आईतवार, भाद्र ८, २०७६
    प्रेरक प्रसँग

    जब एक युवतीलाई झुक्याएर बिहेगरी श्रीमानद्वारा एसिड प्रहार गरिन्छ...

    बिहिवार, २ जेष्ठ २०७६, आहाखबर

    काठमाडौँ, २ जेठ ।

    दोलखाको डाँडागाउँ घर भई काठमाडौँको कालोपुल बस्ने २० वर्षीया जेनी खड्का प्रभावमा परेर बिहे गर्दा गम्भीर अवस्थामा पुग्नुभएको छ । 

    पाँच वर्ष अघि बिहे गर्दा उहाँलाई आफू दोस्रो पत्नी भएको जानकारी थिएन । पछि घरमा अर्को श्रीमती पनि छ भन्ने चाल पाएपछि उहाँ श्रीमान् छाडेर माइतीसँग बस्दै आउनुभएको थियो । 

    बेला बेलामा घर जान दबाब दिँदै श्रीमान्ले धम्की दिने गरेका जेनीको परिवारको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ तर पनि उहाँले सुख पाउनु भएन । 

    बुधबार भने गम्भीर परिणाम भोग्नु पर्‍यो । साँझ अन्दाजी ७ः३० बजे आफ्नै श्रीमान् काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ फूलबारी बस्ने ३६ वर्षीय विष्णु भुजेलको एसिड प्रहारबाट गम्भीर घाइते हुनुभएको छ । 

    उहाँको ओम अस्पतालमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । एसिडले उहाँको अनुहारको एक भाग, हात, मुख, छाती जलेको र बोल्नसक्ने अवस्था नरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीको भनाइ छ । 

    भुजेलले जेनीलाई हाल्नकै लागि नियतबस नै काभ्रेबाट एसिड ल्याएको खुलेको छ ।

    एसिड प्रहार गरी सख्त घाइते बनाएर भागेको भन्ने सूचनाको आधारमा खोजी गर्दा दुई घण्टामै भुजेललाई प्रहरीले काठमाडौँको काँडाघारीबाट राति १०ः१५ बजे पक्राउ गरेको छ । उनलाई अनुसन्धानका लागि अहिले महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ । 

    मोटरसाइकलको ग्यारेजमा काम गर्ने भुलेजले विभिन्न प्रभावमा पारेर सानै उमेरमा बिहे गरेको जेनीको परिवारलाई उद्धृत गर्दै प्रवक्ता बोगटीले बताउनुभयो । आफू कान्छी श्रीमती भएको थाहा पाएपछि उनीहरुबीच विवाद शुरु भएको थियो । तीन वर्षअघि छोरा जन्माएकी जेनी त्यसपछि अलग्गै बस्न थाल्नुभएको थियो । 

    बुधबार भने भुजेलले रिसको झोकमा कोठा बाहिर बोलाएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहितामा तेजाब आक्रमणका घटनामा आठ वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast