कार्यकर्तालाई कम्तीमा दुई रुख अनिवार्य रोप्न नेकपाको निर्देशन #आहा खबर# ‘शान्ति कायम गर्न प्रहरी, विद्यालय र समाज सँगसँगै’ #आहा खबर# 'विश्वकै गरिब' राष्ट्रपति ! राष्ट्रपति भवनमा बस्न इन्कार, साधारण जीवनशैली #आहा खबर# एनसेललाई प्राधिकरणले भन्यो - डेटा सेवा महशुल दर घटाऊ #आहा खबर# तत्कालीन पर्यटनमन्त्री अधिकारी सवार होलिकप्टर दुर्घटनाको कारण मौसम खराबी #आहा खबर# बढैयाताल गाउँपालिका माछा उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिँदै #आहा खबर# खेत रोप्न धानको ‘ब्याड’ तयार भए पनि मल अभाव #आहा खबर# उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण #आहा खबर# नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी भारतको चेन्नईयिन एफसीसँग पराजित #आहा खबर# रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालन #आहा खबर# महिलालाई बिर्के टोपी बनाउने तालीम #आहा खबर# भारतीय फिल्म उद्योगको 'बादशाह' भनिएका शाहरुख खान 'फ्लप माथि फ्लप' दिँदै ! #आहा खबर# चिया उद्योग बन्द गर्ने उद्यमीको घोषणा, यस्तो छ कारण #आहा खबर# मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा #आहा खबर# ‘हरेक राजनीतिक दलमा मुस्लिम समुदायको सहभागिता बढ्नुपर्छ’ #आहा खबर#
    लेख/संवाद

    सभ्यताको जगेर्ना गर्दै कालीगण्डकीलाई आयआर्जनसँग जोड्ने प्रयास

    शुक्रबार, ३ जेष्ठ २०७६, – सुशीला रेग्मी.
    बेझाड, पाल्पा, ३ 
     
    मुक्तिनाथदेखि प्राकृतिक बहावमा बगिरहेको कालीगण्डकीको महिमा अपार छ । शालिग्राम पाइने नदीका नामले समेत परिचित कालीगण्डकीका किनारमा मुक्तिनाथ, ऋषिकेश, देवघाटधाम जस्ता तीर्थस्थल हुनुले यसको महिमा र गरिमा उत्तिकै बढाएको हो । 
     
    पूर्वीय संस्कृति र सभ्यतासँग प्रत्यक्ष जोडिएको यहाँको जल अर्थात् पानीलाई आर्थिक र सामाजिक विकासमा उपयोग गर्ने सोचका साथ तल्लो तटीय क्षेत्रका बासिन्दा यतिखेर जुर्मुराउन थालेका छन् । हुन त कालीगण्डकीमा बगेको पानीलाई सदुपयोग गर्न राम्दीबाट डाइभर्सन गरेर तराई क्षेत्र र भारत लैजाने योजनाको अध्ययन भइरहेको छ ।
    आफ्नै बहावमा बहेको नदीको पानीलाई अन्यत्र मोडेर लैजान नहुने भन्दै स्थानीयवासी धार्मिक मान्यताको जगेर्नाका साथै आर्थिक समृद्धिका निम्ति एकताबद्ध भएका छन् । 
     
    पाल्पा र स्याङ्गजाको सिमाना राम्दीमा डाइभर्सन गरेर कालीगण्डकीको पानी तिनाऊ नदीमा खसाल्ने योजनाप्रति कालीगण्डकी उपत्यकाका बासिन्दा सन्तुष्ट छैनन् । रुपन्देही, कपिलवस्तु र नवलपरासीको विभिन्न भू–भाग सिँचाइ गर्ने योजना अनुरुप नदीलाई राम्दीबाट डाइभर्सन गरेर तिनाऊ खोलासँग जोड्ने योजनाप्रति उनीहरुको आपत्ति छ ।
    नदी डाइभर्सनका काम शुरु भएको समयदेखि नै कालीगण्डकीे बेसिन पाल्पा, स्याङ्गजा, तनहुँका तल्लो तटीय क्षेत्रका बासिन्दा नदीको धार्मिक, साँस्कृतिक अस्तित्व मेटिने तर्क गर्दैआएका छन् । संरक्षणप्रति जागरुक भएसँगै विभिन्न साहित्यिक रचना पनि बाहिर आएका छन् । 
    “कुइरोको खेती, रामपुरे बेंसी, सुकेर चरचरी 
    बालै र बच्चा, हुन्छन् है सच्चा, रुन्छन् नी धरधरी
    नलैजाउ कालीलाई .. बिजुली पानी .........
    के गर्ने होला, के छर्ने होला, काली नै नभसी
    के खाने होला, काँ जाने होला, रामपुरै नबसी
    नलैजाउ कालीलाई .. बिजुली पानी .........”
     
    कालीगण्डकीलाई राम्दीबाटै बटौली लैजान अध्ययन अनुसन्धानका काम बढेपछि  तत्कालीन श्री कृष्णागण्डकी क्षेत्र विकास समितिका अध्यक्ष कुलराज चालिसेको नेतृत्वमा राम्दीधाममा विसं २०७१ मा बेलपत्र आन्दोलन रचना गरेर प्रतिरोधमा उत्रँदाका बखत रचना गरिएको कविता हो यो । गण्डकीबेंसीका नागरिकको आवाजलाई स्थानीयदेखि प्रादेशिक तहमा चुनिएका जनप्रतिनिधिले एकीकृत रुपमा सम्बोधन र सम्मान गर्दै राम्दीदेखि देवघाटसम्मका क्षेत्रलाई कालीगण्डकी उपत्यकाको नामकरण गर्दै एकीकृत विकास समिति पनि गठन गरिएको छ । 
     
    त्यस्तै, रामपुर घोषणापत्र जारी गरी कालीगण्डकी बचाउन, पर्यटन प्रवर्द्धन गर्न र समृद्धि हासिल गर्न पनि जोड दिइएको छ । 
     
    “मरेपछि लानु चै के छ र (२), कृष्ण कृष्णा अलग नगर, रामदीमा बाँधै हालेर
    खस्यौली र बटौली बगाउलान्  सिद्धबाबा हामै फालेर
    देउता पितृ रिसाउलान् हे सानु (२), कृष्णामाता जलदेवी हुन अरे, आएकी छन् हिमाल गालेर
    खस्यौली र बटौली वगाउलान्  सिद्धबाबा हामै फालेर
    रामपुरेनी बस्दैनन् त्यसै (२) मणीवुटी हराको नागझै, आउनसक्छन् मसाल बालेर
    खस्यौली र बटौली बगाउलान्  सिद्धबाबा हामै फालेर”
    कृष्णागण्डकीका नामले परिचित कालीगण्डकी किनारमा जलेश्वर, गलेश्वर, नाङ्गलीवाङ्ग, मोदीवेणी, सेतीवेणी, रुद्रवेणी, रिडी, राम्दी, हुँगीघाट, खोरियाघाट, रामघाट, केलादीघाट, देवघाट जस्ता स्थानमा हजारौंको सङ्ख्यामा कुटीसमेत रहेका छन् । 
     
    नदी डाइभर्सन गरिँदा तल्लो भेगका उर्बर भूमि बाँझिने र यसले वातावरणीय सन्तुलनमा नकारात्मक प्रभाव पार्ने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।
     
    “नदीको बहाव परिवर्तन गरी राम्दीबाट डाइभर्सन गरेर अन्यत्र लैजाँदा तल्लो तटीय क्षेत्र मरुभूमि जस्तै बन्छ,” उहाँले थप्नुभयो – “यसले यहाँको धार्मिक, साँस्कृतिक र पर्यटकीय गरिमा खल्बल्याउने हुँदा संरक्षणमा स्थानीय, प्रदेश र सङ्घीय सरकार कालीगण्डकी बचाऊ अभियानमा एकजुट भएर लाग्न आवश्यक छ ।”
    कालीगण्डकीको अस्तित्व र महत्वलाई जोगाउँदै यसको पर्यटन विकास गर्न र नदी बचाउनकै लागि नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा राम्दी मालुङ्गाघाटदेखि पुट्टारघाटसम्म दुई दिन रामपुर नगरपालिकाको आयोजनामा कालीगण्डकीमा जलयात्रा महोत्सव समेत गरिएको थियो ।
     
    नदीको अस्तित्व र गरिमालाई जोगाई राख्न विशेषतः कालीगण्डकी बेसिन पाल्पाको रामपुर नगरपालिका, रम्भा गाउँपालिका, स्याङ्गजाको चापाकोट नगरपालिका र तनहुँको घिरिङ गाउँपालिका, नवलपुरको बौदिकाली गाउँपालिकालगायतका स्थानीय सरकारले ऐक्यबद्धता जनाउँदै संरक्षणमा जुटिरहेका छन् । 
     
    कालीगण्डकीको पानी डाइभर्सन गरेर लगिएको खण्डमा तल्लो भाग मरुभूमि जस्तै उजाड बन्ने, वातावरणीय सन्तुलन बिग्रने र धार्मिक तथा साँस्कृतिक अस्तित्व नै मेटिन खतरा रहन्छ । प्रदेश नं ५ र गण्डकी प्रदेशको भविष्य कालीगण्डकीसँग प्रत्यक्ष जोडिएको बताउने प्रदेश नं ५ का सांसद युवराज खनाल नदीलाई डाइभर्सन गरेर अन्यत्र लैजान नहुने धारणा राख्नुहुन्छ ।
     
    नदीको पानी उपयोग गरी आयस्रोत बढाउने खालका योजना बनाएर अगाडि बढ्न आवश्यक भएको उहाँ ठान्नुहुन्छ । कालीगण्डकीमा पारिवारिक घुमघाम र धार्मिक पर्यटनका लागि जलयात्रा अति उत्तम मानिन्छ । कर्णाली प्रदेशमा भएको तेस्रो नदी शिखर सम्मेलनले पनि अबको दुई वर्षभित्र कालीगण्डकीमा चौथो नदी महोत्सव आयोजना गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । 
     
    कालीगण्डकी उपत्यकालाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै यहाँ  नियमित जलयात्रा सञ्चालन गर्न सकिए रोजगारी सिर्जना हुने स्थानीयवासीको तर्क छ ।
     
    नदी डाइभर्सन हुनुभन्दा पहिला सम्बन्धित क्षेत्रमा भविष्यमा कस्तो असर आइपर्न सक्छ भनेर मात्र अध्ययन हुनु आवश्यक रहेको नेपाल सरकारका पूर्व सचिव तथा कालीगण्डकी उपत्यका विकास अभियन्ता शान्तबहादुर श्रेष्ठले बताउनुभयो ।
     
    “भौगोलिक हिसाबले भिन्न प्रदेशमा विभाजन गरे पनि नदीसँग जोडिएका वारिपारिका गाउँ वस्तीको रहनसहन, सांस्कृतिक चालचलन एकै प्रकारको रहेकाले पनि नदीको पानी उपयोग गरेर प्रशस्त आम्दानी लिने गरी पर्यटन विकासमा जोड दिन आवश्यक छ,” उहाँले थप्नुभयो ।
     
    यस नदीमा नियमित जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रशस्त सम्भावना रहेको पर्यटन व्यवसायी दीपक रोकाले बताउनुभयो । 
     
    “राम्दीदेखि देवघाट क्षेत्रका विभिन्न भू–भागमा जलयात्रा नियमित गरेमा पर्याप्त रोजगारीका साथै मनग्य आम्दानी गर्न सकिन्छ,” उहाँले भन्नुभयो । जलयात्राका लागि परीक्षण पछि बृहत् कालीगण्डकी जलयात्रा महोत्सवसमेत सम्पन्न भैसकेको छ ।
     
    कालीगण्डकीको तल्लो भाग राम्दीदेखि देवघाटसम्म नियमित र्‍याफ्टिङ चलाउन कर्णाली र्‍याफ्टिङ एण्ड एड्भेन्चरका विज्ञसहितको टोलीले तीन खण्डमा कालीगण्डकीमा यसभन्दा अगाडि सफल परीक्षण गरिसकेका छन् ।  
     
    सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्यसँग मेल खाने गरी पर्यटन प्रवर्द्धन गर्न र कालीगण्डकीको गरिमा बचाउन तल्लो तटीय क्षेत्रका बासिन्दाको जागरण र प्रयास सराहनीय छ ।
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
      Weather Forecast