आईतवार, श्रावन ५, २०७६
    पर्यटक

    सगरमाथा आधार शिविरबाट क्याम्प तीनसम्म बाटो खुला, ८ सयले आरोहण गर्ने

    शुक्रबार, १३ बैशाख २०७६, – भोजराज कार्की.
    सोलुखुम्बु, १३ वैशाख 
     
    सगरमाथा आरोहणका लागि आधार शिविरबाट क्याम्प तीनसम्म जाने बाटो खुलेको छ । पर्वतारोहण सञ्चालक सङ्घका अध्यक्ष डम्बर पराजुलीका अनुसार बिहीबारदेखि क्याम्प तीनसम्मको बाटो खुलेको हो । 
     
    आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का आइसफल डक्टरले बनाउँछन् भने त्यसभन्दा माथि पर्वतारोहण सञ्चालक सङ्घको टोलीले बनाउने गर्छ । “आठ जनाको टोलीले बिहीबार क्याम्प तीनसम्मको बाटो बनाइसकेका छन्”, सङ्घका अध्यक्ष पराजुलीले भन्नुभयो, “केही दिनमै क्याम्प चार हुँदै चुचुरोसम्मको बाटो बनाउने काम शुरु हुन्छ ।” 
     
    चैतको अन्तिम साता ‘एसपिसिसी’बाट खटिएका १० जना आइसफल डाक्टरको टोलीले हिम खाल्डा, हिम नदीमा भ¥याङ राख्ने र डोरी टाङ्ने काम सकेपछि क्याम्प तीनतर्फको बाटो बनाउने काम शुरु भएको थियो । “बाटो खुलाउनका लागि मौसम अनुकूल हुनुपर्छ, त्यसमाथि पनि डोरी, स्नोबारलगायतको करीब ७० भारीभन्दा बढी सामानसहित जानुपर्छ”, अध्यक्ष पराजुलीले भन्नुभयो, “सामान्यत विगत वर्षलाई हेर्दा मेको १२ देखि १८ सम्ममा शिखर चढ्ने वातावरण बनिसक्छ ।”
     
     
    आठ सयले आरोहण गर्ने 
     
    देशको २७ हिमाल आरोहणका लागि ८२० आरोहीले आरोहण अनुमति पाएका छन् । पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार बिहीबारसम्म विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमालको शिखर चुम्न ९८ समूहले अनुमति पाएका हुन् । 
     
    आरोहणदलमा सबैभन्दा बढी सगरमाथा क्षेत्र आउने आरोही रहेको पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार सगरमाथा आरोहणका लागि ३८ समूहका ३७५ जनाले अनुमति पाएका छन् । यो गत वर्षको तुलनामा ११ जनाले बढी हो । 
     
    सगरमाथा नजिकै रहेको लोत्से हिमाल आरोहणका लागि १० समूहका ९२ जनाले अनुमति लिएका छन् भने नुत्से हिमाल आरोहणका लागि तीन समूहका ३७, आमादब्लमका लागि पाँच समूहका ४९, कञ्चनजङ्घा हिमाल आरोहणका लागि छ समूहका ३४, मकालुका लागि चार समूहका ५३, अन्नपूर्णका लागि तीन समूहका २३ जनासहित अन्य २७ हिमाल आरोहणका लागि ८२० आरोहीले अनुमति पाएका छन् । 
     
    आरोहण अनुमति लिनेमध्ये विश्वको सर्वोच्च शिखर सगरमाथासहित तीन हिमाल आरोहणका लागि अधिकांश आरोही आधार शिविर पुगेका छन् । बिहीबारसम्म ३९ समूहका ४०९ आरोही नाम्चेबाट उकालो चढेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) नाम्चेको तथ्याङ्कमा उल्लेख छ । 
     
    सगरमाथा आरोहणका लागि अनुमति पाउने ३८ समूहका ३७५ मध्ये ३३ समूहका ३४२ जना नाम्चेबाट उकालो चढेका छन् भने अधिकांश आधार शिविरमा पुगेर बसेका छन् । जसमा सगरमाथाको उचाइ मापन गर्ने एकसहित तीन समूहका ११ जना नेपाली टोली रहेका छन् । गत वर्ष यही मौसममा चार नेपालीसहित ३८ आरोही दलका ३६४ आरोहीले आरोहण अनुमति लिएका थिए । 
     
     
    नाम्चेबाट उकालो चढ्दै 
     
    एसपिसिसीका कार्यक्रम अधिकृत कपिन्द्र राईका अनुसार बिहीबारको दिन एक समूहका १० जनाको टोली नाम्चेबाट आधार शिविर प्रस्थान गरेको छ । अधिकृत राईले भन्नुभयो, “आरोही हामीकहाँ आउने दर्ता गर्ने र उकालो चढ्नेक्रम जारी छ ।”
     
    नाम्चेबाट पाँच क्याम्पमा आधार शिविर पुग्न सकिन्छ । सगरमाथा आरोही किताब सिं तामाङका अनुसार नाम्चेबाट तेङ्बोचे, दिङ्बुचे, लबुचे र गोरप्सेप मा क्याम्प बस्दै आधार शिविर पुगिन्छ । 
     
    सगरमाथा नजिकै रहेको लोत्से हिमाल आरोहणका लागि १० समुहका ९२ जनाले अनुमति लिएकामा पाँच समूहका ५३ जना र नुप्त्से हिमाल आरोहणका लागि तीन समूहका ३७ जनाले आरोहण अनुमति लिएको भए पनि एक समूहका १२ जना चाहिँ आधार शिविरतर्फ प्रस्थान गरेका छन् । 
     
    आधार शिविर पुग्ने आरोही अहिले क्याम्प १, २ पुग्ने पुनःआधार शिविर झर्दै उचाइ अनुकुल हुँदैजाने लगायतको आवश्यक तयारी गरिरहेका छन् । हिमाल आरोहीबाट सरकारले रु ४८ करोड ७३ लाख आठ हजार १९२ राजस्व सङ्कलन गरेको छ । सगरमाथा आरोहीबाट मात्रै रु ४३ करोड ६२ लाख ३० हजार ९१२ राजस्व सङ्कलन गरेको छ । 
     
    हिमाल आरोहीबाट सरकारले मौसमअनुसार फरकफरक सलामी दस्तुर लिने गरेको छ । विदेशी सगरमाथा आरोहीबाट नेपाल सरकारले ११ हजार डलर र नेपाली आरोहीबाट प्रतिव्यक्ति रु ७५ हजार लिने गर्छ ।
     
    विदेशी आरोहीले खुम्बुआइसफल ‘रुट फि’ बापत ६०० अमेरिकन डलर सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)लाई बुझाउँछन् । सोही रकमबाट एसपिसिसीले सगरमाथा आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो खोल्ने काम गर्छ । यस्तै क्याम्प तीनदेखि चुचुरोसम्मको बाटो खुलाउनका लागि पर्वतारोहण सञ्चालक सङ्घले रु ३० हजार लिन्छ । 
     
    आरोहणका लागि विभिन्न कम्पनीमार्फत जाने व्यवस्था रहेको छ जसका लागि एक आरोहीले रु ३५ लाखदेखि एक करोडसम्म कम्पनीलाई बुझाउने गरेको पर्वतारोहण सञ्चालक सङ्घका अध्यक्ष डम्बर पराजुलीले बताउनुभयो । “जसले जति शुल्क बुझाउँछ त्यति नै बढी सुविधा पाउँछ”, पराजुलीले भन्नुभयो, “अक्सिजनदेखि खाने, बस्ने, उनीहरुको सहयोगीको व्यवस्थापनलगायतको सबै त्यसैभित्र पर्छ ।” 
     
    यस्तै खुम्बु पासाङल्हामु गाउँपालिकाले प्रवेश शुल्कबापत प्रतिपर्यटक रु दुई हजार लिने गर्छ । यसअघि नेपाल सरकारको अनुमति पाएको नेपाल पर्यटन बोर्ड र टानले वितरण गर्ने टिम्स कार्डलाई निषेध गर्दै गाउँपालिका आफैँले पर्यटकबाट शुल्क लिँदै आएको छ । 
     
    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा aahakhabar@gmail.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast