मंगलवार, भाद्र ३१, २०७६
    राज्य-समाज

    चर्चित कलाकार धुर्मुसले सिकाएको समाजसेवा

    सोमबार, ६ जेष्ठ २०७६, आहाखबर

    काठमाडौं, ६ जेठ ।

    चर्चित हास्यकलाकार सिताराम कट्टेल (धुुर्मुुस) पछिल्लो समय समाजसेवामा समर्पित हुनुभएको छ । बाल्यकालदेखि नै सामाजिक काममा लागेको बताउने धुर्मुस २०७२ सालको भूकम्पपछि खुला रुपमा सामाजिक सेवाको मैदानमा उत्रिनुभयो । धुर्मुस–सुन्तली फाण्डेशनमार्फत उहाँले एकीकृत नमुना पहरी बस्ती, एकीकृत नमुना गिरानचौर बस्ती, एकीकृत नमुना मुसहर बस्ती, एकीकृत नमुना सन्तपुर बस्ती, वीर अस्पताल सफाई परियोजना सम्पन्न गरिसक्नुभएको छ ।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र नमुना नेपाल चालु योजनामा छन् । अहिले सम्पूर्ण ध्यान रंगशाला निर्माणमा लगाएको धुर्मुस बताउनुहुन्छ । रंगशाला निर्माणपछि नमुना नेपालको काम अघि बढाउने तयारी फाउण्डेशनको छ । रंगशाला निर्माणको काम तोकिएको समय (२०७७ माघ १६ भित्र) मै सम्पन्न गर्ने दावीका साथ धुर्मश मैदानमा उत्रिनुभएको छ । धुर्मुसलाई धर्मपत्नी तथा फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’सहितका अभियन्ताले साथ दिनुभएको छ । २० बिगाहा ८ कट्ठामा निर्माणाधिन रंगशालाको लागत ३ अर्ब अनुमान गरिएको छ । धुर्मुसको समाजसेवा यात्रा उहाँकै शब्दमा ः

     

    समाजसेवामा कलाकारिताको सहयोग

    मेरो दिमागमा कलाकारिता मात्र थिएन । चित्र बनाउथेँ, स्केच तयार पार्थेँ । मेरो जन्मभूमिका मानिसले मलाई किताबको रुपमा लिनुहुन्थ्यो र गाउँका भाइबहिनीलाई सितारामबाट सिक भन्नुहुन्थ्यो । म छरछिमेकको पनि काम गर्थेँ । गाउँमा सहयोगी नै थिएँ । कोही विरामी पर्दा अस्पताल पुराउने मै हुन्थेँ । हाम्रो खेत रोपिसकेपछि हलो जोत्न अरुकोमा पनि पुग्थेँ ।

    सानैदेखि सामाजिक सोचाइ थियो । काठमाडौँ आइसकेपछि बाच्नका लागि केही संघर्ष गरियो । कलाकारितामा प्रवेश गरेपछि धेरै सामाजिक काम गरेका थियौँ । मृगौला पीडित, बाढिपहिरो पीडितलगायतको लागि निःशुल्क कार्यक्रम पनि गथ्र्यौँ । कुनै दिन देश र समाजका लागि देखिने काम गर्छु भन्ने लागिरहन्थ्यो ।

    कलाकारिताले समाजसेवामा ठूलो सहयाेग गर्याे । यदि हामी कलाकार थिएनौँ भने अपिल, अनुरोध, आह्वान गर्दा मानिसहरूको यसरी सहयोग हुँदैनथियो कि ? हामी त अभियानकर्ता हौँ । सहयोगी, शुभचिन्तकहरूबाटै सवै काम सम्पन्न भएका हुन् ।

     

    डालो थापेर पैसाको जोहो

    भूकम्प जानुअघि सरकारले हामी (धुर्मुस–सुन्तली) लाई सरसफाइ दूत नियुक्त गरेको थियो । सरसफाइ दूत भएपछि मनमा के लाग्यो भने–‘यो देशमा आफ्नो पदीय जिम्मेवारी मात्रै बहन गर्दै काम गरिदिएको भए मुलुक बन्थ्यो । बन्छ । हामीलाई सम्मान होएन, राज्यले जिम्मेवारी दिएको हो ।’ जिम्मेवारी पुरा गर्न हामी मैदानमा उत्रियौँ । मेची–काली सरसफाइ अभियानमा जुट्यौँ ।

    ८ महिने छोरीलाई छाडेर देश दौडाहमा गएका थियौँ । बाटोको फोहोर सफा गर्ने मात्र नभइ दिमागी फोहोर पनि सफा गर्ने अभियानमा हामी थियौँ । दिमागको फोहोर हटाऔँ, सकारात्मक सोच राखौँ भनेर बस्तीबस्ती गयौँ । विडम्बना, जिल्ला खुल्ला दिशामुक्त घोषणा गरिएको छ तर राजमार्गमा कहि पनि चर्पी छैन । हामीलाई के लाग्यो भने पूर्व–पश्चिम राजमार्गमा प्रत्येक ३० किलोमिटरमा अन्तर्राष्ट्रिस्तरको रेष्टुरेण्ट बनाउनुपर्छ ।

    स्रोत कहाँबाट जुटाउने, क्षमता, योग्यता के हो, सक्छौँ कि सक्दैनौँ भनेर हामीले हेरेनौँ । त्यही क्रममा अमेरिकामा सरसफाइ सम्बन्धि कार्यक्रम गर्ने कुरा भयो । त्यही सोच लिएर अमेरिका गयौँ । स्टेजमा कार्यक्रम गथ्र्यौँ । अनि सहयोगका लागि डालो लिएर सवैतिर जान्थ्यौँ । कार्यक्रममा एक डालो रकम जम्मा भएको थियो । अभियान सफल हुँदै गएको थियो । त्यति नै बेला नेपालमा भूकम्प गयो । कार्यक्रममा साढे १६ लाख उठेको थियो । आयोजकको ५० हजारसहित १७ लाख रुपैयाँ लिएर हामी नेपाल आयौँ । नेपाल फर्केलगत्तै राहत वितरणमा लाग्यौँ ।

    काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, गोखरालगायत भूकम्प प्रभावित ११ जिल्लाका पीडितलाई प्रत्यक्ष भेटेर राहत वितरण गर्यौँ । रातभरी राहत बाढ्यौँ । दोस्रो चरणमा चर्पी निर्माण गर्यौँ । आफैँ खाल्डो खन्न गयौँ, प्यान आफैँले बोक्यौँ । नुवाकोटमा ७ कोठे विद्यालय भवन बनायौँ ।

     

    यसरी बन्यो एकीकृत बस्ती

    सिन्धुपाल्चोकको पीपलडाँडामा चर्पी बनाउन जाँदा हातमा प्यान बोकेर उकालो जाँदै थियौँ । कुन्जनाले भनिन् ‘मलाई एउटा कन्सेप्ट आयो–‘हरेक जिल्लाबाट एउटा पीडित परिवार ल्याउने, ७५ वटै जिल्लाबाट ल्याउँदा ७५ परिवार भयो । उनीहरुलाई एकीकृत गरेर एउटै बस्ती बनाऔँ । त्यो देशलाई एकताको सुत्रमा बाँध्ने ठूलो कडी हुन सक्छ । सवै जातजाती, भाषाभाषीको संगम पनि हुन्छ । त्यहीभित्र विद्यालय, अस्पताल बनाऔँ ।’ मैले भनेँ ‘कन्सेप्ट राम्रो लाग्यो । तर, यसका लागि धेरै रकम लाग्छ, हामी सक्दैनौँ । बरु २०–३० परिवारका लागि एकीकृत बस्ती विकास गरौँ । उहाँहरूको मुहारमा आएको खुसी, उहाँहरूले दिएको आशिर्वाद र सम्पूर्ण नेपालीले दिएको स्यावासीले एकदिन तिम्रो सपना साकार हुन सक्छ ।’ अनि एकीकृत बस्ती निर्माण गर्ने शिलशिलामा काभ्रे पुग्यौँ । 

    आखिर धनी, गरिव भन्ने नहुँदो रहेछ भनेर मानिसले लोभ गर्न छाडेका थिए । सुरक्षित एकीकृत बस्ती बनाउने भन्दा जसले पनि जग्गा दिने स्थिति थियो । एउटै डिजाइनका घर बनाउन सक्ने अवस्था थियो । सरकारले बनाएको नक्सा र तोकेको मापदण्डमा घर निर्माण गर्न सकिने प्रसस्त आधार थिए । एउटै डिजाइनका, हुबहु, सवै सेवा सुविधा एकै ठाउँमा पुर्याउने गरी बस्तीलाई जोड्नुपर्छ भन्ने लागेर एकीकृत बस्ती बनाउने अभियान अगाडि बढायौँ । 

     

    मार्छौ भनेर पनि आए

    बस्ती निर्माणको क्रममा समाज विगार्न आएको भन्ने आरोप पनि लाग्यो । घर नजिकै हुँदा, बाझाबाझ हुन्छ, हानाहान हुन्छ । टाढा घर हुँदा आत्मियता हुन्थ्यो । घर नजिक भएपछि आत्मियता हुँदैन । एकीकृत बस्ती बनाउन नदिन चलखेल पनि भए । रकम हामीसँग थिएन, अरुमै भर परेका थियौँ । धुर्मुस–सुन्तलीले करोडौँ रकम उठाउँछन, अलिअलि देखाउने काम गर्छन अनि बाँकी खान्छन भन्ने आरोप पनि लाग्यो ।

    नकुम्ल्याउने भए किन भारी बोक्थे, खाल्डो खन्थे, प्यान बोक्थे सम्म भने । हामीले निस्वार्थी भावले काम गरेका कारण यस्ता कुरा सुन्दा आनन्दै हुन्थ्यो । किनकी राम्रो गर्ने मानिसको खुट्टा तानिन्छ भन्ने हामीलाई राम्रैसँग थाहा थियो । समाज र राष्ट्रका लागि काम गर्न निस्केकाले जस्तोसुकै आरोप, अप्ठ्यारा पनि खेप्न तयार थियौँ ।

    काभ्रेको बस्ती वर्षाकै बेला निर्माण गरेका हौँ । सिन्धुपाल्चोकको गिरानचौरमा पनि वर्षाकै बेला निर्माण भएको हो । पानी पर्ने, आधीबेहेरी चल्ने हुन्थ्यो । टहराहरू हुरीबतासले सवै मिल्काइदिन्थ्यो । पानीमा भिजेर रातभर बसिन्थ्यो । टन्टलापुर घाममा ढुंगै बोकेको हो, इट्टै बोकेको हो, बालुवा नै फिटेको हो । पसिनैपसिना हुन्थ्यो । परेर इन्जिनियर भइयो । बाघसँग पनि संघर्ष गरियो । बाइकबाट लडियो पनि । कोही त खुकुरी नै बोकेर आउथे । खुकुरीसँग कति चोटी खेलियो । कतिपय त मार्छौ भनेर पनि आए । हामी थाक्यौँ भने देशमा धेरै चिज थाक्छ भन्ने भावना मनमा आयो । थप उर्जासहित हामी काममा निरन्तर लाग्यौँ । पीडितको नाममा आएको पैसा बाढौँ है भन्ने प्रस्ताव पनि आउथे । रगत, पसिना बगाएर कमाएको पैसा पीडितलाई सहयोग गरेको छ । त्यो बाढ्ने प्रस्ताव आएपछि कसरी देश बन्छ । त्यो प्रस्ताव मैले सुन्नै मानिन् । काम गर्ने क्रममा सवैभन्दा ठूलो कुरा धेरै सिकियो ।

     

    आट्यौँ, पुग्यो, फेरि आट्यौँ

    हाम्रो लागि घर बनाउन लागेको होइन । जसको अव केही पनि छैन । सवै सिध्याइयो ।  मैले आजसम्म कमाएको ख्याती र विश्वासले रकम जुट्ला भन्ने थियो । त्यतिबेला ५ करोडको काम आँट्दा अहिले ५ अर्वको  आँटेको जस्तै भएको थियो । घरभित्रै समस्या होला जस्तो थियो । एक लाख ७४ हजार पैसा हुँदा गिरानचौर आँट्यौँ । खल्तीमा एक रुपैयाँ नहुँदा साढे ६७ लाखको काभ्रे आटेका थियौँ । कलाकारिताबाट कमाएको साढे १९ लाख  पैसा समेत खर्चिएको हो । ७७ दिनमा एउटा बस्ती बनायौँ । ७–८ महिना बित्यो । तर पुनर्निर्माण नभएपछि फेरि हामी नै तात्यो ।

    एक लाख ७४ हजारबाट सुरु गरेको गिरानचौर बनाउँदा ६ करोड १७ लाख पुग्यो । सद्भाव बाड्नुपर्छ भनेर तराई पुग्यौँ । यही विश्वासका साथ करोडबाट अर्व आँटेका छौँ । यो काम (रंगशाला निर्माण) पनि तोकिएकै समयमा सम्पन्न गर्न खटिएका छौँ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast