आईतवार, श्रावन ५, २०७६
    पर्यटक

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा हरिण रमाउदै

    बिहिवार, २ जेष्ठ २०७६, आहाखबर

    कञ्चनपुर, २ जेठ ।

    शुक्लाफाँटामा विश्वमा दुर्लभ बाह्रसिङ्गालाई दुई हजारभन्दा बढीको झुन्डमा देख्न पाइन्छ ।

    विसं २०२६ मा शाही सिकार आरक्षका रुपमा स्थापित शुक्लाफाँटालाई २०३१ सालमा वन्यजन्तु आरक्षका रुपमा रुपान्तरण गरिएको थियो ।

    थोरै क्षेत्रफलमा धेरै वन्यजन्तु रहेको शुक्लाफाँटा जैविक विविधताका दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । सबैभन्दा बढी बाघको जनघनत्व रहेको संरक्षित क्षेत्रका रुपमा चिनिने शुक्लाफाँटा ३०५ वर्ग किमीमा फैलिएको छ । 

    सङ्कटापन्न वन्यजन्तु तथा प्रजातिको संरक्षणमा उच्च प्राथमिकता दिइँदै आएको आरक्ष पर्यटकीय दृष्टिले आगामी दिनमा थप परिचित हुनेमा यहाँका पर्यटन व्यवसायीको बुझाइ छ । 

    शुक्लाफाँटा राष्ट्रिय निकुन्ज ७ नं. प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको नेपाल–भारत सिमानामा दक्षिण पश्चिम कुनामा अवस्थित छ । 

    महाकाली नदीको पुरानो बहाव क्षेत्र भएको कारण विकसित हुनआएका फाँटाहरू, धाप र सिमभूमि यस निकुन्जको प्रमुख विशेषता हो । निकुन्जका कारण नेपालको पश्चिमी तराईमा पाइने वन्यजन्तु तथा चराचुरुङ्गीहरूको बासस्थानको संरक्षण हुन पुगेको छ ।

    यो निकुन्ज बाह्रसिंगाको लागि प्रसिद्ध छ । सन् २०१४ मा यस निकुन्जमा २,३०१ वटा बाह्रसिंगा गणना गरिएको छ । यो निकुन्ज जंगली हात्तीका लागि पनि उत्तिकै प्रख्यात छ । यहाँ करिब २०–२५ वटा जंगली हात्ती रहेका छन् । सन् २०१७ को गणना अनुसार यस निकुञ्जमा एकसिंङ्गे  गैडाको संंख्या १६ वटा रहेको छ भने सन्  २०१८ मा गरिएको गणना अनुसार यस निकुन्जमा बाघको संख्या १६ रहेको छ । निकुन्जको अधिकतम भाग सालको जंगलले ढाकिएको छ । 

    बाँकी सिसौ र खयरको जंगल र घाँसे मैदान छ । जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर यस निकुन्जका प्रमुख वन्यजन्तु हुन् । त्यस्तै रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाई सरी आउने गरी ४२४ भन्दा बढी चराचुरुङ्गीहरू पाइन्छन् ।

    वन्यजन्तु अवलोकनका लागि यो निकुन्ज स्वर्ग मानिन्छ । मध्यवर्ती क्षेत्रमा सहभागितामूलक संरक्षण, विकास र आयआर्जनका विभिन्न कार्यक्रमहरू संचालनमा रहेका छन् । निकुन्जभित्र रहेको बस्ती स्थानान्तरण गर्दाको जग्गा समस्या समाधान नहुनु र चरिचरण यस निकुन्जको प्रमुख समस्याको रूपमा रही आएको छ ।

    नेपालका संरक्षित क्षेत्रमध्ये सबैभन्दा बढी खयरमजुर रहेको शुक्लाफाँटाभित्र तराईका संरक्षित क्षेत्रमध्ये सबैभन्दा ठूलो घाँसे मैदानसमेत रहेको आरक्ष कार्यालयले जनाएको छ ।

    शुक्लाफाँटा वन्यजन्तु आरक्षको दिगो व्यवस्थापन गर्न यसको आम्दानी वृद्धि गर्नुपर्ने तथा स्थानीय समुदायलाई बढीभन्दा बढी पर्यटकीय गतिविधिमा संलग्न गराउन आवाज उठिरहेको थियो ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast