आईतवार, असोज ५, २०७६
    यातायात

    नेपाल वायुसेवा निगमको जापान उडान निश्चित भएसँगै टिकट बुकिङ खुला

    सोमबार, ३० बैशाख २०७६, आहाखबर
    (फाईल तस्बिर)

    काठमाडौं, ३० बैशाख 

    राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट जापान उडान निश्चित भएसँगै टिकट बुकिङ खुला भएको छ ।

    जापानको ओसाका उडानका लागि आइतबारदेखि टिकट बुकिङ खुला गरिएको छ । निगमले असार १९ देखि सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान गर्ने भएको हो ।

    निगमले असार १९ गतेदेखि जापानको ओसाकामा उडान गर्ने निश्चित भएसँगै टिकट खुला गरेको हो ।

    काठमाडौं–ओसाका रुटमा निगमले इकोनोमी क्लास सिटका लागि एकतर्फी ४५ हजार र दुईतर्फी ८० देखि ८४ हजार रुपैयाँ भाडादर तोकेको छ । 

    झन्डै २ करोड जनसंख्या रहेको ओसाका महानगर टोकियोपछि जापानको दोस्रो ठूलो सहर हो ।

    एशियाको विकसित मुलुकका रुपमा रहेको जापानमा कूल जनसंख्याको ३५ प्रतिशत बौद्ध धर्मवालम्बी छन् । काठमाडौं–ओसाका सिधा उडानले बुद्ध जन्मस्थल लुम्बिनी अवलोकनका लागि जापानी धार्मिक पर्यटकलाई आकर्षित गर्नसक्ने विश्वास निगमको छ ।

    जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) बाट उडान अनुमति पाएपछि निगमले ओसाका उडान निश्चित गरेको हो । जापान एभिएसनबाट उडान अनुमति पाएपछि असारको दोस्रो सातादेखि ओसाका सिधा उडान गर्ने तयारी गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो । 

    पर्यटन बोर्डले टोकियोस्थित नेपाली दूतावाससँगको सहकार्यमा जापानका विभिन्न सहरमा आयोजना गर्ने पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम, गैरआवासीय नेपाली संघका कार्यक्रममा पनि नेपाल एयरलाइन्सको सिधा उडानबारे जानकारी दिन थालेको छ ।

    उडानलाई व्यवस्थित बनाउन निगमले ओसाका सहर र विमानस्थलमा छुट्टाछुट्टै सम्पर्क कार्यालय स्थापना गरिसकेको छ । ओसाकाका लागि निगमले कन्ट्री म्यानेजरमा सन्तोष पाण्डेलाई नियुक्त गरेको छ । पाण्डे ओसाकामै बसेर नारिता उडानको प्रक्रिया मिलाउने लगायतका व्यवस्थापनका काम गरिरहेको निगमले जनाएको छ ।

    चीन, हङकङ, थाइल्यान्ड र दक्षिण कोरियाका वायुसेवा कम्पनीहरुले अहिले पनि काठमाडौंबाट ओसाकामा उडान भर्दै आएका छन् । ओसाका रूटमा मूल्यका हिसाबले करिब आधा दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग नेपाल वायुसेवा निगमको प्रतिस्पर्धा हुनेछ । उनीहरुको भाडादर पनि निगमसँग मिल्दोजुल्दो नै रहेकाले कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।

    निगमले काठमाडौँ–ओसाकाका लागि वाइड बढी ए–३३० जहाजमार्फत उडान गर्नेछ । काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाकोे छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । वाइड बडी जहाजले पहिलोपटक लामो गन्तव्य उडान भर्न लागेको हो । गत असार र साउन महीनामा निगमले खरीद गरेका दुई वाइड बडी जहाजले पुरानै छोटो दूरीको गन्तव्यमा  पालैपालो उडान भर्दै आएका थिए ।

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast