मंगलवार, कार्तिक ५, २०७६
    प्रेरक प्रसँग

    गुरु नानकको अनौठो आशीर्वाद

    बुधबार, ८ जेष्ठ २०७६, आहाखबर
    गुरु नानक विभिन्न गाउँ–गाउँको भ्रमण गरिरहन्थे । एकपटक उनी आफ्ना शिष्यसँग एउटा गाउँमा पुगे । त्यहाँका मानिस धेरै उदार र सज्जन थिए । उनले गुरु नानकको खुब सेवा गरे । जाने वेलामा प्रसन्न भई गुरु नानकले गाउँलेलाई आशीर्वाद दिए, ‘तिमीहरूको गाउँ छिटै उजाड होस् र तिमीहरू सबै अलग–अलग गाउँमा गएर बस्नुपरोस् ।’ 
     
    मैले राम्रो मानिसको बस्तीलाई उजाडियोस् भनेँ, ताकि उनीहरू चारैतिर फैलिऊन् र केही राम्रो कुरा सिकाऊन् । नराम्रा मानिस एउटै गाउँमा बसून्, ताकि उनीहरूले आफ्नो दुर्गुणको प्रचार गर्न नसकून् 
     
    गुरु नानकका शिष्यलाई उनको यस्तो भनाइप्रति आश्चर्य लाग्यो, तर उनीहरूले मुख फोरेर केही सोधेनन् । सो गाउँबाट बिदा भएर जाँदा उनीहरू फेरि अर्को गाउँमा पुगे । त्यहाँका मानिस धेरै स्वार्थी र उपद्रवी थिए । त्यहाँका मानिसले उनीहरूको आदर सत्कारको त कुरै छोडौँ, कसैले उनलाई बस्न आग्रहसमेत गरेनन् । केही मानिसले त उनलाई ढुंगाले समेत हिर्काए । 
     
    यति भए पनि उनले ती गाउँलेलाई आशीर्वाद दिए, ‘तिमीहरूको गाउँ आबाद रहोस्, र तिमीहरू सदा यसै गाउँमा बस्नू ।’ उनको यस्तो आशीर्वाद सुनिसकेपछि यसपटक भने उनका शिष्यहरू चुप लागेर बस्नै सकेनन् । उनीहरूले सोधे, ‘गुरु, जुन गाउँमा तपाईंको स्वागत सत्कार भयो, त्यहाँका मानिसलाई तपाईंले गाउँ नै उजाड हुने श्राप दिनुभयो र जुन गाउँका मानिस असभ्य छन्, उपद्रवी छन्, उनीहरूलाई चाहिँ तपाईंले आबाद हुने आशीर्वाद दिनुभयो । यस्तो किन ? हामी बडो अलमलमा प¥यौँ गुरु ।’
     
    शिष्यहरूको जिज्ञासा सुनिसकेपछि गुरु नानकले उनीहरूलाई बुझाउँदै भने, ‘राम्रा मानिसले जहाँ गए पनि राम्रो कुरा सिकाउँछन् । यदि नराम्रा मानिस आफ्नो गाउँ छाडेर अर्को गाउँमा गए भने उनीहरूले नराम्रो कुरा नै सिकाउँछन् । त्यस्तो भयो भने नराम्रो मात्र फैलिनेछ । यसैले मैले राम्रो मानिसको बस्तीलाई उजाडियोस् भनेँ, ताकि उनीहरू चारैतिर फैलिऊन् र केही राम्रो कुरा सिकाऊन् । नराम्रा मानिस एउटै गाउँमा बसून्, ताकि उनीहरूले आफ्नो दुर्गुणको प्रचार गर्न नसकून् ।’ गुरु नानकका यस्ता कुरा सुनेर शिष्यहरू दंग परे ।
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast