आईतवार, असोज ५, २०७६
    यातायात

    पोखरा–देहरादुन बस सेवा सञ्चालनमा, भारतीय पर्यटकको सङ्ख्या बढ्ने विश्वास

    बुधबार, ८ जेष्ठ २०७६, आहाखबर

    कास्की, ८ जेठ ।

    पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बुधबारदेखि पोखराबाट भारतको उत्तराखण्डको राजधानी देहरादुनसम्म सिधा बस सेवा सञ्चालन गरेको छ । समितिअन्तर्गतको मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले विगत १२ वर्षदेखि यहाँबाट दैनिक भारतको राजधानी नयाँदिल्लीसम्म बस सञ्चालन गर्दै आएकामा देहरादुनसम्म थप सेवा शुरु गरेको हो । 

    सो सेवाको शुभारम्भ गर्दे समितिका अध्यक्ष एनकुमार साईले सिधा बस सेवा सञ्चालनबाट भारतीय पर्यटकलाई नेपाल भ्रमणमा आउन सहज हुने र पोखराको पर्यटन प्रवद्र्धनमा योगदान मिल्ने बताउनुभयो । “पोखराबाट देहरादुनसम्मको सिधा सेवा सञ्चालनबाट दुवै देशका नागरिकले फाइदा लिन सक्नेछन्, यसबाट पोखरा तथा गण्डकी प्रदेशमा भारतीय पर्यटकको सङ्ख्या बढ्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । 

    पोखराबाट नारायणगढ, बुटवल, महेन्द्रनगर, वनबास, रुद्रपुर, हरिद्धार हुँदै देहरादुनसम्म बस सञ्चालन गरिने र बुधबार पोखराबाट छुटेको बस शनिबार देहरादुनबाट सोही बाटो हुँदै फर्किने समितिका महासचिव योगेन्द्रबहादुर केसीले बताउनुभयो । 

    वातानूकुलितसहितको बसको भाडा एकतर्फी रु चार हजार ३२० रहेको उहाँले जानकारी दिनुभयो । 

    सेवा सञ्चालनबाट भारतका विभिन्न तीर्थस्थलमा जाने नेपालीलाई पनि सहज हुने र भारतको हरिद्धार, ऋषिकेश तथा नेपालको मुक्तिनाथसम्म आउने जाने धार्मिक पर्यटक लाभान्वित हुने ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले बताउनुभयो । 

    देहरादुनमा करीब आठ लाख नेपाली भाषी बसोबास गर्दै आएका र सेवा सञ्चालनबाट उनीहरु पनि लाभान्वित हुने विश्वास समितिको छ । 

    समितिअन्तर्गत सञ्चालित एक हजार २०० दिवा तथा रात्रि सेवाका बसले देशका विभिन्न भागमा यात्रुलाई सेवा प्रदान गर्दै आएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast