बिहिवार, असोज २, २०७६
    लेख/संवाद

    बगरमै लटरम्म खरबुजा फलायर एक मौसममा डेढ लाख बचत

    बुधबार, २५ बैशाख २०७६, – नारायणी रजौरे .
    दाङ, २५ वैशाख 
     
    कुनै बेला राप्ती नदीको कटानले स्थानीय बासिन्दाको  घरजग्गालाई बगर बनाइदिएको यो ठाउँमा अहिले हरियाली छाएको छ । यहाँका किसानहरुका पौरखका कारण हरियाली मात्र हैन, बगरमै लटरम्म खरबुजा नै फलेका छन् । बगर खेतीबाटै आत्मनिर्भर बन्ने प्रयासमा रहेका उनीहरुमा अहिले ठूलो जोश र जाँगर छ । त्यही खेतीबाट उनीहरु आज लखपति बनेका छन् । 
     
    लमही नगरपालिका वडा नं ४, बलरामपुर भएर बग्ने राप्ती नदीको बगर हो यो । बलरामपुरको दक्षिण भएर बगेको राप्तीको उत्तरतिर बालुवाले भरिएको जमीन अहिले हरियाली छ र बोटमा खरबुजाका लदाबदी फलेका छन् । बालुवामाथि फलेका ती खरबुजाले यसका ग्राहक मात्र होइन कि त्यो बाटो भएर हिँड्ने सबैलाई लोभ्याउने गरेको छ ।
     
    यतिखेर टिप्न ठिक्क भएका केही बोट खरबुजा छन् भने केहीमा भर्खरै बतिला लाग्दै छ । बोटमै गएर किन्ने ग्राहक पनि सन्तुष्ट छन् । आफूहरुले नै टिपेर किन्ने भन्दै उनीहरु त्यहाँसम्म पुगेका हुन् ।   
     
    ती पौरखी किसानमध्येकी एक हुन्, ४९ वर्षीया सनकुमारी चौधरी । बलरामपुर गाउँका अरु २०० किसान यतिखेर बालुवामा खरबुजा फलाउन व्यस्त छन् । राप्ती नदीले कटान गरेको केही ठाउँमा उनीहरुले बेमौसमी तरकारीको पनि खेती गरेका छन् । केहीले सामूहिक र केहीले व्यक्तिगत रुपमा खेती गरिरहेका छन् । 
     
    बलरामपुरको दक्षिण भएर बगेको राप्तीको उत्तरतिर बालुवाले भरिएको जमीन अहिले हरियाली छ र बोटमा खरबुजाका लदाबदी फलेका छन् ।
     
    लमही नगरपालिका वडा नं ४ को सिम्रहवामा बस्दैआएकी चौधरीले अहिले दुई बिघा जति जमीनमा खरबुजा रोपेकी छिन् । उनले भनिन् – “पहिला नदीले हाम्रा सबै जमीन कटान गरेर हामीलाई बिचल्ली नै पर्यो । अहिले हामीले त्यही जग्गामा तरकारी र खरबुजा खेती गरेर परिवार पालेका छौं, घर खर्च चलाएका छौं र केही मात्रामा बचत गर्न पनि सफल भएका छौँ ।” 
     
    चौधरीले भनिन् – “बीस वर्ष पहिले राप्ती नदीमा ठूलो बाढी आयो । घर, अन्नपात, गाईभेडा सबै बगायो । हामी घर छोडेर भाग्यौँ र सिम्रहवामा गयौँ । पछि राप्ती नदीले आफ्नो धार परिर्वतन ग¥यो । त्यही बाढीले लगेको जमीन करीव दश वर्षसम्म त बगर नै थियो । पछि सबै गाउँलेहरुले सल्लाह ग¥यौं र यो खेतीको कार्यक्रम बनायौँ ।”  
     
    ती किसानलाई एउटा संस्थाले बीउ र मल दिएर सहयोग गरेको छ । शुरुको सो सहयोगले बगरमै खेती शुरु गरेका किसान अहिले भने आफैं लखपति भएका छन् । मनग्य आम्दानी भएपछि अहिले सहयोगको त्यति अपेक्षा गरेका छैनन् उनीहरुले । चौधरीका अनुसार तीन वर्षसम्म खासै आम्दानी भएन । अहिले पाँचौँ वर्षमा उनीहरु मनग्य आम्दानी लिन सफल भएका छन् । चौधरीको छ जनाको परिवार छ । “छोराछोरी पढ्न जान्छन्, सासूससुराले घरको काम गर्नुहुन्छ हामी श्रीमान् श्रीमतीे यही बगरमा खेती गर्छौं,” उनले भनिन् । दुई बिघामा खरबुजा खेती छ भने केही जमीनमा भण्टा, लौका, करेला, बोडी जस्ता बेमौसमी तरकारी खेती गरिएको छ ।
     
    बेमौसममा पानीको समस्या हुने भएकाले किसानले राप्ती नदीबाट पानी बोकेर सिँचाई गर्ने गरेका छन् । एक किसानले भने – “प्रचण्ड गर्मी छ । जमीनमा बालुवा भएकाले पानी चाँडै सुक्छ । यहाँ नजीकै बोरिङ छैन । बोरिङ भएमा सजिलो हुने थियो ।”  
     
    अर्काे समस्या उनीहरुलाई बजारको पनि छ । नजीकमा बजार नपाउँदा आफूहरुले समस्या भोग्नु परेको उनीहरुको भनाइ छ । किसानहरु भन्छन् – “खरबुजा खेतीका लागि यो जमीन राम्रो छ । स्वास्थ्यका लागि फाइदा समेत हुने यस फलको उत्पादन र बजारका लागि सरकारले पनि केही गरिदिए हुन्थ्यो ।” सरकारले कम्तीमा मल र बीउको व्यवस्था गरिदिए राम्रो हुने उनीहरुको भनाइ छ ।
     
    सनमाया भन्छिन् –“खरबुजाबाट एक मौसममा तीन लाखदेखि साढे तीन लाख रुपैयाँसम्म आम्दानी गरेका छौँ । बेमौसमी तरकारीबाट पनि राम्रो कमाइ छ  तर, बजार नपाउँदा समस्या हुने गरेको छ ।”  अहिले खरबुजा बारीबाट प्रतिकेजी रु ७० र बजारमा प्रतिकेजी रु ८० मा फुटकरमा बिक्री गर्ने गरेको उनले बताइन् । 
     
    “खरबुजाबाट एक मौसममा तीन लाखदेखि साढे तीन लाख रुपैयाँसम्म आम्दानी गरेका छौँ । 
     
    स्थानीय उद्यमशील कृषि बहुउद्देश्य सहकारी संस्थाले बगर खेतीका लागि  २५ प्रतिशत छुटमा बीउ दिने गरेको छ । त्यतिले नपुगेर आफूहरुले मल र बीउ नै किनेर खेति गरिरहेको किसानहरु बताउँछन् । तर पनि उनीहरु रमाएर खेती गरिरहेका छन् । उनीहरुको भनाइ छ – हामीले बालुवामा सुन फलाउन सकेको महशुस गरेका छौँ ।
     
    सोही ठाउँकी ३५ वर्षीया रीता चौधरीले पनि बगरमा गरिएको खरबुजा र तरकारी खेतीबाट आफूहरुले राम्रो आम्दानी लिन सकेको बताउँछिन् । उनले भनिन् – “शुरुमा त निराश पनि भयौं । हामीलाई यो बालुवामा के फलाउन सकौँला र जस्तो पनि लागेको थियो । अहिले यसै व्यवसायबाट घरपरिवार पाल्न, पढाउन र  बचत गर्न सकेकाले खुशी लागेको छ ।”  
     
    राप्ती नदीले जग्गा कटान गरेर लगेपछि गाउँमा ज्यालादारी गरेर घरखर्च चलाएका उनीहरु अहिले भने आफै उद्यमी बन्न सफल छन् । रीता भन्छिन् – “दुःख त छ तर पनि खुशी छौँ ।” उनले पनि एक बिघा जमीनमा खरबुजा र केही जमीनमा बेमौसमी तरकारी खेती गरेकी छन् । बजार नपाउँदा दिनभर राप्ती नदीको किनारमा बसेर बिक्री गर्ने गरेको उनले सुनाइन् । 
     
    तरकारी र खरबुजा तुलसीपुर र घोराहीका बजारमा बिक्रीका लागि श्रीमान्लाई पठाउने गरेको उनले बताइन् ।  सबै खर्च कटाएर एक मौसममा उनको एक लाखदेखि डेढ लाख रुपैयाँसम्म बचत हुन्छ । 
     
    लमही नगरपालिका वडा नं ४ की ३७ वर्षीया माया चौधरीले पनि बगर खेतीबाटै आफ्नो घरपरिवार पाल्न सफल भएको बताइन् । उनले भनिन् – राप्ती नदीले बितण्डा मच्चायो । आफूहरुको धान फल्ने खेत बगाएर बगर बनायो । अहिले त्यही बगरलाई हामीले मिहेनत गरेर तरकारी बारी बनाएका छौ ।” उनले पनि एक बिघा जमीनमा खरबुजा र एक बिघा जमीनमा बोडी, लौका, फर्सी, भण्टा र काँक्रो लगाएकी छन् । एक मौसममा डेढ लाख रुपैयाँ जति आम्दानी हुने उनले बताइनन् । 
     
    जिल्लाको देउखुरी क्षेत्रमा राप्ती नदी आसपासमा बसोबास गर्दै आएका हजारौँ किसान अहिले भने बगरमा गरिएको तरकारी खेतीबाट आत्मनिर्भर बनेका  छन् । लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानमा अहिले दुई हजारभन्दा बढी किसान यस व्यवसायमा आवद्ध छन् । 
     
    लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानमा अहिले दुई हजारभन्दा बढी किसान यस व्यवसायमा आवद्ध छन् । 
     
    देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा रहेका केही किसानले व्यक्तिगत रुपमा खेती गरिरहेका छन् । दुई हजार १८ जना किसानले १०२ वटा समूह बनाएर सामूहिक रुपमा बगरमा तरकारी खेती गरिरहेको उद्यमशील कृषि बहुउद्देश्य सहकारीका व्यवस्थापक विश्वप्रकाश अधिकारीले बताए । संस्थाले तालीम पनि दिँदैआएको छ । किसानहरुलाई बिना धितो सामूहिक जमानीमा ऋणसमेत दिँदैआएको यो संस्थाको सहयोगमा दुई हजारभन्दा बढी किसानले लाभ लिइरहेका छन् ।
     
    एक मौसममा एक किसानले रु ८० हजारदेखि ४ लाख रुपैयाँसम्म आम्दानी गरिरहेको छ । बजार व्यवस्थापन हुन नसक्दा भने किसानहरुले सोचे जति लाभ लिन नसकेको बताइन्छ । दश वर्ष अघि कृषि विकास कार्यालय र स्थानीय उद्यमशील कृषि बहुउद्देश्य सहकारी संस्थाको पहलमा बगरमा परिणत भई खेर गएको जमीनलाई प्रयोगमा ल्याउने काम भएको हो । 
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast