शुक्रबार, कार्तिक २९, २०७६
    राज्य-समाज

    नीति कार्यक्रममाथि सत्तापक्ष र विपक्षीका आ–आफ्नै धारणा

    सोमबार, २३ बैशाख २०७६, आहाखबर

    काठमाडौँ, २३ वैशाख ।

    राष्ट्रियसभामा सोमबारदेखि प्रारम्भ भएको सरकारको आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रममाथि छलफलमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको छ । 

    बैठकमा राष्ट्रियसभामा प्रमुख विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले राजतन्त्रका बेला ‘मेरो सरकार’ भन्ने सुनिएको उल्लेख गर्दै नीतिमा उल्लेख यस शब्दका सम्बन्धमा समाजका विभिन्न तहमा भइरहेका टीका टिप्पणीलाई आत्मसात् गरी सच्याउन सरकार तयार हुनुपर्ने बताउनुभयो । लोकतन्त्रका लागि १४ वर्ष कारागार बसेका प्रधानमन्त्री र उहाँको नेतृत्वको सरकारलाई किन यो शब्द प्यारो लागेको भनी प्रश्न गर्दै उहाँले संशोधनअनुसार नीतिलाई सच्याउन आग्रह गर्नुभयो । नीतिमा सङ्घीयताको सफल कार्यान्वयनका लागि उचित व्यवस्था उल्लेख नभएको तर्क गर्र्दै सांसद पाण्डेले प्रदेश र स्थानीय तहका सरकारका असन्तुष्टि सम्बोधन गर्न आग्रह गर्नुभयो । 

    मुलुकमा शान्ति सुरक्षा प्रभावकारी बनाउने कुनै ठोस योजना नभएको उल्लेख गर्दै उहाँले गत वर्षको नीति कार्यक्रमका कैयौँ बुँदा जस्ताकोतस्तै र केहीमा शब्द तलमाथि गरेर यो नीति ल्याएको बताउनुभयो । सरकारले भ्रष्टाचार गर्दिन र गर्न दिन्न भने पनि बूढीगण्डकी जलविद्युत् आयोजना बिनाबोलपत्र कुनै कम्पनीलाई दिनु भ्रष्टाचार हो भन्नुभयो । 

    सांसद खिमलाल भट्टराईले यो सरकारले योजनाबद्धरुपमा जनजीविकालाई परिवर्तन गर्न नीति ल्याएको भन्दै यसको प्रशंसा गर्न सकिन्छ भन्नुभयो । उहाँले हिजो राजनीतिक आन्दोलनमा केन्द्रीत हुनुपरेको मुलुक आज विकास समृद्धिको चरणमा रहेकाले सरकारले त्यसलाई दृष्टिगत गरी यो नीति ल्याएको भन्दै नीतिको स्वागत गर्नुभयो । 

    नीतिको सार ‘सुखी नेपाली, समृद्ध नेपाल’ नै हो भन्दै सांसद भट्टराईले यसले आर्थिक रुपान्तरणको खाँका कोर्न सक्यो कि सकेन भन्नेमा विश्लेषण गर्न सकिन्छ भन्नुभयो । नीति कार्यक्रमले सामाजिक न्याय र लोकतान्त्रिक राज्यको अवधारणलाई आत्मसात् गरेको अवगत गराउँदै उहाँले ठूला आयोजनाका काम धमाधम भइरहेका छन् भन्नुभयो । दिगो र फराकिलो विकासका लागि रेल र पानीजहाजका काम गर्नैपर्छ भन्दै उहाँले सरकारका काम र योजनाबाट युवा र निम्न वर्ग उत्साहीत भएको धारणा व्यक्त गर्नुभयो ।

    सांसद रामनारायण बिडारीले नीतिमा उल्लेखित ‘मेरो सरकार’का सम्बन्धमा अनावश्यक विवाद गरिएको उल्लेख गर्दै यही सरकार बनेपछि चीन र भारतसँग राम्रो सम्बन्ध विस्तार भएको बताउनुभयो । उहाँले नीतिमा भएका जनताका हितका योजनालाई खोक्रो भन्नु गलत हो भन्नुभयो । सांसद बद्रीप्रसाद पाण्डेले नीति तथा कार्यक्रमको मूल लय पक्रन नसकेको आरोप लगाउँदै यसले जनतालाई राहत दिनुको सट्टा आहत दिने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले नीति तथा कार्यक्रमले जनआकाङ्क्षा सम्बोधन गर्न नसक्ने विचार व्यक्त गर्नुभयो । बैठकमा सत्ता पक्षका सांसदले नीति तथा कार्यक्रमका पक्षमा र प्रतिपक्षी दलका सांसदले विपक्षमा आफ्ना धारणा राख्नेक्रम जारी छ । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast