बुधबार, जेष्ठ २१, २०७७
    बिदेश

    किन डराउछन् चिनियाँ कम्पनी हुवावेसँग ठूलाठूला देशहरु ? फ्रान्सका राष्ट्रपति यस्तो भन्छन्..

    शुक्रबार, ३ जेष्ठ २०७६, आहाखबर

    पेरिस, ३ जेठ ।

    फ्रान्सले विश्व प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेलाई फ्रान्सको राष्ट्रिय सुरक्षालाई सुरक्षित राख्दै फाइभ–जी नेटवर्क संरचना निर्माण गर्न दिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले बताउनुभएको छ ।

    पेरिसमा प्रबिधिसम्बन्धी एक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,“हाम्रो उद्देश्य हुवावे वा अन्य कुनै कम्पनीलाई गतिविधि विस्तारमा रोक लगाउने होइन । हाम्रो राष्ट्रिय सुरक्षा र यूरोपेली सार्वभौमसत्ता जोगाउने प्रयास रहनेछ तर मेरो विचारमा प्रबिधि वा व्यापार युद्ध सही होइन ।”

    राष्ट्रपति म्याक्रोँले भिभा टेक नामक प्रबिधि सम्मेलनमा सम्बोधनका क्रममा बताउनुभयो, “पहिलो कुरा कसैको राष्ट्रिय सुरक्षाको पक्षमा कुनै प्रविधिको विस्तार नै रोक्ने तरिका ठीक होइन । हामीलाई यो आवश्यक छैन । दोस्रो आफ्नै प्रविधिको विकास तथा विश्व सहकार्यले तनावलाई कम गर्न सकिन्छ ।”

    फ्रान्स र यूरोपको ‘व्यवहारिक तथा वास्तविक धारणा’को पक्षपोषण गर्दै फ्रान्सका राष्ट्रपतिले भन्नुभयो, ”फ्रान्सले रोजगारी सिर्जनाका लागि सहकार्य र बहुपक्षीयतामा विश्वास गर्ने र यसबाट व्यापार विस्तार र नयाँ प्रबिधिको आविस्कार गर्ने कुरामा विश्वास गर्छ ।” 

    उहाँले भन्नुभयो, “यस्तै फाइभ जीका सन्दर्भमा पनि हामीले विशेष ध्यानसहित विदेशी प्रबिधि र नेटवर्कको विस्तारलाई स्वागत गर्छौँ । तर यसो गर्दा राष्ट्रिय सुरक्षा पहिलो शर्त हुनेछ ।”  

     

    आम्दानी सय अर्ब डलर बढी: 

    अमेरिकी दबाबकाबीच चिनियाँ कम्पनी हुवावेको आम्दानी सय अर्ब डलरभन्दा बढी पुगेको छ ।

    अमेरिकाले हुवावेका विद्युतिय सामाग्रीले जासुसी गर्ने आरोप लगाइरहेको छ ।

    विभिन्न देशले हुवावेको फाइभ–जी नेटवर्क नजोड्ने बताइसकेका छन् । यसबीचका हुवावेलाई झड्का लाग्ने अनुमान गरिएको थियो ।

    यद्यपी हुवावेको समाग्री विक्रिमा कुनै असर नपुगेको जनाइएको छ। हुवावेका अनुसार सन् २०१८ मा हुवावेले ७२१ दशमबल २ अर्ब युआन अर्थात् १ सय ७ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको छ ।


    अस्ट्रेलिया, अमेरिकाको गतिविधि पछि फर्केर हेर्दा :

    संयुक्तराज्य अमेरिका र प्रशान्त महासागरीय देशहरुको गठबन्धनले पपुवा न्यू गिनी (पिएनजी)मा सञ्चार सञ्जाल निर्माण गर्नबाट चिनीया बहुराष्ट्रिय कम्पनी हुवावेलाई रोक्ने तयारी भइरहेको अस्ट्रेलियास्थित अमेरिकी कुटनीतिज्ञले बताएका थिए । प्रशान्त क्षेत्रमा बढ्दो चिनीया प्रभावलाई नियन्त्रण गर्न यस्तो कदम चाल्नु परेको उनको भनाइ थियो । 

    पिएनजीको इन्टरनेट पूर्वाधार निर्माणमा चिनीया कम्पनी हुवावे मुख्य प्रतिस्पर्धी हो, तर अमेरिका, अस्ट्रेलिया र जापानबीच उक्त पूर्वाधार आफैं निर्माण गर्नेगरी छलफल शुरु भएको थियो । 

    अस्ट्रेलियाले अघिल्लो वर्ष सोलोमोन आइल्यान्डमा समुद्रमुनि इन्टरनेट केबल बिछ्याउने एक परियोजनाबाट हुवावेलाई अलग्याउन भूमिका खेलेको थियो । यो परियोजनाका लागि आवश्यक रकम जुटाउन अस्ट्रेलिया स्वयंले सहयोग गरेको थियो । यो केबल सञ्जालले पिएनजीलाई पनि जोड्ने छ । 

    हुवावेले सुरक्षा खतरा रहेको तथा चिनीया सरकारी गुप्तचर निकायसँग सम्पर्क रहेको भन्ने आरोपहरुको लगातार खण्डन गरिआएको छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast