बिहिवार, असोज ३०, २०७६
    प्रेरक प्रसँग

    सिकाइमा उमेरको के चिन्ता ?

    आईतवार, ५ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, ५ जेठ

    यो त्यति वेलाको कुरा हो, जब स्वामी रामातीर्थ जापानको यात्रा गरिरहेका थिए । भारतबाट जापान जाँदा उनी पानीजहाजबाट यात्रा गरिरहेका थिए । त्यही जहाजमा एक जापानी वृद्ध पनि थिए, जसको उमेर लगभग ९० वर्ष हाराहारीको हुँदो हो । ती जापानी वृद्धका हातखुट्टा थरथर कामिरहेका थिए र आँखा पनि निकै कमजोरजस्ता देखिन्थे । तर, त्यति कमजोर वृद्ध भइसक्दा पनि उनी चिनियाँ भाषा सिक्नका लागि चिनियाँ भाषासम्बन्धी किताब पढिरहेका थिए ।

    स्वामी रामातीर्थ ती जापानीको लगन देखेर प्रभावित भए । उनी ती जापानी वृद्धको प्रयास देखेर चुपचाप बसिरहन सकेनन् । उनले ती वृद्धलाई सोधे, ‘यति वृद्धि भएर पनि तपाईं चिनियाँ भाषा सिक्न खोजिरहनुभएको छ ? चिनियाँ भाषा त संसारकै कठिनतम भाषामध्ये एक हो । यो भाषा राम्ररी सिक्नका लागि तपाईं–हामीजस्ता तेस्रो भाषीलाई निकै वर्ष लाग्छ । अनि तपाईं यस्तो कठिन भाषा कहिलेसम्ममा सिकिसक्नुहुन्छ र कहिले यसको उपयोग गर्न पाउनुहोला ?’

    उनको यो भनाइ सुनिसकेपछि ती वृद्ध जापानीले स्वामी रामातीर्थलाई कमजोर आँखाले ध्यान दिएर हेरे र भने, ‘जबसम्म म जिउँदो हुन्छु, तबसम्म मैले केही न केही सिकिरहनुपर्छ । नत्र मलाई आफ्नो जीवन बेकारको लाग्नेछ । मर्नु त एक दिन छ नै । यो कुरा सबैलाई थाहा पनि छ । तर, यदि मानिसले मृत्युबारे मात्र सोचिरह्यो भने उसले जीवनमा केही काम गर्न सक्दैन । त्यसैले नयाँ कुरा सिक्न उमेरलाई कहिल्यै बाधक ठान्नु हुँदैन ।’

    उनको जवाफ सुनेर स्वामी रामातीर्थ हर्षविभोर भए र ती जापानी वृद्धलाई झुकेर अभिवादन गरी आफ्नो स्थानमा गएर बसे ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast