आईतवार, भाद्र २९, २०७६
    पर्यटक

    रानीपोखरी र सिद्धपोखरी उत्तरतर्फको खेलमैदान सर्वसाधारणका लागि खुला

    शनिबार, ४ जेष्ठ २०७६, – लक्ष्मी गारु.

    भादगाउँ, ४ जेठ ।

    भक्तपुर नगरपालिका र नेपाली सेनाबीच भक्तपुरको ऐतिहासिक रानीपोखरी र सिद्धपोखरी उत्तरतर्फको खेलमैदान सर्वसाधारणका लागि खुला गर्ने सहमति भएको छ ।

    नगरपालिका र सेनाबीच विभिन्न चरणमा भएको छलफलपछि भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनःनिर्माण गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अवलोकनका लागि सिद्धपोखरी उत्तरतर्फको खेलमैदान स्थानीय खेलकूद प्रयोजनका लागि खुला गर्ने विषयमा सहमति भएको हो ।

    सहमतिअनुसार उक्त रानीपोखरी के कति क्षेत्रफलमा फैलिएको छ भनी यकिन गर्न नगरपालिका र नेपाली सेनाले समन्वय गरी नाप नक्सा गर्ने, नाप नक्सापछि प्राप्त प्रमाणको आधारमा भक्तपुर नगरपालिकाले जीर्णोद्वार गर्ने भएको छ । उक्त पोखरी जीर्णोद्वारसँगै त्यहाँ भेटिएका पुरातात्विक वस्तुको संरक्षण र भग्नावशेषको रुपमा रहेको पाटीको पुनःनिर्माण पनि नगरपालिकाले गर्ने भएको छ । सहमतिअनुसार नाप नक्सा कार्य शुरु भइसकेको छ ।

    रानीपोखरी जीर्णोद्वारपछि सुरक्षाको उचित व्यवस्था मिलाई पोखरीलाई चारैतिर पर्खालले घेरेर पोखरीको दक्षिण सल्लाघारी, दूधपाटी बाटोतर्फ प्रवेशद्वार बनाई बिहान ६ देखि साँझ ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने सहमति भएको नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो । साथै रानीपोखरी अवलोकन गर्न आउनेका लागि सवारीसाधन पार्किङस्थल सल्लाघारीको खाली जमीनमा नगरपालिकाले निर्माण गर्ने भएको छ ।

    काठमाडौँको रानीपोखरीभन्दा पनि पुरानो मानिएको भक्तपुरको रानीपोखरी जीर्ण अवस्थामा नेपाली सेनाको सैनिक आवासीय महाविद्यालयको हाताभित्र रहेको छ । विसं २०४० मा तत्कालीन पञ्चायती सरकारले सैन्य तालीम केन्द्रका लागि पोखरी आसपासका सार्वजनिक र सर्वसाधारणको जग्गा अधिग्रहण गरेपछि भक्तपुरको रानीपोखरी सुरक्षा निकायको घेराभित्र रहन पुगेको हो । सेनाले सो स्थानमा पछि विद्यालय सञ्चालन गरेपनि सर्वसाधारणलाई प्रवेश गर्न बन्देज लगाएको छ ।

    पुतली बगैँचासहित करीब ३२ रोपनी क्षेत्रफलमा फैलिएको भक्तपुरको रानीपोखरीको बीच भागमा केही मात्रामा पानी देखिए पनि अन्य सबै भाग झारपातले छोपिएको छ । पोखरीको चारैतिर रहेको डिलमा समेत झार उम्रिएपछि नगरपालिकाको पहलमा पटक–पटक सरसफाइ गरिएको छ । पोखरीको चारैतिर रहेको विभिन्न कलात्मक मूर्तिसमेत लोप भएको छ भने पोखरीलाई थप सुन्दर बनाउन निर्माण भएका कलात्मक पाटीपौवासमेत माटोमा विलीन भइसकेका छन् ।

    रानीपोखरीको निर्माण नेपाल संवत् ७५० अर्थात् विसं १६८७ मा मल्ल राजा जगज्योती मल्लले गरेका हुन् । रानीपोखरीको दक्षिणपट्टि रहेको ह्वाङह्वाङ पाटीमा रहेको शिलालेखअनुसार सो पोखरीको नामाकरण पुष्करणी भनी उल्लेख गरिएको पाइएको संस्कृतिविद् एवं इतिहासविद प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो । 

    तत्कालीन बोलीचालीमा न्हु पुखुः अर्थात् नयाँ पोखरीसमेत भनिने सो पोखरीलाई राजा जगज्योति मल्लले आफ्नो रानीलाई समपर्ण गरेपछि त्यसलाई रानीपोखरी भन्न थालेको इतिहास रहेको प्रा डा श्रेष्ठले बताउनुभयो । पोखरीको बीचमा सुनको टाउको भएको नागको मूर्ति रहेको र चारैतिर विभिन्न कलात्मक मूर्तिले घेरिएको ऐतिहासिक दस्तावेजमा उल्लेख भएको पाइन्छ ।

    रानीपोखरीको निर्माण चार महीनामा सम्पन्न भएको इतिहास छ । ह्वाङह्वाङ पाटीमा रहेको शिलालेखमा रानीपोखरीको निर्माण पुस कृष्ण एकादशीका दिनमा आरम्भ भएर वैशाख कृष्णद्वादशीका दिनमा सम्पन्न भएको उल्लेख गरिएको पाइएको प्रा डा श्रेष्ठले बताउनुभयो ।

    रानीपोखरीलाई तीन तहमा विभाजन गरेर निर्माण गरिएको पाइन्छ । पोखरीको गहिराइतिरको पहिलो तह पानी भरिने, दोस्रो तहको चारैतिर विभिन्न कलात्मक मूर्ति दिगु द्यो (कुल देवता) रहेका छन् । तेस्रो तहमा पोखरी घुम्न मिल्नेगरी बाटो बनाई छेउछेउमा रुख र चार दिशामा चार पाटी निर्माण भएको पाइन्छ ।

    त्यस्तै सिद्धपोखरी उत्तरतर्फको खेलमैदानको चारैतिर जालीबारले घेरी मैदानको दक्षिणतर्फ प्रवेशद्वारको व्यवस्था गरी उक्त खेलमैदान स्थानीयवासीका लागि हरेक दिन बिहान ७ः३० बजेदेखि ११ः३० बजेसम्म चार घण्टा खुला गर्ने र शनिबारको दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला गर्ने सहमति भएको छ । 

    साथै सैनिक महाविद्यालय बन्द रहेको र आवासीय विद्यार्थी बिदामा रहेका दिनमा बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म स्थानीयवासीका लागि खुला हुने जनाइएको छ । रानीपोखरी जीर्णोद्वार र खेलमैदान खुला गर्ने विषयमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग समेत नगरप्रमुख प्रजापतिले आवश्यक छलफल गर्नुभएको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast