आईतवार, असोज ५, २०७६
    यातायात

    सुर्खेतमा ७२ सिटे जहाज उडाउन ३ अर्बको लगानीमा रन वे विस्तार हुँदै

    बिहिवार, २ जेष्ठ २०७६, आहाखबर

    सुर्खेत, २ जेठ ।

    २०२२ सालमा स्थापना गरिएको सुर्खेत विमानस्थलबाट कर्णाली प्रदेशका दुर्गम हिमाली तथा सुदूरपश्चिम प्रदेशका केही जिल्लामा यात्रु तथा खाद्यान्न ओसारपसारका लागि दैनिक दुई दर्जन बढी उडानहरु हुँदै आएको छ।

    कर्णाली प्रदेशको राजधानी सुर्खेतको विमानस्थलमा विगत एक वर्षदेखि ४७ सिटे जहाज भन्दा साना जहाजमात्रै उडान र अवतरण गर्दै आएका छन् ।

    सुर्खेतमा त्यसभन्दा ठूला जहाज अवतरण गराउन नसकिने भएपछि धावनमार्ग थप विस्तार गर्नुपर्ने आवश्यक देखिएको हो । ७२ सिटे जहाज अवतरण गराउन न्युनतम थप ३ सय मिटर धावनमार्ग विस्तार गर्न लागिएको हो। अहिले विमानस्थलको एक हजार २ सय ५० मिटर लम्बाइ भएको धावनमार्ग अपुग हुने भएकाले कम्तीमा ३ सय मिटर थप गर्नुपर्ने देखिन्छ।

    २०६३ सालमा कालोपत्रे गरिएको धावनमार्ग दीर्घकालीनरुपमा ठूला जहाज अवतरणमा समस्या देखिएपछि थप विस्तार गर्न लागिएको छ ।

    हाल सुर्खेत–काठमाडौं उड्ने बुद्ध एयरको ४७ सिटे जहाज अबको तीन वर्षपछि रोकिने भन्दै त्यसभन्दा ठूलो जहाज अवतरण गर्न धावनमार्ग विस्तार गर्ने छलफल भएको जानकारी छ । 

    विमानस्थलको उत्तरतर्फ ३०० मिटर धावनमार्ग थप गर्नुपर्ने निचोड निकालिएको छ । सुरुमा एक हजार मिटर भएको विमानस्थलको धावनमार्गलाई पुनः २ सय ५० मिटर थप गरेर एक हजार २ सय ५० मिटर बनाइएपछि बुद्ध एयरले विगत एक वर्षदेखि दैनिक ४७ सिटे एउटा जहाजबाट सुर्खेत काठमाडौं उडान सुरु गरेको छ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast