बुधबार, जेष्ठ २१, २०७७
    बिदेश

    थाइल्याण्डका राजाले गरे आफ्नै अंगरक्षकसँग चौंथो बिहे

    बिहिवार, १९ बैशाख २०७६, आहाखबर

    एजेन्सी, १९ वैशाख ।

    थाइल्याण्डका राजाले आफ्नो सुरक्षाका लागि खटिने टिमकी कार्यकारी प्रमुख सुथिदासँग विवाह गरेका छन् । ६६ वर्षका राजा माहा वाजिरालङकोर्नले आफ्नो बडिगार्डसँग विवाह गरेकी हुन् ।

    राज्याभिषेकको तीन दिनअघि थाई नरेश महाबजिरालोङकोरनले आफ्नै अगंरक्षकसँग चौंथो बिहे गरेका छन् ।

    ६६ बर्षीय नरेशले ४० बर्षीया सुथिदासँग बुधबार बिहे गरेको थाई राजदरबारले जनाएको छ । सुथिदाले राजाको विशेष सुरक्षा दस्तामा रहेर लामो समयसम्म काम गरेकी छन् । शाही सुरक्षामा जोडिनु अघि उनी थाई एयरलाइन्समा परिचारिका थिइन् । त्यसैबेला थाई यूवराजले उनलाई भेटेको कतिपय सञ्चारमाध्यामले लेखेका छन् ।

    थाई नरेश युवराजले नै उनलाई राजदरबारको  सुरक्षा हेर्ने निकायमा राखेका थिए । युवराजको सुरक्षामा राम्रो काम गरेको भनेर उनले सन् २०१२मा पदक पाइन् । अहिले सम्म उनले छ वटा पदक पाइसकेकी छन् । 

    सन् २०१३ मा उनलाई मेजर जनरलमा पदोन्नती गरियो । आफू राजा भएपछि थाई नरेशले उनलाई फेरि पदोन्नती गरेर 'फुल जनरल’ बनाएका थिए । अहिले  सुथिदा राजाको सुरक्षा हेर्ने निकायको उपप्रमुख छिन् ।

    बुवा भुमिवल अदुल्यादेजको तीन बर्षअघि मृत्यु भएदेखि थाई नरेशले गद्दी सम्हाल्दै आएका छन् । उनको राज्याभिषेक आउँने शनिबार हुँदैछ ।

    राज्याभिषेक अघिनै आफ्नी प्रेमिकालाई नरेशले औपचारिक रुपमा रानीको दर्जा दिन चाहेको देखिन्छ । नरेश र सुथिदाबीच प्रेम सम्बन्ध भएको थाई राजदरबारमा चर्चा चलेपनि त्यसबारे सार्वजनिकरुपमा टिकाटिप्पणी भएका थिएनन् ।

    थाईल्याण्डमा राजपरिवारका सदस्यबारे प्रेसमा वा सार्वजनिक रुपमा टिप्पणी गरिँदैन । केही विदेशी संचारमाध्यमले भने यो प्रेमबारे लेखेका थिए ।

    थाई नरेशले तेस्री श्रीमतीसँग पाँचबर्ष अघि सम्बन्ध विच्छेद गरेका थिए । उनीहरू बीच १३ बर्ष लामो वैवाहिक सम्बन्ध थियो ।  

    यो भन्दा पहिलेका तीन विवाहबाट थाई नरेशका सात सन्तान छन् । 

     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast