मंगलवार, श्रावन ७, २०७६
    सार्क

    भारतीय निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, भाजपालाई भारी बहुमत, यी कलाकारलाई जनताले पत्याए !

    भारतीय निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, भाजपालाई बहुमत, यी कलाकारलाई जनताले पत्याए !

    शुक्रबार, १० जेष्ठ २०७६, आहाखबर

    नयाँ दिल्ली, १० जेठ

    भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले पहिला भन्दा बढी सिटमा जित हासिल गरेको छ । 

    सन् २०१४ मा भन्दा २२ सिट बढीमा विजयी हुदै भाजपा एक्लैले ३०३ सिट ल्याएको निर्वाचन आयोगले शुक्रबार घोषणा गरेको छ । 

    भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए)ले भने ३५२ सिट हाँसिल गरेको आयोगका अधिकारीहरुले जनाएका छन् । भाजपाको राष्ट्रवादी तथा हिन्दुधर्मवादी नाराले भारतीय नागरिकबीच लोकप्रियता पाएकोले उसले एकछत्र जीत निकाल्न सफल भएको कतिपय भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

    एनडीए गठबन्धनमा रहेका अन्य दलहरु मध्ये शिव सेनाले १८, जनता दल युनाईटेड (जेडियु)ले १६, लोक जनशक्ति पार्टीले छ, अकाली दल र अप्ना दलले दुई÷दुई सिट तथा झारखण्ड विद्यार्थी संघ, लोकतान्त्रीक पार्टी, मिजो नेशनल फ्रन्ट र नेश्नल पिपल्स पार्टीले एक एक सिट जितेका छन् । त्यसैगरी भाजपाको समर्थन रहेका एक जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।

    विपक्षीहरूको गठबन्धनतर्फ भने भारतीय राष्ट्रिय काँग्रेसले ५२ सिटमा मात्रै जित हासिल गरेको छ । अघिल्लो पटकको लोकसभा निर्वाचनको तुलनामा यो पनि ८ सिट बढी भएको निर्वाचन आयोगले जनाएको छ । 

    काँग्रेस नेतृत्वको युपिए गठबन्धनले कुल ८७ निर्वाचन क्षेत्रका विजयी भएको छ । यस गठबन्धनमा आवद्धमध्ये द्रविदा मुन्नेत्र काझागम (डिएमके)ले २३, नेशनलिष्ट कंग्रेस पार्टी (एनसिपी)ले ५, इण्डियन यूनियन मुस्लीम लिगले तीन सिट जितेका छन् । 

    त्यसैगरी रिभोलुसनरी सोसलिष्ट पार्टी (आरएसपी), केरला कंग्रेस —एम (केसी—एम), झारखण्ड मुक्ति मोर्चा (जेएमएम) र विदुथलाई चिरुथाइगल काट्ची (भिसिके)ले एक एक सिटमा जित हासिल गरेका छन् । 

     

    भारतीय कलाकार, केहीलाई जनताले पत्याए

    भारतको तल्लो सदन लोकसभा निर्वाचनमा उम्मेदवार बनेका बलिउडका केही चर्चित कलाकारहरु विजय भए भने कोही पराजय भएका छन् । 

    कलाकारको रुपमा जनताको मनमा बस्न सफल भएका कतिपय कलाकार जनताबाट चुनिएर सांसद हुन सफल भएका छन् भने केही असफल भएका छन् ।

     

    अभिनेता सनी देओल :

    अभिनेता सनी देओल पहिलो पटक राजनीतिक मैदानमा उत्रिएका थिए । उनी भारतीय जनता पार्टीमा केही महिना अघि प्रवेश गरेर सोही पार्टीबाट पञ्जावको गुरदासपुर क्षेत्रका उम्मेदवारी दिएका थिए  । 

    सनीले कांग्रेसका सुनीलकुमार जाखडलाई ७७ हजार १०७ मतले पराजित गर्दै विजय भएका छन् ।  विपक्षी दल कांग्रेसले राम्रो नतिजा ल्याएको सो प्रदेशमा सनी भने भाजपाको तर्फबाट विजयी भएका छन् । 

     

    नायिका हेमा मालिनी :

    कुनै समय ‘ड्रिम गर्ल’ उपनाम पाएकी नायिका हेमा मालिनी पनि भारतीय जनता पार्टीबाटै निर्वाचित भइन् । उनी उत्तर प्रदेशको मथुराबाट उम्मेदवार भएकी थिइन् ।

    उनले राष्ट्रिय लोकदल तथा गठबन्धन उम्मेदवार नरेन्द्र सिंहलाई २ लाख ९३ हजार ४७१ मतले पराजित गरिन् । 


    अभिनेता राज बब्बर

    बलिउडका अर्का चर्चित अभिनेता राज बब्बरको भने पराजय भएको छ ।  लामो समयदेखि राजनीतिमा सक्रिय उनी कांग्रेसका उत्तर प्रदेश अध्यक्षसमेत हुन् । 

    आगराको फतेहपुर सिक्री क्षेत्रबाट उम्मेदवार भएका उनी भारतीय जनता पार्टीका उम्मेदवार राजकुमार चहरसँग ४ लाख ९५ हजार ६५ मतले पराजित भए ।


    नायिका उर्मिला मातोंडकर

    यसैगरी कांग्रेस पार्टीको तर्फबाट उम्मेदवारी पाएकी बलिउडका चर्चित नायिका उर्मिला मातोंडकर हालै राजनीतिमा प्रवेश गरेकी थिइन् । उनी कांग्रेस पार्टीबाट नर्थ मुम्बई क्षेत्रमा उम्मेदवार बनेकी थिइन् । 

    उनी पनि नराम्ररी पराजित भइन् । उनलाई भारतीय जनता पार्टीका गोपाल शेट्टीले ४ लाख ६५ हजार २४७ मतले पराजित गरे ।

     

    अभिनेत्री किरण खेर :

    भाजपाबाटै चन्डीगढ क्षेत्रबाट उम्मेदवार बनेकी चलचित्र अभिनेत्री किरण खेरले कांग्रेसका वरिष्ठ नेता पवनकुमार बंशललाई ४६ हजार ९७० मतले पराजित गरिन् । 

    अभिनेत्री खेर भारतीय जनता पार्टीबाट निर्वाचित भएकी हुन् । उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

     

    अभिनेत्री जयाप्रदा :

    अभिनेत्री जयाप्रदा हालै भारतीय जनता पार्टीमा प्रवेश गरेकी थिइन् । यसअघि समाजवादी पार्टीमा रहेर राजनीति गर्दै आएकी उनी भारतीय जनता पार्टीबाट रामपुर क्षेत्रमा उम्मेदवार बनेकी थिइन् । 

    उनी समाजवादी पार्टीका नेता आजम खानसँग एक लाख ९ हजार ९९७ मतले पराजित भइन् ।


    अभिनेत्री मुनमुन सेन आसनसोल :

    बंगाली अभिनेत्री मुनमुन सेन आसनसोल निर्वाचन क्षेत्रमा चर्चित गायक बाबुल सुप्रियोसँग पराजित भएकी छन् ।

    त्रिणमुल कांग्रेसबाट उम्मेदवार भएकी मुनमुन भारतीय जनता पार्टीका उम्मेदवार सुप्रियोसँग करिब दुई लाख मतले पराजित भएकी हुन् । 

     

    अभिनेता शत्रुघन सिन्हा :

    भारतीय जनता पार्टीमा लामो समय राजनीतिक जीवन बिताएर हालै कांग्रेसमा प्रवेश गरेका अभिनेता शत्रुघन सिन्हाका लागि दल परिवर्तनले पराजयतर्फ लग्यो  । उनले पटना साहिब निर्वाचन क्षेत्रमा भारतीय जनता पार्टीका उम्मेदवार रविशंकर प्रसादसँग दुई लाख ८४ हजार मतले पराजय हुनु परेको छ । 

    अभिनेता शत्रुघन सिन्हा भारतीय जनता पार्टीको उम्मेदवार भई सन् २००९ र २०१४ मा विजय हुनु भएको थियो । 


    अभिनेता प्रकाश राज :

    दक्षिण भारतीय फिल्म उद्योग तथा बलिउडका चर्चित अभिनेता प्रकाश राज बेंगलुरु सेन्ट्रल क्षेत्रबाट निर्दलीय उम्मेदवार बनेका थिए । 

    उनी भाजपाका पीसी मोहनसँग ५ लाख ७३ हजारभन्दा बढी मतले पराजित भएका छन् ।

     

    अभिनेता रवि किशन :

    भोजपुरी नायक रवि किशनले उत्तर प्रदेशको गोरखपुर क्षेत्रबाट उम्मेदवारी दिएका थिए । 

    भारतीय जनता पार्टीबाट उम्मेदवार बनेका उनी ३ लाख एक हजार ६६४ मतान्तरले विजयी भएका छन् ।

     

    अभिनेता तथा गायक मनोज तिवारी :

    भोजपुरी अभिनेता तथा गायक मनोज तिवारी नर्थ इस्ट दिल्लीबाट भारतीय जनता पार्टीको उम्मेदवार बनेका थिए ।

    उनले कांग्रेसकी दिग्गज नेतृ शिला दीक्षितलाई साढे तीन लाखभन्दा बढी मतले पराजित गरे ।


    अभिनेत्री सुमनलता :

    अभिनेत्री सुमनलताले कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीका छोरा निखिललाई पराजित गरिन् । सुमनलता निर्दलीय उम्मेदवार हुन् । 

    उनले एक लाख २५ हजारभन्दा बढी मतले निखिललाई पराजित गरेकी हुन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast