छे मर्ने स्थितिमा कोही पनि धुम्न आउँदैनन् । आएका पनि भ्रमण छोट्याएर फर्कन्छन ।
     

    शेर्पाका अनुसार विशेषगरी पर्यटक हिमाल हेर्न आउँछन । त्यसका साथसाथै लुम्बिनी, पशुपति लगायतका स्थानमा आउछन । उनीहरूको चाहना सुरक्षित, शान्तिपूर्ण वातावरण होस भन्ने नै हुन्छ । सरकारले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नुपर्ने र  बन्दकर्ताले पनि विकल्प रोज्नुपर्ने शेर्पाको सुझाव छ ।

    संख्याका साथै गुणस्तर पनि हेरौँ 
    भ्रमण वर्षको तयारी भइरहँदा संख्याका साथै गुणस्तरमा पनि ध्यान दिनुपर्ने तर्क शेर्पाको छ । २०१८ मा ११ लाख पर्यटकले नेपाल भ्रमण गरे भन्ने तथ्यांक सरकारी निकायले निकाले । तर, होटल व्यवसायीकाअनुसार त्यतिको संख्यामा होटलमा बसेनन्, ट्राभलकाअनुसार घुम्नका लागि त्यति धेरैले टिकट पनि काटेनन् । व्यवसायीहरूकाअनुसार ठमेलको होटलमा विदेशीले भन्दा नेपालीले धेरै खर्च गर्छन ।

    निजी क्षेत्रकै भरमा नेपालको पर्यटन 
    नेपालको पर्यटन निजी क्षेत्रकै भरमा चलेको छ । सरकारले छुट्याएको बजेट खर्च गर्ने गरेपनि प्रभावकारी कदम चाल्न सकेको छैन । पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्र आफ्नै खर्चमा देश विदेश पुग्नुपर्ने अवस्था छ । 

     

    सरकारले विषय नबुझेको र बुझ्न पनि नचाहेको शेर्पाको दावी छ । उहाँ भन्नुहुन्छ, ‘पर्यटनको नाममा बजेट त्यतिकै सिध्याउँछन । निजी क्षेत्रकै कारण अहिलेको पर्यटन प्रवद्र्धन भएको हो । कर तिर्नुपर्छ भन्ने छ तर ट्रेकिङ व्यवसाय फस्टाउन सकेको छैन । निजी क्षेत्र विदेश पुगेर प्रचारप्रसार गर्दै पर्यटन भित्र्याउन सक्नुपर्छ । सरकारले निजी क्षेत्रलाई महत्व नै दिएको छैन । सरकारी अधिकारीले सवै कुरा बुझ्न खोज्दैनन् र बुझेका पनि छैनन् ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast