आईतवार, भाद्र ८, २०७६
    अध्यात्म चर्चा

    जानिरख्नुहोस् ! जीवन सम्पन्न हुने एउटा अचुक कारण छ यस्तो

    आईतवार, ५ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, ५ जेठ । 

    मानिसको एउटै मात्र समस्या छ, त्यो समस्या हो आत्मविश्वास गुम्नु  । आत्मविश्वास गुमिसकेपछि मानिस यति गहिरो दलदलमा फस्छ कि उठ्न कठिनाइ हुन्छ । सबै समस्याको जड हो आत्मविश्वासको कमी । र, सबै प्रकारको सम्पन्नता हो, आत्मविश्वास बढ्नु । जुन व्यक्ति आत्मविश्वासी छ, त्यो व्यक्ति कहिल्यै कसैको दवाबमा पर्नु पर्दैन । हेपिनु पर्दैन, पीडित हुनै पर्दैन । मलाई कुनै सहारा चाहिन्छ, भने सहाराको घोचपेचबाट    सहनुपर्छ । या त म सक्षम छु भन्नुप¥यो, हैन म सक्षम छैन, अरु कोही नभए म बाँच्न सक्दिनँ, अरु कसैको पनि सहारामा म बाँच्दछु भने ती सहाराहरुबाट आएका अप्ठ्याराहरुलाई मैले सहनुपर्छ । यिनीहरुबाट आएका अवरोधलाई पनि, दुःखहरुलाई पनि मैले भोग्नुपर्छ । अरुबाट मैले सहारा पाएको छु भने कहिलेकाहीँ सहारा छोडिदियो भने त्यो बेलामा जुन पीडा हुन्छ, त्यसलाई भोग्न तयार हुनुपर्छ । बाहिरबाट ताप खोजेपछि कहिले घटी आउँछ, कहिले बढी आउँछ ।

    सहन सक्ने क्षमतालाई वृद्धि गर्नुपर्छ । हामी सहन सक्दैनौं । श्रीमान्ले अलिकति केही भन्यो श्रीमतीले केही भन्यो, छोराछोरीहरुले केही भने, बुबाआमाले केही भने, चित्त नबुझ्ने कुरा कसैबाट पनि आयो भने हामी सहन सक्दैनौं । यहाँबाट कलह शुरु हुन्छ । यिनीहरु नभई म बाँच्न सक्दिनँ नि । मलाई सहारा चाहिन्छ । श्रीमान्को सहारा चाहिन्छ, श्रीमतीको सहारा चाहिन्छ । आमाबुबाको सहारा चाहिन्छ । छोराछोरीको सहारा चाहिन्छ भने उनीहरुबाट हुने अलिकति घोचपेचलाई सहने सहारा पनि हामीमा हुनुपर्छ । आफ्नो मात्रै खुसी हैन, उनीहरुको खुसीमा पनि रमाउने अभ्यास हामीमा हुनुपर्छ । मेरो कारणले कोही खुसी भइराखेको छ भने रमाउन सक्छौं, तर अरु कसैको कारणले खुसी छ भने हामी सहन सक्दैनौं । परिवारका सदस्यहरुको खुसीमा म खुसी हुन सकिनँ भने यहाँबाट कलह शुरु हुन्छ । समस्या शुरु हुन्छ । जीवन कष्टकर हुन्छ । आफ्नो जीवनलाई जानिजानीकन किन दुःखमा लैजाने ? किन कष्टमा लैजाने ? उनीहरु जसरी खुसी भएका छन्, यो खुसीमा म पनि सहभागी बनौं । जान्छ नै के ? कहिले मेरो खुसीमा उनीहरु रमाइदेउन्, कहिले उनीहरुको खुसीमा म रमाइदेऊ । 

    हामी दबाउन चाहन्छौं । जो नजिक छ त्यसलाई दबाएर म खुसी हुन चाहन्छु । मलाई मानिसहरु मानिस हैनन्, मेशिन हुन् जस्तो लाग्छ । मैले जे–जे भन्यो त्यो मानून् । मानिसहरु मानिससित कहाँ मान्छन् ? सबैको आफ्नु विवेक छ । बुद्धि छ । सबैको आफ्नो खुसी हुने तरिका छ । मानिस त मानिस हो नि । मेशिन हैन । वस्तु हैन, म जसरी प्रयोग गर्न चाहूँ, त्यसरी प्रयोग गर्न । हामीले प्रत्येक व्यक्तिलाई मानिसको रुपमा हेर्न सक्यौं । मेरो मन जस्तो छ, मेरा भावहरु जस्ता छन्, अरुको पनि त्यस्तै हुन सक्छन् भन्ने भावले हेर्न सक्यौं भने समस्याको समाधान निस्कन्छ । र, सबैभन्दा महत्वपूर्ण कुरा आफू आफैंमा खुसी हुने कला सिक्नुपर्छ । म आफैं सक्षम छु । यो सहारा कति दिनको हो ? कुनै दिन सबै सहाराहरु टुट्न सक्छन् । आज जसरी परिवार बढेको छ भोलि भत्किन सक्छ । जे बन्छ त्यो भत्किन्छ, यो त प्रकृतिको नियम हो । आज जो व्यक्ति मेरो नजिक छ, भोलि छोडेर जान सक्छ । कसैले छोड्यो भनेर किन दुःखी हुने ? आज नभए भोलि, भोलि नभए पर्सि छोड्नै छ ।

    या त म सक्षम छु भन्नुप¥यो, हैन म सक्षम छैन, अरु कोही नभए म बाँच्न सक्दिनँ, अरु कसैको पनि सहारामा म बाँच्दछु भने ती सहाराहरुबाट आएका अप्ठ्याराहरुलाई मैले सहनुपर्छ । 

    कुनै पनि व्यक्ति सदासदा साथमा रहन सक्दैन । न म जन्मिँदाखेरि कसैलाई साथमा लिएर आएँ, न मृत्युमा जाँदा साथ लिएर जान्छु । यो एक्लै हिँड्ने अभ्यास त गर्नुपर्छ । आफू खुसी हुनको लागि अरु कसैको सहारा चाहिन्छ भनेर मैले माग गरेँ भने दुःखी हुनको लागि पनि अरु कोही चाहिन्छ नि । किनभने सुख र दुःख साथसाथ आउँछ । कुनै पनि व्यक्तिले पूरै सुख पनि दिन सक्दैन र पूरै दुःख पनि दिँदैन । दुईटै कुरा हुँदैन । मेरो नजिक कुनै व्यक्ति छ भने उसबाट आउने सकारात्मक प्रभाव पनि मलाई आउँछ र नकारात्मक प्रभाव पनि आउँछ । कुनै पनि व्यक्ति गुणैगुणले बनेको हुँदैन अवगुण पनि हुन्छ, गुण पनि हुन्छ । प्रत्येक व्यक्तिसँग हुन्छ । उसको गुणको फाइदा पनि मैले लिन्छु र अवगुणको बेफाइदा पनि मैले लिनुपर्छ । यदि गुणको फाइदा लिन मैले खोजिराखेको छु भने त्यो व्यक्ति ऊसँग गुण मात्रै आउँदैन । व्यक्ति आयो भने उसका अवगुणहरु पनि सँगसँगै आउँछन् र अवगुणको बेफाइदा पनि लिनुपर्छ ।

    यदि उसका अवगुणका बेफाइदा पनि लिन म तयार छु भने मात्रै उसको गुणलाई प्रयोग गरौं । उसका अवगुण चै लिन चाहन्न भन्ने हो भने उसका सकारात्मक गुणहरुको फाइदा उठाउने अधिकार पनि मलाई रहन्न । दुईटै कुरा हुन्छ नि । कोही पनि पूर्ण छैन । कुनै पनि व्यक्ति सर्वगुण सम्पन्न हुँदैन । केहीको केही अवगुण यो प्रकृतिको नियम हो र उसबाट आउने नराम्रा राम्रा दुवै प्रभावलाई लिने सामथ्र्य आफूले बढाउनुपर्छ, यदि सहारा चाहिन्छ भने । 

    हैन, म सक्छु भन्ने आत्मविश्वास भित्रबाट जागृत भएको छ भने अब त्यो व्यक्तिलाई सहारा चाहिँदैन । कसैबाट राम्रो प्रभाव आयो राम्रा गुणहरुको फाइदा आयो, त्यो पनि ठीक, नराम्रा गुणहरुको बेफाइदा आयो भने नि त्यो डराउँदैन । आफ्ना नजिकका व्यक्तिहरुबाट, उनीहरुको अवगुणबाट दुष्प्रभावहरु आफूतिर आयो भने पनि त्यो व्यक्तिलाई केही फरक पर्दैन जुन व्यक्ति स्वाभिमानी छ । स्वावलम्बी छ । जुन व्यक्ति आत्मविश्वासले भरिएको छ । हामी त्यतिखेर अर्को व्यक्तिसँग रिसाउँछौं, जब हामी उसका अवगुणबाट प्रभावित हुन्छौं । अनि हामीलाई रिस उठ्छ । तर, कसैको अवगुणबाट म प्रभावित हुँदै हुँदिनँ भने केको रिस र त्यो व्यक्ति मात्रै अरुका अवगुणबाट प्रभावित हुँदैन, जुन व्यक्ति आत्मविश्वासी छ । जसभित्र आँट छ, जोश छ, जाँगर छ, यो व्यक्तिलाई अरुका अवगुणहरुले प्रभावित गर्न सक्दैन । त्यस्तो व्यक्ति स्वावलम्बी बन्छ, स्वाभिमानी बन्छ र स्वावलम्बी, स्वाभिमानी, आत्मविश्वासी व्यक्ति रिसाउँदैन । रिसाउनुपर्ने आवश्यकतै छैन । 

    यदि हामीभित्र रहेको आत्मविश्वासलाई उठाउन सकेनौं भने सदा–सदाको लागि दासत्वलाई स्वीकार गर्नुपर्छ । अरुको दास बन्नुपर्छ । अरुका अवगुणबाट म जहिले पनि प्रभावित बन्नुपर्छ । आत्मविश्वास नै हो जसले अरुका अवगुणबाट आफूलाई बचाउन सक्छ । 

    अब यो आत्मविश्वास कसरी जगाउने ? यो मूलभूत प्रश्न हो । आत्मविश्वासलाई जगाउनुभन्दा पहिला के कारणले आत्मविश्वास गुम्यो ? यो कुरा हामीले पत्ता लगाउनुपर्छ । हाम्रो शरीरमा सातवटा शक्तिकेन्द्रहरु छन् । जसको कारणले हाम्रो शरीर सञ्चालित छ । मन सञ्चालित छ । र ती केन्द्रहरुलाई हाम्रा ऋषिहरुले, हाम्रा अग्रजहरुले, योगीहरुले चक्र भनेका छन् । यी चक्रहरुमध्ये मणिपुर चक्र नाभीकेन्द्र, यो आत्मविश्वासको केन्द्र हो । ध्यानद्वारा हामीले यो चक्रलाई सबल बनाउन सक्छौं र कुनै पनि व्यक्तिले सक्छ । चक्रलाई जगाउनको लागि, चक्रहरुलाई बलियो बनाउनको लागि कुनै प्रकारको अन्य योग्यताको आवश्यकता पर्दैन । मानिस भयो पुग्यो । तर, केही तरिकाहरु, केही विधिहरु सिक्नुपर्छ । जसले आफ्नो नाभी केन्द्रलाई सबल बनायो, मणिपुर चक्रलाई जगायो, त्यो व्यक्तिको आत्मविश्वास उठ्यो । आँट, जोश, जाँगर उसले बढायो । सबै सुषुप्त अवस्थामा थिए, नयाँ कुरा ल्याउने होइन, नयाँ काहीँबाट ल्याउने हुँदै होइन । सबै हामीसँग छ ।

    उसका अवगुण चै लिन चाहन्न भन्ने हो भने उसका सकारात्मक गुणहरुको फाइदा उठाउने अधिकार पनि मलाई रहन्न । 

    मानिस त सम्पदै सम्पदाले भरिएको छ, गुणैगुणले भरिएको छ, मानिस त सम्पन्नताको, ऐश्वर्यको खानी हो । आफूभित्रको ऐश्वर्यलाई वश् चिन्नु छ र जगाउनु छ । त्यति मात्रै हो । आँट, जोश, जाँगर, हिम्मत आत्मविश्वास काहीँबाट ल्याएर हाल्ने हैन । हामीभित्र छ, सुषुप्त अवस्थामा छ । विभिन्न कारणले हामीले दबायौं यसलाई । म कमजोर छु, म गर्न सक्दिनँ, म सानू मान्छे, म सक्षम छैन, विभिन्न प्रकारका समाजका गतिविधिले हाम्रो आत्मविश्वासलाई दबाइदियो । 

    ए, तँ  गर्न सक्दैनस्, तँबाट के हुन्छ, तँ सानो छस्, यो काम गर्नलाई छोरा मान्छे चाहिन्छ, छोरी मान्छेले सक्दैनन्, तँ कमजोर छस्, तैंले हुँदैन, तँ पढेलेखेको छैनस्, तँ कसरी गर्न सक्छस्, आदि–आदि । 

    बाहिरबाट आउने प्रभावहरु, बाहिर अरुका अवगुणबाट आउने प्रभावले हाम्रो आत्मविश्वासलाई दबाउँदै दबाउँदै गएर आज मानिस युवा अवस्थामै जोश, जाँगर, आँट गुमाएको अवस्था छ र प्रत्येक व्यक्तिको आत्मविश्वासलाई जगाउन सक्ने सामथ्र्य ध्यानले राख्छ । जसले ध्यानको कला जान्यो त्यो व्यक्तिले त आत्मविश्वासलाई जगायो । जसले आफ्नो मणिपुर चक्रलाई जगाउने कला जान्यो, उसले आत्मविश्वासलाई उठायो । त्यो व्यक्तिभित्र रहेका सम्पदाहरु आफैं जागृत भयो र जुन व्यक्ति आत्मविश्वासले भरियो, त्यो व्यक्ति अब सदा–सदाको लागि सबल भयो । सक्षम भयो । अब उसले कसैद्वारा हेपिनु पर्दैन ।

    कसैले त्यो व्यक्तिलाई अब दबाउँदैन । अब रोएर हिँड्नुपर्दैन, आफ्नो परिवार होस्, या बाहिरका अरु कोही सदस्यहरु, कसैले काहीँ पनि दबाउँदैन र दबाउन सक्दैन । स्वाभिमानी, आत्मविश्वासी व्यक्तिलाई कसैले दबाउन सक्दैन र आत्मविश्वासी मानिसले कहिल्यै गलत काम गर्दैन । कुकर्म गर्दै गर्दैन । यो व्यक्ति त नियममा हिँड्छ । आचरणमा हिँड्छ किनभने उसलाई आफूप्रति भरोसा छ । जुन व्यक्तिलाई आफूप्रति भरोसा छ, त्यो व्यक्तिलाई कुनै गलत काम गर्नुपर्ने आवश्यकतै हुँदैन । र, प्रत्येक व्यक्तिको आत्मविश्वासलाई जगाउन सकिन्छ । किनभने प्रत्येक व्यक्तिको मणिपुर केन्द्रलाई जगाउन सकिन्छ । यो कार्य ध्यानबाट सम्भव छ । त्यसैले ध्यान सर्वौषधि हो । समस्या अनेक, समाधान एक । रोग अनेक, औषधि एक । ध्यान यस्तो महाऔषधि हो कि हामी जीवनका सम्पूर्ण समस्याबाट जीवनलाई मुक्त गर्न सक्छौं । हामी सबैलाई पनि ध्यान गर्ने अवसर  मिलोस् । आफूभित्र रहेको जोश, जाँगर, उत्साह र आत्मविश्वासलाई जागृत गर्ने अवसर मिलोस् । 
    (जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन बिकास विशेषज्ञ रमेश नेपालको रेडियो प्रवचनबाट उतारिएको सामग्री–सं.)

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast