मंगलवार, भाद्र ३१, २०७६
    ओएमजी Omg!

    नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले नै लगाउँछन् आगो

    सोमबार, ६ जेष्ठ २०७६, आहाखबर
    डडेल्धुरा, ६ जेठ ।
     
    डडेल्धुराका सामुदायिक वनमा आगो लाग्नेक्रम शुरु भएको छ । सुक्खायाम र गर्मी बढेसँगै जिल्लाका करीब दर्जनभन्दा बढी सामुदायिक र सल्लेरी वनमा आगो लाग्ने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । 
     
    जिल्लाका त्रिशूल, असुर्पा, अजयमेरु, भद्रपुर र कैलपालमाण्डौँका सामुदायिक वनमा र अमरगढी नगरपालिका– १० राई बस्ती नजिकको वनका साथै महाभारत र चुरे वन क्षेत्रमा समेत आगो लाग्ने गरेको छ । 
     
    साथै जिल्लाका अन्य सामुदायिक तथा सरकारी वनमा समेत आगो लाग्ने गरेको वनमा आबद्ध पदाधिकारी बताउँछन् । स्थानीय उपभोक्ताको लापरवाहीका कारण जङ्गलमा बढी आगलागी हुने गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत प्रकाश जोशीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “चुरोट, बिँडी खाएर जथाभावी फाल्ने तथा अन्य लापर्वाहीले वनमा आगलागी हुने गर्छ  ।” नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ता आफैँ आगो लगाउने गर्दछन् ।
     
    निजी खोरिया, गजाल (घास काट्नका लागि बनाइएको क्षेत्र) मा उपभोक्ताले नयाँ घाँसका लागि आगो लागाउने र त्यही आगो सुक्खायाममा नियन्त्रमा ल्याउन नसक्दा अन्य वनसमेत विनाश हुने गर्दछन् ।
     
    गाईगोरु चराउन सजिलो हुने भन्दै सल्लेरी वनमा उपभोक्ताले नै आगो लगाउँछन् तर अत्यधिक स्याउला र सोत्तरका कारण आगो नियन्त्रण गर्न नसक्दा वन विनाश हुने गर्दछ । आगो लाग्दा भिरालो र घना जङ्गलका स्याउला, सोत्तर र हावाका कारण फैलने भएकाले अन्य वन पनि विनाश हुँदै आएको छ ।
     
    सुक्खायाममा सल्लेरी वनमा आगो लगाउनेक्रम स्थानीय बासिन्दाबाटै बढी हुने गरेको तथ्य फेला परेको यसबारे जनचेतना जगाउँदा पनि सार्थकरूप लिन नसेको रेञ्जर  धनबहादुर झुकालको भनाइ छ । 
     
    आगलागीका कारण साना बुट्यान र नयाँ बिरुवासमेत विनाश हुन्छ । 
     
    जिल्लामा करीब ६०० सामुदायिक र कबुलियती वन छन् । हरेक वर्ष गर्मीयाममा जिल्लाका प्रायजसो सल्लेरी वन र अन्य वनमा आगलागीका कारण वन विनाश हुँदै आएको छ । 
     
    जिल्ला वन कार्यालयका अनुसार एक लाख ५३ हजार आठ हेक्टर जमीनमध्ये एक लाख १५ हजार  १५९ हेक्टर वन जङ्गल रहेको छ । वर्षेनी यहाँका ५० प्रतिशतभन्दा बढी वनमा आगो लाग्ने गर्दछ ।
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast