बिहिवार, असोज २, २०७६
    पर्यटक

    सुन्दर पर्यटकीयस्थल : रोल्पाको जलजलामा बढ्यो पर्यटकको चहलपहल

    शनिबार, १४ बैशाख २०७६, – उमा केसी .
    रोल्पा, १४ वैशाख 
     
    पर्यटन गन्तव्य शुभारम्भसँगै रोल्पाको जलजलामा पर्यटकको चासो बढ्न थालेको छ । धार्मिक, युद्ध र पर्या–पर्यटनको राम्रो सम्भावना बोकेको उक्त स्थानमा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको हो ।
     
    बिदाका दिन जलजला घुम्न जानेको सङ्ख्यामा आएको वृद्धिसँगै यसको प्रचारप्रसारले समेत व्यापकता पाइरहेको छ । जलजलामा बढेको आन्तरिक पर्यटकको चहलपहलले होटल व्यावसायमा सकारात्मक प्रभाव देखिन थालेको रोल्पा उद्योग वाणिज्य सङ्घ सदस्य सागर डाँगीले बताउनुभयो । 
     
    बिदाको समय आफू पनि जलजला जाने गरेको डाँगीको भनाइ छ । ‘‘जलजलामा रहेको पर्यटकीय सम्भावनालाई प्रचारप्रसार गर्नसके बाह्य पर्यटक समेत तान्न सकिन्छ’’, डाँगीले भन्नुभयो । सेतो, रातो, गुलावी र सेतो गुलाबी मिश्रित रङ्गमा फुल्ने लालीगुराँसको सौन्दर्यताले पर्यटकलाई लोभ्याउने गर्दछन् । डाँफे, मुनाल, कालीज जस्ता पक्षी र विश्वको दुर्लभ वन्यजन्तु रेडपण्डा (रातो हाब्रे) समेत सो स्थानमा देख्न सकिन्छ ।
     
    घोरल, मृग, बँदेल, भालु जस्ता जङ्गली जनावरसमेत अवलोकन गर्न सकिने यस ठाउँ निकै मनमोहक छ । भामा गुफा अवलोकन गर्न लायक अर्को स्थान हो । जलजलालाई परिवर्तनको प्रतीक मान्दै दश वर्ष लामो सशस्त्र युद्ध सञ्चालन भएको थियो । सशस्त्र युद्धमा मारिएकाको स्मरणमा जलजलाको धरमपानीमा स्मारक बनाइएको छ । युद्ध पर्यटन प्रवद्र्धनका लागि भन्दै ‘गोरिल्ला टे«ल’को रुपमा समेत सो स्थानलाई विकास गर्न खोजिएको छ । 
     
    युद्धकालदेखि नै सो स्थानको संरक्षण गरिँदै आएकामा हालै सरकारले समेत सो क्षेत्रलाई संरक्षण क्षेत्रको रुपमा विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । वैशाख, आसार र श्रावण पूर्णिमाका दिन बराहको पूजा गर्ने गरिन्छ । बाह्रभाइ बराहमध्ये कैलु बराहको यहाँ पूजा गरिन्छ । 
     
    बाह्रबहिनी बजुहरुको समेत सो स्थानमा पूजा गर्ने चलन छ । रुकुम, दाड, सल्यान, प्यूठान, बाँके, बागलुङलगायत देशका विभिन्न स्थान र भारतबाटसमेत यहाँ पूजा गर्न आउने गर्दछन् । सो मन्दिरमा दया रोका मगरले मूल पूजारीको काम गर्दै आएका छन् ।
     
     मूल र सहायक पूजारी सबै मगर जातिका  रहेको सो मन्दिरमा भेँडाको बलि दिने चलन छ । सन्तान नहुनेले भाकल गरे सन्तान प्राप्त हुने जनविश्वास छ । छोराछोरी  नभएकाले भाकल गर्न यहाँ आउने गर्दछन् । हालै टे«कको रुपमा काठमाडौँबाट आएका ३३ जनाको समूहले जलजलाको यात्रा गरेर फर्किएको छ । प्रचारप्रसारको लागि सो समूहले जलजला यात्रा गरेको थियो । रोल्पा नगरपालिका–१० धवाङको पेवासम्म गाडीमा यात्रा गरेको सो टोली त्यहाँबाट ६ घण्टाको पैदलयात्रापछि जलजला पुगेको थियो । 
     
    नेपाल सरकारले तय गरेको भ्रमण वर्ष २०२० का लागि एक सय पर्यटन गन्तव्यअन्तर्गत जलजलालाई समेत सूचीकृत गरेको छ । समुद्र सतहबाट तीन हजार १९३ मिटर उचाइमा रहेको सो स्थानको नजिकको बस्ती थवाङ हो । सदरमुकाम लिवाङबाट घर्तीगाउँ हँुदै थवाङसम्म गाडी यात्रापछि तीन घण्टाको पैदलयात्रा गर्नुपर्दछ । जिल्लाको व्यापारिक केन्द्र सुलिचौरबाट फुलिवन हँुदै थवाङसम्म साना गाडीको यात्रामार्फत पनि त्यहाँ पुग्ने गरिन्छ । पर्यटकको सुविधाका लागि थवाङमा घरवास (होम स्टे) समेत सञ्चालन गरिएको छ । 
     
    पूजाआजाको बेला अत्यधिक पर्यटक भित्रिने तथा अन्य समयमा समेत आउने जाने क्रम भइरहने स्थानीयवासी मौसम रोकाले बताउनुभयो । सूचना केन्द्र नभएका कारण दैनिक कति पर्यटक आउँछन् अभिलेखीकरण छैन रोकाले भन्नुभयो । 
     
    पर्यटन व्यवसायीले प्याकेजमा पर्यटक भित्र्याउने कार्यको थालनी गरेको रोकाले जानकारी दिनुभयो । जलजला नजिकसम्म सडक पु¥याउने कार्यको थालनी भएकाले  पर्यटकलाई सहजता हुने रोकाले बताउनुभयो । 
     
    सो स्थानको व्यापक प्रचारप्रसार गर्ने भन्दै रोल्पा नगरपालिकाले समेत साहित्य मेलाको आयोजना गरेको छ । वैशाख १५ देखि तीन दिनसम्म चल्ने उक्त साहित्य मेलालाई गुराँस साहित्य मेला नाम दिइएको रोल्पा नगरपालिकाले जनाएको छ । जलजलाको बहुरङ्गी गुराँसलाई प्रतीक मान्दै यस्तो मेला आयोजना गरिएको नगर प्रमुख पूर्ण केसीले भनाइ छ । 
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast